site stats
बाह्रखरी :: Baahrakhari
देश
२० वर्षमुनिका व्यक्तिमा युके भेरियन्टको संक्रमण बढ्यो (तथ्यांकसहित)

काठमाडौं । नेपालमा देखिएको नयाँ भाइरस युके भेरियन्टबाट पछिल्लो दुई साता बालबालिका संक्रमित हुने क्रम बढेको छ । अघिल्लो वर्ष बालबालिकामा अत्यन्तै न्यून देखिएको कोभिड–१९ को संक्रमण दोस्रो लहरमा भने २० वर्षभन्दा कम उमेर समूहमा बढी देखिएको छ । इपिडिमयिोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म नेपालमा १५८ जनामा युके भेरियन्ट पुष्टि भएको छ । जसमध्ये २६ जना २० वर्षमुनिका व्यक्ति छन् । 

यस्तो छ उमेरअनुसारको तथ्यांक 
नेपालमा पछिल्लो दुई साता १ देखि १० वर्षसम्मका ४ जना बालबालिकामा युके भेरियन्ट पुष्टि भएको छ । त्यस्तै ११ देखि २० वर्षसम्मका २२ जना किशोर–किशोरी र २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा सबैभन्दा धेरै ३८ जनामा युके भेरियन्ट पुष्टि भएको छ । 

Argakhachi Cement Island Ad

३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिमा पनि युके भेरियन्टको संक्रमण उच्च छ । यो समूहका संक्रमितमध्ये ३६ जनामा युके भेरियन्ट पुष्टि भएको छ । ४१ देखि ५० वर्षसम्मका २६ जना, ५१ देखि ६० वर्ष उमेर समूहका २० जना ६१ देखि ७० वर्ष उमेर भएका ११ जना र ७१ देखि ८० जना उमेरसमूह भएका व्यक्तिहरु २ जनामा युके भेरियन्ट पुष्टि भएको छ । 

युके भेरियन्टको यो तथ्यांक कोभिड–१९ को सामान्य संक्रमणभन्दा ठीक विपरित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाउँछ । “विगतको तथ्यांक हेर्दा कोभिड–१९ को संक्रमणको जोखिम ज्येष्ठ नागरिकमा बढी देखिएको थियो । तर, युके भेरियन्टको संक्रमण भने २० वर्षमुनिका व्यक्तिहरुमा धेरै देखियो । यो नेपालको लागि चुनौतिको विषय हो,” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने । 

विश्वमा अहिले कोभिड–१९ का तीनवटा भेरियन्ट पुष्टि भएका छन्, युके, ब्राजिलियन र साउथ अफ्रिकन भेरियन्ट । विश्व स्वास्थ्य संगठनले यी भेरियन्ट कोभिड–१९ का नयाँ प्रजातीको रुपमा परिभाषित गरेको छ । युके भेरियन्ट (बी १.१.७) अहिलेसम्म ४३ वटा देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अुनसार कोभिड–१९ को सामान्य भाइरसभन्दा युके भेरियन्ट ७० प्रतिशत बढी संक्रामक रहेको पाइएको छ । 

मृत्युदरका हिसाबले पनि युके भेरियन्ट सामान्यभन्दा घातक भएको डा. पुन बताउँछन् । पछिल्लो समय नेपालमा युके भेरियन्टको पुष्टि भएकाहरुको नमूनामा एस जिन नेगेटिभ (बी १.१.७ को मात्रा धेरै) देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउँछन् । डा. पौडेलका अनुसार संक्रमितहरुको नमूनामा ३० देखि ६० प्रतिशतसम्म एस जिन नेगेटिभ देखिएको छ, जुन युके भेरियन्टको लक्षण पुष्टि गर्ने नतिजा हो । 

“युके भेरियन्टको संक्रमणबाट विद्यालय उमेरका बालबालिका बढी संक्रमित भएकाले शैक्षिक संस्थामा हाम्रो ध्यानकेन्द्रित भएको छ । भौतिक उपस्थिति पूरै बन्द नगरे पनि सिफ्ट अनुसार विद्यालय सञ्चालन गर्न हामीले सिफारिस गरेका छौं । यसबाहेक जनस्तरमा स्वास्थ्यका मापदण्ड अपनाउने नाकामा जाँच कडाइ गर्ने, भीडभाड हुने कार्यक्रमहरु कुनै पनि स्तरबाट नगर्ने, आफूमा कुनै लक्षण देखिएमा तुरुन्तै परीक्षणका लागि गइहाल्नेजस्ता कार्यहरु गर्न सके संक्रमणको जोखिम नियन्त्रण हुने निश्चित छ,” डा. पौडेल भन्छन् । 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १८:१२
प्रतिक्रिया दिनुहोस्