
काठमाडौं । चैत सुरू भएपछि नेपालमा कोभिड १९ संक्रमितको संख्या दिनहुँ बढ्दो तथ्यांक छ । फागुन अन्तिम सातासम्म एक सयभन्दा कम रहेको संक्रमितको संख्या चैत अन्तिम सातासम्म आइपुग्दा लगातार बढ्दो क्रममा छ । तर, परीक्षण भने पहिलाकै हाराहारीमा भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको तथ्यांकले देखाएको छ । बढ्दो संक्रमण समुदायस्तरमा फैलिन नदिन कन्ट्याक ट्रेसिङ र एन्टिजेन परीक्षणको दायरा बढाउन विज्ञहरुले जोड दिएका छन् ।
यस्तो छ चैत महिनाको तथ्यांक
फागुनको अन्तिम साता दुई हजार जनामा परीक्षण गर्दा एक सयभन्दा कमदेखिएको कोभिड १९ संक्रमितको संख्या चैत पहिलो साता बढेर एकैदिन ११४ सम्म पुग्यो । चैत पहिलो साता ३ हजार १६१ जनाको पीसीआर परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । चैत १७ गते ३ हजार १०० जनाको परीक्षण गर्दा १६७ जनाको नतिजा पोजेटिभ देखिएको छ भने २३ गते ४ हजार ५३६ जनामा परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार आज ४ हजार ७१ जनाको परीक्षण गर्दा २८८ जनामा संक्रमण देखिएको छ । यो तथ्यांकले परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या धेरै पहिचान हुने पुष्टी भएको छ । विशेषगरी काठमाडौंका ‘हटस्पट’ र भारतबाट नेपाल भित्रिने नाकाहरुमा संक्रमितको संख्या धेरै देखिएको छ । पछिल्लो चौबीस घण्टामा प्रदेश १ मा १६ जना २ मा १० वाग्मती प्रदेशमा १४८, गण्डकीमा ४० लुम्बिनीमा ५७ कर्णालीमा १३ र सुदूरपश्चिम प्रदेशमा ४ जनामा संक्रमण पुष्टी भएको छ ।
भारतबाट दैनिक १० हजारजना भित्रिने नाकामा १० जनाको मात्रै परीक्षण
प्रदेश १ को काँकडभिट्टा नाकाबाट दैनिक ८ देखि १० हजारजना नेपाल–भारत आवतजावत गर्ने गरेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । काँकडभिट्टा नाकामा रहेको हेल्थ डेस्कमा ४ जना स्वास्थ्यकर्मीको टोली खटाइएको छ लक्षण देखिएका नागरिकमा मात्रै एन्टिजेन परीक्षण गर्न प्रदेश स्वास्थ्य निर्देशनालयले निर्देशन दिएको छ । यो नियमअनुसार दैनिक ६ देखि बढीमा १० जनासम्मको एन्टिजेन परीक्षण गर्ने गरिएको हेल्थ डेस्क संयोजक रामनारायण यादव बताउँछन् ।
सुदूरपश्चिम प्रदेशको गड्डाचौकी, त्रिनगरलगायत नाकामा एउटै नाकाबाट दैनिक १ हजारदेखि १२ सयसम्म नेपाली भारतबाट आउँछन् तर परीक्षण ४० जनाको हाराहारीमा मात्रै हुने गरेको छ । “विशेषगरी भारतमा संक्रमण फैलिएका स्थानबाट आएकाहरुको परीक्षण गर्ने गरेका छौं सबैको परीक्षण गर्न स्रोत र जनशक्तिका हिसाबले पनि सम्भव हुँदैन,” सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्रसिंह कार्की भन्छन् ।
पछिल्लो चौबीस घण्टामा ५७ जना संक्रमित देखिएको लुम्बिनी प्रदेशमा ३४० जनाको मात्रै परीक्षण भएको छ भने ४० जना संक्रमित पुष्टी भएको गण्डकी प्रदेशमा पनि १९३ जनाको मात्रै परीक्षण भएको मन्त्रालयको तथ्याकंले देखाउँछ । सबैभन्दा धेरै ३ हजार ९० जनाको नमूना परीक्षण गरिएको वाग्मती प्रदेशमा संक्रमितको संख्या १४८ छ । जति धेरैमा परीक्षण भयो त्यति संक्रमितको संख्या थपिएको तथ्यांकले देखाउँछ ।
कसरी गरिँदैछ परीक्षण ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले ४८ वटा सरकारी र ३६ वटा निजी गरी जम्मा ८४ वटा प्रयोगशालाबाट कोभिड १९ को परीक्षण गरिरहेको छ । यसबाहेक हेल्थ डेस्कहरुमा एन्टिजेन विधीबाट डेस्कमा नै परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । यसबाहेक संक्रमण पुष्टी भएका र फरक भेरियन्टको लक्षण देखिएकाहरुको जिन सिक्वेन्सिङ पनि गर्ने गरिएको छ । मास परीक्षणका लागि थप एन्टिजेन किट खरिद गर्ने प्रक्रिया अघि बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशखाले जनाएको छ ।
नाकामा किन परीक्षण कम ?
सहरका ‘हटस्पट’हरु र भारतबाट नेपाल भित्रिने नाकामा परीक्षणमा कडाइ गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति छ । मास परीक्षणकै लागि मन्त्रालयले आधा घण्टामा नै नतिजा देखाउने एन्टिजेन विधीलाई अपनाएको छ । तर, नाकाहरुमा पूर्वाधर, जनशक्तिको अभाव, भारतबाट आउनेको चाप आदिले लक्ष्य अनुसार परीक्षणको दायरा बढाउन नसकिएको इपिडिमयिोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउँछन् । नाकामा रहेका टेन्टमा सञ्चालित हेल्थ डेस्कमा सबैलाई राखेर परीक्षण गर्दा झनै भीडभाड हुने र संक्रमण फैलिन सक्ने सम्भावना पनि बढ्ने डा. पौडेलको तर्क छ । “कन्ट्याक ट्रेसिङलाई जोड दिएका छौं । लक्षण देखिएकाहरुको सम्पर्कमा आएका व्यक्तिलाई खोजेर परीक्षण गर्न स्थानीय प्रशासन तथा स्वास्थ्य कार्यालयहरुलाई अनुरोध गरिएको छ,” डा.पौडेल भन्छन् ।
समुदायस्तरमा फैलिँदै संक्रमण
लुम्बिनी प्रदेशका विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्ने ४० प्रतिशत नागरिकको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । तर, पछिल्लो समय नाकामा नभइ समुदायमा संक्रमण देखिन थालेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङ बताउँछन् । पछिल्लो साता बाँकेको नेपालगञ्ज क्षेत्रमा मात्रै ७ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ । यो तथ्यांकले संक्रमण समुदायस्तरमा नै फैलिन थालेको आंकलन गर्न सकिन्छ । समुदायस्तारमा कन्ट्याक ट्रेसिङका आधारमा एन्टिजेन परीक्षण गर्न स्थानीय तहहरुलाई जिम्मा दिइएको ईडीसीडी निर्देशक डा. पौडेल बताउँछन् ।
भएको स्रोत साधनको भरपुर प्रयोग गरौं, समुदायमा संक्रमण हुन नदिऔं
समुदायस्तारमा संक्रमण फैलिन नदिन अहिले भएको कन्ट्याक ट्रेसिङ र एन्टिजेन परीक्षणमा बढीभन्दा बढी जोड दिन विज्ञहरुले सुझाव दिँदै आएका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका पूर्व प्रमुख डा. राजेन्द्र पन्त भन्छन्ः “हामीलाई पहिलो वर्षको अनुभवले धेरै कुरा सिकाइसकेको छ । यही अनुभवलाई संक्रमण नियन्त्रणमा प्रयोग गर्नुपर्दछ । हामीसँग अहिले परीक्षणका विधी र स्रोत साधन पनि विस्तार भएको छ । यो स्तरको संक्रमणलाई नियन्त्रण गर्न अहिले हामीसँग भएको स्रोत साधन पर्याप्त छ, यसको भरपुर उपयोग गर्न जरुरी छ । अहिले नै परीक्षणको दायरा बढाएर समुदायसम्म पुग्नसक्ने हो भने नियन्त्रण सम्भव छ । अन्यथा गत सालकै अवस्था नआउला भन्न सकिँदैन,” डा. पन्तको भनाइ छ ।