
काठमाडौं । तीन वर्षअघि वाग्मती प्रदेशले पाइलट प्रोजेक्टको रुपमा सुरु गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अहिले देशैभरी लागु भएको छ । स्वास्थ्य, सरसफाई, पोषण प्रवद्र्धन, मानसिक स्वास्थ्य, किशोरकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्य अवस्थामा सुधार गर्ने उद्देश्यका साथ सुरु गरेको कार्यक्रम अहिले ८९६ विद्यालयमा विस्तार भएको छ । तीन वर्षको अवधिमा वाग्मती प्रदेशका सबै सामुदायिक विद्यालयमा नर्स पुगेका छन् भने अन्य प्रदेशमासमेत विद्यालय नर्स नियुक्तिको काम तीव्र रुपमा अघि बढेको स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखाको तथ्यांक छ ।
कुन प्रदेशमा कति विद्यालय नर्स ?
आर्थिक वर्ष ०७५/७६ सामाजिक विकास मन्त्रालय वाग्मतीले नमूना कार्यक्रमको रुपमा प्रदेशका १३ जिल्लाका २० वटा सरकारी विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सुरु गरेको थियो । आर्थिक वर्ष ०७६/७७ बाट सबै प्रदेशमा यो कार्यक्रम विस्तार गर्ने उद्देश्यका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन कार्यविधी २०७६ लागु गरेको थियो । यो कार्यविधीअनुसार विद्यालयमा विद्यार्थीको संख्या , छात्राको संख्या, विद्यालयको अन्तिम नतिजा अदिका आधारमा यो कार्यक्रम लागु गर्ने सरकारको योजना छ । सोही कार्यविधीअनुसार अहिले ७५३ स्थानीय तहका सामुदायिक विद्यालयमा नर्स राख्ने क्रम जारी छ । सुरुवाती चरणमा स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखाका अनुसार फागुन अन्तिमसम्म गाग्मती प्रदेशका सबै ११९ स्थानीय तहमा ३/३ जनाका दरले ३५९ विद्यालयमा नर्स नियुक्त गरिएको छ । त्यस्तै प्रदेश २ मा ११८ वटा विद्यालयमा विद्यालय नर्स नियुक्त गरिएको छ । गण्डकी प्रदेशका ३० वटा स्थानीय तह, लुम्बीनीका ३६ वटा स्थानीय तहले आफ्नै पहलमा विद्यालयमा नर्स नियुक्त गरेका छन् । कर्णालीमा ८० वटा विद्यालयमा र सुदूरपश्चिममा ९० वटा स्थानीय तहमा विद्यालयमा नर्स पुगिसकेका छन् ।
नर्स भएका विद्यालयमा के–के सुविधा ?
‘एक विद्यालय एक नर्स’ कार्यक्रम विशेषगरी बाल स्वास्थ्य र किशोर–किशोरीका समस्यालाई सम्बोन गर्ने उद्देश्यले सञ्चालन गरिएको सरकारी कार्यक्रम हो । यो कार्यक्रम लागु भएका विद्यालयमा प्राथमिक उपचारका लागि सबै औषधि उपलब्ध गराइएको छ । यो कार्यक्रम लागु भएका विद्यालयहरुमा छात्राहरुका लागि निःशुल्क स्यानिटरी प्याड, किशोरावस्थासम्बधि परामर्श सेवा र दिवा खाजा कार्यक्रमसमेत लागु गरिएको छ । विद्यालयमा भएका नर्सले आँखा, कान, घाँटी, छालासम्बन्धि आधारभूत स्वास्थ्य समस्याको प्राथमिक उपचार सेवा प्रदान गर्नेछन् । यो वर्षदेखि थप सेवा विस्तार र स्क्रिनिङको योजना रहेको नर्सिङ महाशखा प्रमुख रोशनी लक्ष्मी तुइतुईले बनाइन् । तुइतुईका अनुसार ती सेवाका लागि महाशाखाले नर्सहरुलाई भर्चुअल तालिम दिने काम भइरहेको छ । नर्सहरुले गर्ने काम र उनीहरुको क्षमता अभिवृद्धिका लागि विद्यालय नर्सको सफ्टवेयर तयार गरिएको छ । जसले उनीहरुका कामको दैनिक रेकर्ड राख्नेछ भने थप सेवा विस्तारका लागि परामर्श प्रदान गर्न सकिनेछ ।
कोरोनाकालमा क्वारेन्टिनमार्फत् सेवा
लकडाउन र कोभिड–१९ संक्रमण उच्च भएको बेला अधिकांश विद्यालयहरुमा भर्खरै विद्यालय नर्स नियुक्त भएका थिए । विद्यालयमा नै क्वारेन्टिन र होल्डिङ सेन्टर निर्माण गरिएपछि अधिकांस विद्यालय नर्सहरुले क्वारेन्टिन र होल्डिङ सेन्टरबाट सेवा दिएका थिए । “कोरोनाकालमा हामीले केन्द्रबाट उनीहरलाई गाइड गथ्र्यौं र उनीहरुले विभिन्न क्वारेन्टिन र होल्डिङ सेन्टरमार्फत सेवा दिएका थिए । विद्यालयका लागि नियुक्त गरिएको भए पनि हाम्रा नर्सहरु कोरोनाकालमा खाली बसेनन् । यो हाम्रो लागि गौरवको विषय पनि हो,” नर्सिङ महाशाखा प्रमुख तुइतुईले भनिन् । उनी भन्छिन् “विद्यालय खुले पनि पनि विद्यार्थीलाई विद्यालय आउने वातावरण मिलाउन निकै कठिन भएको थियो । विद्यालय नर्समार्फत कतिपय विद्यार्थी, अभिभावकलाई मनोपरामर्श सेवासमेत दिइयो । अहिले पनि प्रायः विद्यायलहरुमा नर्सहरुकै परामर्शका कारण विद्यार्थीको उपस्थिति बढाउन सहज भएको छ ।”
विद्यालय नर्स राखेपछि विद्यार्थीको उपस्थिति बढ्यो
वाग्मती प्रदेशमा गरिएको पछिल्लो वर्षको अध्ययनमा विद्यालय नर्स नियुक्त गरेपछि विद्यार्थीको उपस्थिति बढेको पाइएको थियो । वाग्मती प्रदेश विद्यालय नर्स संयोजक बिनु कक्षपतिका अनुसार विद्यालय नर्स विद्यार्थीका साथीजस्तै बनेका छन् । विशेषगरी किशोरावस्थाका छात्र–छात्राहरुले आप्mना समस्या र जिज्ञासाहरु खुलेर राख्ने गरेका छन् । नर्सहरुले दिने मनोपरामर्शले उनीहरुलाई नर्सको नजिक बनाएको छ । शिक्षक शिक्षिकासँग राख्न नसकेका समस्यासमेत नर्सहरुमार्फत् समाधान हुने भएकाले विद्यालय नर्स विद्यार्थीका साथी बनेका छन् ।
त्यसैगरी किशोरीहरुमा हुने महिनावारीसम्बधि समस्या, स्यानिटरी प्याडको सहज उपलब्धताले पनि छात्राहरुको उपस्थिति बढाएको छ । कक्षपति भन्छिन् “कतिपय अवस्थामा किशोरावस्थामा आउने नकारात्मक सोचहरुलाई बदल्न र समाधानको उपाय खोज्न पनि नर्सहरुको सहयोगी भूमिका रहन्छ । यसले किशोरावस्थामा हुनसक्ने नराम्रा घटनाहरुबाट विद्यार्थीलाई जोगाएको छ ।”
‘एक विद्यालय एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएपछि वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेटसमेत थप गरेको थियो । अहिले यो कार्यक्रमका लागि ५ लाख ७० हजार प्रतिविद्यालय बजेट विनियोजन गरिएको छ । जसबाट नर्सहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिकसहित अन्य कार्यक्रम सञ्चालन गर्दै आइएको छ ।