
काठमाडौं । भारतको विदेश मन्त्रालयले अक्सफोर्ड एष्ट्राजेनिकाले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप तत्काललाई निर्यात नगर्ने खबर सार्वजनिक भएसँगै नेपालमा थप खोप कसरी ल्याउने भन्नेबारे अन्योल पैदा भएको छ । भारतको एष्ट्राजेनिकाको खोप सिरम इन्स्टिच्युट अफ इन्डियामार्फत् ल्याइएकोमा अबको विकल्प के भन्नेबारे नेपालमा छलफल सुरु भएको छ ।
मन्त्रालय छलफलमा
भारतको विदेश मन्त्रालयले अष्ट्राजेनिकाको खोप तत्काललाई निर्यात नगर्ने निर्णय लिएको समाचार मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले सम्प्रेषण गरेको छ । नेपालले यसअघि अनुदान, खरिद, कोभ्याक्स सुविधामार्फत गरी अष्ट्राजेनिकाको उत्पादन कोभिसिल्ड खोप १३ लाख ४८ हजार डोज ल्याइसकेको छ । २० लाख डोजका लागि प्रतिखोप ४ डलरका दरले नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियालाई भुक्तानी गरेकोमा अहिलेसम्म १० लाख डोज नेपाल आइपुगेको छ ।
पछिल्लो समय भारतमा संक्रमण दर बढेको भन्दै खोप निर्यातमा कडाइ गर्ने समाचार आएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अबको विकल्पबारे छलफल सुरु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतले खोप निर्यात रोक्ने आधिकारिक सूचना मन्त्रालयमा आइनपुगेको बताए । “सम्बन्धित कम्पनी सिरम इन्स्टिच्युटले हामीलाई अहिले खोप दिन नसक्ने पत्र पठाउनुपर्यो, त्यसपछि हामी के गर्ने भनेर विकल्प निकाल्छौँ,” डा. गौतमले बाह्रखरीसँग भने, “हामीसँग भारतको अर्को कम्पनी भारत बायोटेक र चीनको एउटा कम्पनीले पनि खोप आयातको अनुमति पाइसकेका छन्, त्यसैले आत्तिइहाल्नुपर्ने अवस्था छैन ।”
खरिद गरेको खोप नआउँदा कोभ्याक्सको भर
विश्वव्यापी खोप अभियानका लागि विश्व स्वास्थ्य संगठन र युनिसेफले नेतृत्व लिएको कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपालले कुल १९ लाख २० हजार डोज खोप पाउनेछ । त्यसमध्ये तीन लाख ४८ हजार डोज खोप यसअघि नेपाल ल्याइसकिएको छ । बाँकी डोज खोप अप्रिलभित्र आउने डा. गौतम बताउँछन् । “कोभ्याक्सले पठाएको खोपले पनि हामीले पहिलो डोज दिएका धेरै नागरिकलाई दोस्रो डोज दिन पुग्छ । त्यसैले पनि हामी आत्तिएका छैनौँ ।”
सिरमले निर्यात रोके कोभ्याक्सको खोप आउन ढिलो हुने
नेपालमा यसअघि ल्याइएको कोभ्याक्स सुविधाअन्तर्गतको तीन लाख ४८ हजार डोज खोप भारतको सिरम इन्स्टिच्युटले उपलब्ध गराएको थियो । कोभ्याक्सलाई सबैभन्दा धेरै मात्रा खोप उपलब्ध गराउने कम्पनी पनि सिरम नै हो । “यदि, सिरमले खोप अन्य देशलाई रोक्ने निर्णय गरेमा कोभ्याक्स कार्यक्रम पनि प्रभावित हुन्छ । नेपालले खोप पाउने मिति अझै ढिलो हुने निश्चित छ,” विश्व स्वास्थ्य संगठनको खोप कार्यक्रमका लागि नेपालमा काम गरिरहेका एक उच्च अधिकारीले भने ।
विश्व स्वास्थ्य संगठनको भ्याक्सिन एलोकेसन कमिटीले कुन मुलुकलाई कति प्राथमिकता दिने भन्ने निर्धारण गर्छ र नेपाल आयात र व्यवस्थापनको जिम्मा अहिले युनिसेफले लिएको छ । “कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपालका लागि छुट्ट्याइएको १९ लाख २० हजारमध्येको बाँकी १५ लाख ७२ हजार डोज खोप मेभित्र पठाउने सूचना पाएका छौँ । एकैपटक पूरै खोप आउँछ या पटक–पटक गरेर आउँछ भन्ने कुरा एक हप्ताअघि मात्रै थाहा हुन्छ । त्यसैले अहिलेलाई नेपालमा कोभ्याक्सको खोप मे अन्तिमसम्म आउला भन्ने अपेक्षा गरौँ,” युनिसेफका नेपाल प्रतिनिधिले भने ।
चीनबाट आठ लाख डोज खोप ल्याइँदै
चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको आठ लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको जहाज आउँदो आइतबार बेइजिङ पठाइने भएको छ । सोमबार नेपाल फर्कने वाइडबडी विमानले चीनले प्रदान गरेको भेरासेल खोपसहित अन्य स्वास्थ्य सामग्री लिएर आउने निगमले जनाएको छ ।