
काठमाडौं । दुई महिनायता घट्दै गएको कोभिड–१९ संक्रमणको दर पछिल्लोसाता बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।
मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सभा, सम्मेलन नगर्न अनुरोध गरेको छ । कोरोनाको जोखिम बढेको भन्दै सरकारले यस्तो अनुरोध गरेको हो ।
काठमाडौं उपत्यकासँगै विभिन्न नाका हुँदै भारतबाट नेपाल आएकाहरुमा संक्रमण बढी देखिएको छ । भारतबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएको मन्त्रालय स्रोतले जानकारी गराएको छ ।
तर भारतसँगको सीमा नाकामा हेल्थ डेस्क तथा क्वारेन्टिन सक्रिय गर्ने सन्दर्भमा भने कुनै काम भएको छैन ।
फागुनको पहिलो सातादेखि नेपालमा कोभिड–१९ संक्रमितको संख्या घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।
फागुन पहिलो साता ७ गते २ हजार ९३१ जनाको पीसीआर परीक्षण गरिएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको थियो ।
त्यसयता लगातार कोभिड–१९ संक्रमितको संख्या ओरालो लागेको देखिन्छ । फागुन मध्यदेखि अन्तिमसम्म ३ हजारको हाराहारीमा पीसीआर परीक्षण गर्दा १ सयभन्दा कम संख्यामा संक्रमण पुष्टि भएको पाइएको मन्त्रालयको तथ्यांक छ ।
फागुनको अन्तिम साता संक्रमितको संख्या दैनिक ४७ सम्म रहेको देखिन्छ । तर चैतयता यो संख्या बढेर एकैदिन ११४ सम्म पुग्यो । चैत ६ गते ३ हजार १६१ जनाको पीसीआर परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टि भएको थियो ।
चैत ८ गतेसम्मको तथ्यांक हेर्दा नेपालमा कोभिड–१९ संक्रमितको कूल संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ, जसमध्ये हाल ९९८ जना आइसोलेसनमा छन् भने ४७ जनालाई संस्थागत क्वारेन्टिनमा राखिएको छ ।
भारतमा संक्रमण बढेसँगै नेपालमा पनि जोखिम
भारतमा कोभिड–१९ को संक्रमण १० महिनायताकै सबैभन्दा बढी फैलिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
पछिल्लो तथ्यांकअनुसार भारत महाराष्ट्रको पुणे, मुम्बई, नागपुर, नासिक, पञ्जाव, दिल्ली, छत्तीसगढ, गुजरातलगायतका विभिन्न सहरमा संक्रमितको दर बढ्दो छ ।
शनिबारसम्म भारतमा संक्रमितको संख्या एक करोड १५ लाख १३ हजार ९४५ पुगेको छ । नेपालसँग सीमा जोडिएका भारतीय प्रदेशमा पनि संक्रमण बढिरहेको छ । रोजगारीका क्रममा नेपालीहरु बसोबास गर्दै आएको भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा कोरोनाको दोस्रो लहर चल्न थालेसँगै नेपालमा पनि संक्रमण बढ्न थालेको छ ।
केन्द्र भन्छ– नाकामा कडाइ गर्नू
पछिल्लो समय कोभिड–१९ संक्रमितको संख्या काठमाडौं उपत्यकामा बढी छ । योसँगैे प्रदेश १, २ र लुम्बिनीमा पनि संक्रमितको संख्या धेरै देखिएको छ ।
खासगरी भारतसँग नाका जोडिएका जिल्लाहरुमा संक्रमण फैलिएको छ । प्रदेश १ का भारतसँग नाका जोडिएका जिल्लाहरुमा भारतबाट आएकाहरु संक्रमित हुन थालेका छन् ।
शनिबार मोरङको कोसी अस्पताल विराटनगरमा परीक्षण गरिएका चारजनामा संक्रमण पुष्टि भएको थियो । भारतमा रोजगारीका क्रममा रहेका उनीहरु केही दिनअघि फर्किएको अस्पतालले जनाएको छ ।
खुला सीमानाका भएका जिल्लाहरुमा संक्रमण फैलिन थालेपछि सबै नाकामा हेल्थ डेस्कलाई सक्रिय गराउन तथा क्वारेन्टिन र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
भारतसँग सीमा जोडिएका स्थानहरुमा आवश्यक परेमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउनसमेत सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउँछन् ।
उनका अनुसार प्रदेश १, २ र सुदूरपश्चिमका नाकामा विशेष ध्यान दिन प्रदेश सरकारलाई सूचना पठाइसकिएको छ ।
भारतसँग सीमा जोडिएका सबै नाकामा होल्डिङ र क्वारेन्टिन सेन्टर निस्क्रिय
कोभिड–१९ को महामारीका समयमा सञ्चालन गरिएका अधिकांश क्वारेन्टिन सेन्टर अहिले निस्क्रिय छन् ।
सार्वजनिक स्थान, विद्यालय, तथा सरकारी भवनमा स्थापना गरिएका क्वारेन्टिन सेन्टर बन्द गरिएका छन् भने होल्डिङ सेन्टर पनि हटाइसकिएको छ ।
८ वटा जिल्लाबाट भारतसँग नाका जोडिएको प्रदेश २ मा अहिले भारतबाट आउने–जाने कसैलाई पनि कडाइ नगरिएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशहवाका अनुसार शरीरको तापक्रम परीक्षण गरेर आवत जावत गर्न दिने गरिएको छ ।
तत्काल नाकामा कडाइ गर्ने तथा क्वारेन्टिन सेन्टरलाई सक्रिय गर्ने विषयमा मन्त्रालयमा कुनै छलफल भएको छैन । त्यस्तै भारतसँग मुख्य नाका जोडिएको प्रदेश १ मा पनि होल्डिङ र क्वारेन्टिन सेन्टर विगत् २ महिनादेखि निस्क्रिय छन् ।
संक्रमितको संख्या कम हुँदै गएपछि क्वारेन्टिन र होल्डिङ सेन्टरमा खटाइएका जनशक्ति फिर्ता बोलाइएको थियो । भारतमा संक्रमण बढ्दै गएपछि झापाको भद्रपुर र काकड्भिट्टा, इलामको पशुपतिनगर, मोरङको जोगमुनीलगायतका नाकामा कडाई गर्ने तयारी गरिएको छ ।
तर यसबारे सामाजिक विकास मन्त्रालयको समन्वय समेत आवश्यक हुने भएकाले अहिले कुनै निर्णय नगरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमल बहादुर थापाले बताए ।
भारतसँग खुला नाका जोडिएको सुदूरपश्चिम प्रदेशमा पनि क्वारेन्टिन र होल्डिङ सेन्टरलाई सक्रिय गराउन हालसम्म कुनै प्रक्रिया अगाडि नबढेको प्रदेश कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका कानुन अधिकृत मोहनराज जोशीका अनुसार पछिल्लो समय संक्रमण संख्या नदेखिएपछि कोभिड महामारीका समयमा सञ्चालन गरिएका क्वारेन्टिन तथा होल्डिङ सेन्टरलाई निस्क्रिय गरिएको थियो ।
हवाइ माध्यमबाट आउनेलाई यस्तो छ व्यवस्था
हवाई माध्यमबाट नेपाल भित्रिन हाल सबै मुलुकलाई खुला गरिएको छ ।
तर नयाँ भेरियन्ट देखिएका ब्राजिल, फ्रान्स, बेलायतलगायतका मुलुकबाट आएका नागरिकले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था छ ।
त्यसका लागि सरकार आफैंले होटलको व्यवस्था गरिरहेको छ । यसबाहेक अन्य मुलुकबाट आएका नागरिकलाई १४ दिन होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउने गरिएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले सामान्य स्वास्थ्य परीक्षणपछि ‘ट्राभल हिस्ट्री’ हेरेर संस्थागत वा होम क्वारेन्टिनमा बस्ने भन्ने निर्णय गर्छ ।
सरकारले विगतबाट पाठ सिक्नु, नागरिक सजग हुनु
कोभिड–१९ को विभिन्न प्रजाती देखिएसँगै नेपालमा पनि जोखिम बढेको विज्ञहरुले बताउँदै आएका छन् ।
नेपालमा पछिल्लो समय बढेको संक्रमण दरले फेरी पहिलेकै अवस्था नआउला भन्न नसकिने एवं यसमा सरकार र नागरिक दुवै सचेत हुनु जरुरी रहेको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
पहिले भएका आइसोलेसन र क्वारेन्टिन सेन्टरलाई ब्याकअपको रुपमा प्रयोग गर्नुपर्छ । संक्रमण फैलिन हवाई माध्यमभन्दा भारतसँगको खुला सीमा बढी जोखिमपूर्ण भएकाले सरकारले त्यसतर्फ ध्यान दिने समय आइसकेको छ ।
पहिले साना–साना असावधानीले निम्त्याएको ठूलो क्षतिबाट सरकारले अब भने सिक्नुपर्ने देखिन्छ ।
कोभिड–१९ को संक्रमण कम हुँदैजाँदा जनस्तरमा देखिएको स्वास्थ्यप्रतिको लापरवाही संक्रमण फैलिने अर्को जोखिम हो ।
सभा, जुलुसका नाममा हुने भेला र चार्डपर्वका बेला हुने जमघटले जोखिमलाई अझै बढाएको छ ।
एक वर्षको अवधिमा नेपाल र नेपालीले भोगेको सास्ती बुझेर जनस्तरबाट पनि त्यत्तिकै सजग हुनु जरुरी छ ।