site stats
बाह्रखरी :: Baahrakhari
देश
दोस्रो चरणको अभियान रोकियो, थप खोप ल्याउन दौडधुप
फाइल तस्बिर ।

काठमाडौं । कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियानका लागि थप खोप ल्याउने प्रक्रियामा सरकार लागिपरेको छ । भुक्तानी गरिसकेकोे खोपसमेत आइनपुग्दा खोप अभियान लक्ष्यअनुरुप अघि नबढ्ने देखिएको छ । तर, खोप अभाव भएर अभियान स्थगित हुने अवस्था आउन नदिने सरकारी अधिकारीहरुले दाबी गरेका छन् ।

१६ लाखले लगाए खोप
कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत पहिलो चरणमा चार लाख ३० हजारजनालाई खोप दिने सरकारको लक्ष्य रहेकामा चार लाख २९ हजार ७०५ जनालाई खोप दिइयो । दोस्रो चरणअन्तर्गत पहिलो प्राथमिकतामा  सरकारले ६५ वर्षमाथिका १६ लाख नागरिकलाई राखेको थियो । जसमध्ये मंगलाबारसम्म १२ लाख ज्येष्ठ नागरिकले खोप लगाएका छन् ।

दुई चरणमा गरी नेपालमा अहिलेसम्म १६ लाख जनसंख्याले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । अधिकांश प्रदेश र पालिकामा लक्ष्यानुसारको संख्यामा ज्येष्ठ नागरिकले खोप लिएका छैनन् ।

Argakhachi Cement Island Ad

काठमाडौं महानगरपालिका, सहरी स्वास्थ्य तथा खाद्यपदार्थ नियमन विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार महानगरभित्रका एक लाख नागरिकलाई खोप लगाउने सूचीमा राखिए पनि ४८ हजार ६८ जनाले मात्रै खोप लिएका छन् । दोस्रो चरणको खोप अभियान २० दिनसम्म चलाउने भनिए पनि खोप पर्याप्त नभएपछि १० दिनमा नै रोकिएको थियो ।

खोप अभियान केही समयलाई रोकिएको खोप विभाग प्रमुख डा. झलक गौतमले बताए । थप खोप उपलब्ध हुनसाथ अहिलेको अभियानमा बाँकी रहेका र दोस्रो प्राथमिकतामा परेका ५५ वर्षमाथिका नागरिकलाई खोप दिने तयारी गरिएको छ ।

कति मौज्दात छ खोप ?
नेपालमा अहिलेसम्म कोभिड–१९ विरुद्धको कुल २३ लाख ४८ हजार डोज खोप भित्रिएको छ । गएको माघ ८ गते भारतले अनुदानमा नेपाललाई कोभिड–१९ विरुद्धको पहिलो खोप कोभिसिल्ड पठाएको थियो । सरकारले भारतको सिरम इन्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप फागुन ९ गते नेपाल ल्याइएको थियो । थप १० लाख डोजका लागि सिरमलाई रकम भुक्तानी गरिइसकिएको छ । खोप आउन बाँकी छ ।

विश्व स्वास्थ्य संगठनको कोभ्याक्सअन्तर्गतको २२ लाख ५६ हजारमध्ये तीन लाख ४८ हजार डोज खोप नेपाल आइसकेको छ । जसमध्ये चैत ३ गतेसम्म प्राथमिकतामा परेकाले लगाएर अब सात लाख डोज मौज्दात रहेको खोप विभाग प्रमुख डा. गौतमले बताए । सात लाखमध्ये केन्द्रीय केल्डचेन टेकुमा अहिले एक लाख ३५ हजार डोज खोप भन्डारण रहेको र बाँकी सबै खोप प्रदेशमा पठाइसकिएको स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्था शाखा प्रमुख उपेन्द्र ढुंगानाले बताए । कोभिड–१९ विरुद्धको खोपको कुल डोजमध्ये बढीमा ३ प्रतिशत भने खेर जानसक्ने आँकलन गरिएको छ ।

अबको खोप कहाँबाट ? 
नेपालमा अहिलेसम्म आएको सबै खोप भारतको सिरम इन्टिच्युट अफ इन्डियाबाट ल्याइएको कोभिसिल्ड खोप हो । नेपालले शुल्क भुक्तानी गरिसकेको थप १० लाख डोज खोप पनि चाँडै उपलब्ध गराउने प्रतिबद्धता सिरमले जनाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सिरमले विश्व बजारमा नै खोप निर्यात गरिरहेको र कोभ्याक्सलाई समेत खोप उपलब्ध गराउनुपर्ने भएकाले नेपालमा थप १० लाख डोज खोप पठाउन ढिलाइ भएकोे डा. गौतम बताउँछन् । सिरमले कोभ्याक्स कार्यक्रमलाई पनि खोप उपलब्ध गराउनुपर्ने भएकाले अग्रिम भुक्तानी गरेका अन्य मुलुकहरुले समेत पर्याप्त खोप पाएका छैनन् ।

वैशाख १० देखि दोस्रो डोज खोप दिइने 
कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत पहिलो चरणको पहिलो प्राथमिकतामा माघ १४ गतेदेखि खोप लगाएकाहरुलाई वैशाख १० गतेदेखि दोस्रो डोज दिइने भएको छ । डा. गौतमका अनुसार अहिले मौज्दात रहेको सात लाख डोजबाट पहिलो प्राथमिकतामा खोप लगाएका चार लाख २९ हजार नागरिकलाई दोस्रो डोज दिइनेछ । आठ हप्ताको फरक राखेर दोस्रो डोज दिने नियमानुसार ‘ग्याप’ राखिएको डा. गौतमको भनाइ छ । पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, शववहान तथा एम्बुलेन्स चालक, स्वास्थ्य स्वयंसेवक, वृद्धाश्रममा खटिएका कर्मचारी तथा सञ्चारकर्मीलाई खोप दिइएको थियो ।

खोप अभाव हुँदैन : स्वास्थ्यमन्त्री 
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप अपुग भएकै कारण अभियान रोकिन नदिने प्रतिबद्धता पटक–पटक दोहोर्‍याउँदै आएका छन् । बाह्रखरीसँगको कुराकानीमा मन्त्री त्रिपाठीले भने, “कहाँबाट कसरी ल्याउने भन्ने सरकारको जिम्मा हो । तर, खोपमा ग्याप हुँदैन ।”

नेपाललाई चीन सरकारले अनुदानमा दिने भनिएको आठ लाख डोज खोप ल्याउन औषधि व्यवस्था विभागले अनुमति दिइसकेको छ । खोप नेपाल ल्याउन आवश्यक प्राविधिक तयारी गरिरहेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा निर्देशक डा. भीमसिंह तिंकरीले बताए ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १५:३६
प्रतिक्रिया दिनुहोस्