site stats
बाह्रखरी :: Baahrakhari
देश
सीमा नखुल्दा विदेश पढ्न जाने युवा स्वदेशमै

काठमाडौं । अस्ट्रेलियाको भिसा लागेको एक वर्ष भयो, तर किशोर खड्का खुसी मनाउन सकेका छैनन् । हुनु पनि कसरी, कोभिड १९ को कारण अस्ट्रेलियाले सीमाना बन्द गरेको छ । “सीमाना कहिले खुल्ने हो थाहा छैन, जुलाईमा खुल्छ कि भन्ने आश छ,” उनले भने ।

निम्न मध्यमवर्गीय परिवारका उनी अस्ट्रेलिया गएर डिग्रीसँगै धन कमाएर परिवारको रहर पूरा गर्ने सपना देखेका थिए । एमबीएका लागि अंग्रेजी टेस्ट परीक्षादेखि भिसा एप्लाई गर्दासम्म उनको करिब २५ लाख रुपैयाँ खर्च भएको छ । उनी भन्छन्, “मेरा लागि यो ठूलो रकम हो । बैँकमा लोन लिएर एप्लाई गरेको थिएँ । उता गएर केही वर्षमै लोन तिरौंला भन्ने आश थियो । यता ऋण बढिरहेको छ । तनाव छ ।”

खड्काका बुबा पेसाले किसान हुन् । पाँचजनाको परिवार खेतीपातीले जसोतसो धानिरहेको थियो । सँगैका साथी विदेश पढ्न जान सुर कसेपछि बीबीएस सकेपछि खड्काले पनि विदेशको सपना देखे । अस्ट्रेलियाको डिग्रीको अन्तर्राष्ट्रिय मूल्य र पीआरको सपनाले अरुलाई झैँ उनलाई पनि तान्यो । हेरौँ, “भाग्यमा के लेखेको छ ।” हाल उनी अनलाइनबाट केही विषयका कक्षा लिइरहेका छन् ।

खड्का जस्तै अस्ट्रेलिया खुल्ने आशमा बसेकी छन्, श्रेया अधिकारी (नाम परिवर्तन) । ग्राजुएट इन्ट्री पढ्न अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु इंग्ल्यान्डमा भर्ना भएकी श्रेया डिपेन्डेन्टमा श्रीमानसँगै लैजाने सोचमा थिइन् । यहाँ पीसीएल नर्सिङ गरेर कामसमेत गरेकी श्रेयाले सोचेजस्तै भिसा त लाग्यो, तर कोभिडले गर्दा सोचेको जस्तो भएन । “उतै गएर काम गर्ने र पढ्ने भनेकाले यताको जागिर पनि छोड्यौँ, अहिले दोधारमा परेका छौँ,” उनले दुखेसो पोखिन् । केही समय अनलाइन कक्षा लिएकी श्रेया हाल बिदामा छिन् । भन्छिन्, “उता गएर मात्रै पढ्ने भनेर बिदा लिएको छु ।”

श्रेया र किशोर प्रतिनिधि पात्र मात्र हुन् । अस्ट्रेलियाको भिसा लागे पनि सीमाना बन्द भएका कारण हाल धेरै विद्यार्थी नेपालमै अलपत्र छन् । कतिपय अनलाइनमा कक्षा लिइरहेका छन् भने कति सीमा खुल्ने आशमा बसिरहेका छन् ।

उच्च शिक्षाका लागि अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि प्रमुख गन्तव्यमध्ये एक मानिन्छ । यस्तै, जापान र बेलायत पढ्न जाने विद्यार्थीको संख्या बढ्दो छ । पछिल्ला दिनमा शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा ०७७/७८, फागुन महिनासम्ममा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) १८ हजार २ सय ६२ ले पाइसकेका छन् । गत वर्ष चैत ११ गतेपछि सुरु भएको लकडाउनपछि पनि ९४ जनाले एनओसी लेटर लिएका थिए भने २५ सय जनाले भदौमा भारतका लागि एनओसी लिएका थिए ।

जापानी एम्बेसी नै बन्द
पछिल्लो समय विदेश अध्ययनका लागि जापानका लागि एनओसी लिनेको संख्या बढेको छ । ०७७ को साउनदेखि माघसम्मको मासिक तथ्यांक हेर्दा जापान जानेको संख्या ४४७५ भने अस्ट्रेलियाको ३०१५, भारतको ३९४२, दक्षिण कोरियाको १७१४ र बेलायतको ११३० रहेको छ ।

तर कोभिड १९ ले जापान जाने विद्यार्थी पनि उत्तिकै समस्यामा परेका छन् । चितवनको नारायणगढबाट एनओसी लेटर लिन आएका चन्द्रबहादुर बुढाथोकी र सफिक मनसुर जापानमा उच्च शिक्षाका लागि जाँदै छन् । ३ महिना जापानी भाषा पढिसकेका बुढाथोकी सल्यानका हुन् । शिक्षा विषय लिएर पढेका बुढाथोकी पढाइसँगै करिअर वृद्धि विकास गर्ने सोचले एप्लाई गरेको बताउँछन् । बुढाथोकीले फुपूको छोरा जापानमै पढ्छन् भने उनको परिवारिक पेसा कृषि हो । एन फाइभ लेभल पास गरेर सबै गरी १५ लाख खर्च गर्न लागेका बुढाथोकी काम गर्दै तिर्ने सोचमा छन् ।

साफिक मन्सुरले प्लस टुमा साइन्स पढेका थिए । चितवनका उनी आमाका कारणले जापान जान लागेको सुनाउँछन् । भन्छन्, “मलाई अस्ट्रेलिया जान मन थियो । तर जापानमा सर्भाइभ गर्न सजिलो छ रे, त्यही भएर । साथी र नातेदार नि उता छन् ।” मन्सुर पहिले जापानी भाषा दुई वर्ष पढेर त्यसपछि बुझेर के पढ्ने सोच रहेको सुनाउँछन् । मन्सुर १५ लाख खर्च गरेर जान लागेका हुन् । यसमा एक वर्ष विद्यालयको र ६ महिनाको होस्टेलको शुल्क पनि गाभिएको छ ।

तर, कोभिड १९ का कारण नेपालस्थित जापानी दूतावास जनवरी पहिलो सातादेखि नै बन्द छ । बन्द भएका कारण सबै गतिविधि पनि ठप्प छन् । तर, मार्च २१ बाट दूतावास खुल्न सक्ने ब्लु लोटस एजुकेसनल नेटवर्कका सञ्चालक विष्णुप्रसाद धरेल बताउँछन् । उनले दूतावास बन्द हुँदा विद्यार्थी मर्कामा परेको बताए । उनी भन्छन्, “हाम्रा तीनजना विद्यार्थी अन्तर्वार्ताको मिति चैतदेखि कुरेर बसेका छन् ।”

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  ०६:४३
प्रतिक्रिया दिनुहोस्