1613562132.jpg)
काठमाडौं । कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियानअन्तर्गत मुलुकभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने क्रम जारी छ । फागुन २३ गतेदेखि सुरु भएको अभियानमा २४ गतेसम्म ४ लाख ३२ हजार ४६८ जनाले खोप लिएका छन् । मुलुकभरका दुई हजार ९८९ खोप केन्द्रबाट वितरण गरिने दोस्रो चरणको खोप अभियान २० दिनसम्म चल्नेछ ।
दोस्रो चरणको प्राथमिकतामा कोको ?
दोस्रो चरणको खोप अभियानअन्तर्गत खोप लगाउने व्यक्तिहरूलाई दुईवटा प्राथमिकता वर्गमा राखिएको छ । पहिलो प्राथमिकतामा हिमाली जिल्लाका ५५ वर्षमाथिका र अन्य जिल्लाका ६५ वर्षमाथिका सबै नागरिकलाई खोप दिने सूचीमा राखिएको छ ।
यो सूचीमा १६ लाख जनसंख्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । त्यसैगरी दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, महाविद्यालयका प्राध्यापक, सामुदायिक र निजी विद्यालयका शिक्षक कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई राखिएको छ । यो समूहअन्तर्गत करिब ४२ लाख नागरिकलाई खोप दिइनेछ । यी नागरिकलाई नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र, कार्यालयको परिचयपत्रका आधारमा खोप दिइनेछ । परिचयपत्र उपलब्ध नहुनेका लागि वडाको सिफारिसका आधारमा खोप दिइनेछ ।
दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका नागरिकलाई २० दिनभित्रमा खोप दिने सरकारको लक्ष्य छ भने त्यसपछि निरन्तर अभियान जारी रहनेछ ।
खोप ढुवानी र वितरण कसरी हुँदै छ ?
दोस्रो चरणको खोप वितरणका लागि फागुन २३ गते मुलुकभर १५ लाख डोज पुर्याइएको थियो । सबै वडामा पायक पर्नेगरी खोप केन्द्र तोक्ने सरकारको लक्ष्य भए पनि सोमबारसम्म दुई हजार ९८९ केन्द्रबाट खोप वितरण भइरहेको छ ।
खोप लिने वर्गका लागि पायक पर्नेगरी खोप केन्द्र बढाउन सकिने स्वास्थ्य सेवा विभागले जनाएको छ । सबै जिल्लाका खोप केन्द्रहरूमा खोप पर्याप्त मात्रामा पठाइएको र केन्द्रको भण्डारण कक्षमा तीन लाख ४८ हजार डोज खोप बाँकी रहेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्था शाखा प्रमुख उपेन्द्र ढुंगानाले बताए ।
सरकारले असार अन्तिमसम्म ७० लाख नागरिकलाई खोप दिने लक्ष्य राखेको छ । यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत चार लाख २९ हजारले कोभिड १९ विरुद्धको खोप दिइएको थियो ।