site stats
बाह्रखरी :: Baahrakhari
देश
नि:शुल्क औषधिका लागि सरकारी अस्पतालमा रिफर !
फाइल तस्बिर ।

काठमाडौं । उदयपुरका धनीप्रसाद राई पेटमा असामान्य दुखाइ भएपछि उपचारको खोजीमा डेढ महिनाअघि काठमाडौं आइपुगे । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा परीक्षण गराउँदा उनको पेटको आन्द्रामा क्यान्सर भएको पत्ता लाग्यो ।

जसोतसो हरिसिद्धिमा शल्याक्रिया त भयो तर औषधिका लागि खर्च नपुग्ने अवस्था भयो । नेपाल क्यान्सर अस्पतालले नै राईलाई थप उपचारका लागि पाटन अस्पताल रिफर गर्‍यो । पाटन अस्पतालबाट नि:शुल्क औषधि पाउने भएपछि राई भन्छन्, मसँगै अप्रेसन भएका कतिपय बिरामी औषधिका लागि खर्च नपुगेर घर फर्किएको पनि देखें, मैले नि:शुल्क औषधि पाउँदा पुनर्जीवन नै पाएको महसुस भएको छ ।

Argakhachi Cement Island Ad

पाटन अस्पतालका मेडिकल अंकोलोजिस्ट डा. अरुण शाहीका अनुसार ‘राईलाई दुई वर्षसम्म निमित औषधि प्रयोग गर्नुपर्छ । उनको उपचारमा प्रयोग हुने औषधिको मूल्य डेढ लाखसम्म पर्न जान्छ । पाटन अस्पतालले भने २० वर्षदेखि क्यान्सरको औषधि निःशुल्क प्रदान गर्दै आएको छ । म्याक्स फाउन्डेसनको सहयोगमा अस्पतालमा पेट, फोक्सो, मिर्गौला, रगतलगायत क्यान्सरको उपचारमा प्रयोग हुने विभिन्न आठ प्रकारका औषधि निःशुल्क दिइन्छ । केमोथेरापी तथा अन्य उपचार प्रक्रियामा प्रयोग हुने यी औषधि १० हजारदेखि डेढ लाख रुपैयाँसम्म पर्न आउँछ । डा. शाहीका अनुसार पछिल्लो समय शल्यक्रिया निजी अस्पतालमा गराए पनि औषधिका लागि भने बिरामीहरु पाटन अस्पतालमा आउने क्रम बढ्दो छ । नि:शुल्क औषधि प्रदान गरिने भएपछि निजी अस्पतालहरुले नै बिरामी रिफर गर्ने गरेका छन् ।

काठमाडौंलगायत उपत्यका बाहिरका अस्पतालहरुबाट पनि मासिक एक सयदेखि डेढ सय बिरामी रिफर भएर आउने गरेको डा. शाहीले बताए । क्यान्सरका बिरामी बढ्दै गएपछि अस्पतालमा शय्या विस्तारका लागि पहल भइरहेको डा. शाहीले बताए । 

क्यान्सरसम्बन्धी अन्तर्रष्ट्रिय अनुसन्धान एजेन्सी ग्लोबोक्यान २०२० अनुसार नेपालमा बर्सेनि सरदर २६ देखि ३० हजार मानिसमा क्यान्सर पहिचान हुने गरेको छ । जसमध्ये १५ देखि २० हजारको मृत्यु हुने गरेको देखिन्छ । नेपालमा देखिएका मुख्य क्यान्सरहरूमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर छन् । पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् । तर यसमध्ये कति मानिस उपचारमा आउँछन् भन्ने अध्ययन हालसम्म भएको छैन । रोग ढिलो पहिचान हुने र उपचारमा मोटो रकम खर्च हुने भएकाले पनि क्यान्सरका कारण धेरैले ज्यान गुमाउनुपरेको विज्ञहरुले बताउँदै आएका छन् ।

‘सबै सरकारी अस्पतालमा क्यान्सरको गुणस्तरीय उपचार जरुरी’
नेपालको अवस्थामा नि:शुल्क औषधि मात्रै वितरण गर्नसके पनि अहिले छुटेको वर्ग उपचारमा समेटिने नेपाल क्यान्सर सर्भाइभर सोसाइटीकी उपाध्यक्ष रुबी रजत क्षेत्रीको धारणा छ । उनी भन्छिन्, “सरकारी अस्पतालले कमसेकम नि:शुल्क औषधिको व्यवस्था गरे मात्रे पनि क्यान्सरका कारण ज्यान गुमाउनेको संख्या कम हुने थियो । कोटा छुट्याएर सरकारी अस्पतालले नि:शुल्क उपचार गर्नेको संख्या तोक्न सक्छ, त्यो स्रोत साधन हाम्रा अस्पतालहरुमा छ तर तदारुकता छैन । जसले हामीजस्ता क्यान्सर सभाइभरलाई उपचारका लागि भारतका अस्पतालसम्म पुर्‍याइरहेको छ । सबै सरकारी अस्पतालमा क्यान्सरको गुणस्तरीय उपचार सेवा हुनु नेपालका लागि अत्यावश्यक भइसकेको छ ।” 
 

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १५:५६
प्रतिक्रिया दिनुहोस्