site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पाम र भटमासकै ‘लय’मा सूर्यमुखी तेल

काठमाडौं । कुनै समय नेपालबाट सर्वाधिक निर्यात हुने वस्तु वनस्पति घिउ थियो । दुई वर्षअघिसम्म प्रशोधित पाम तेल सर्वाधिक निर्यात हुने सूचीको शीर्षमा रहन्थ्यो । अहिले शीर्षमा प्रशोधित भटमासको तेल छ ।

वनस्पति घिउ अर्थात ‘डाल्डा’ शीर्षबाट हट्नुको कारण फरक भए पनि पाम तेलको कथा सबैमा ज्ञात नै छ । भारतले जानीजानी पाम तेलमाथि प्रतिबन्ध लगाएपछि पामको निर्यात शून्यमा झरेको हो । यो यथार्थ बुझ्दाबुझ्दै नेपाली व्यवसायीले भने पामको विकल्प भटमासको तेललाई मानेका छन् । जसकारण पामकै लयमा अर्थात सर्वाधिक निर्यात हुने वस्तु भटमास तेल बनेको छ ।

चालु आर्थिक वर्षको सात महिना बित्दा १९ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको प्रशोधित भटमास तेल निर्यात भएको छ । जबकि, गत वर्षको ६ महिनासम्म शीर्षमा रहेको पाम तेल निर्यात लगभग शून्यमा झरेको छ । भन्सार विभागको तथ्यांकअनुसार ७ महिनामा ४ लाख ४३ हजार रुपैयाँको प्रशोधित पाम तेल निर्यात भएको देखिन्छ । पाम निर्यात शतप्रतिशतले घट्नुपछाडि भारतले आफ्ना उद्योग धरासायी हुने तर्क राखेको छ ।

Argakhachi Cement Island Ad

नेपाली उद्योगले कच्चा तेल प्रशोधनबाट ३० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गरी निर्यात गरेको दाबी गरे पनि भारतले नेपाली व्यवसायीले त्यसो नगरेको आरोप लगाएर त्यहाँ हुने तेल आयात रोकेको हो । भारतले नेपालसँगै छिमेकी मुलुकबाट हुने पाम तेल आयात अघिलो डिसेम्बरमै रोकेको हो । त्यसयता निर्यात खुला, फेरि बन्द हुँदै मे महिनादेखि निकासी पूर्ण रूपमा ठप्प छ ।

नेपाली उद्योगीले भने पामको विकल्प भटमासको तेललाई बनाएका छन् । पाम तेल निर्यात हुन छाडेपछि व्यवसायीले दक्षिण अमेरिकाबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर भारत पठाउन थालेका छन् । यसअघि, पाम तेलको कच्चापदार्थ इन्डोनेसिया, मलेसिया, थाइल्यान्डबाट आयात भइ नेपालमा प्रशोधन हुने गर्थ्यो ।

भटमास शीर्षमा हुँदै गर्दा अहिले प्रशोधित सूर्यमुखी तेलको निर्यात बढ्न थालेको छ । सनफ्लावर अर्थात सूर्यमुखीको तेलमा व्यापारीको नजर परेको भन्सारको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको ७ महिनामा गत वर्षको सोही अवधिभन्दा ३२ सय गुणा परिमाण तथा २७ सय गुणा बढी मूल्यको प्रशोधित सूर्यमुखी तेल निर्यात भएको छ । सबै तेल भारत निर्यात हुन्छ ।

निर्यातित प्रशोधित सूर्यमुखी तेलका लागि कच्चापदार्थ विदेशबाटै आयात भएको तथ्यांकमा प्रष्ट हुन्छ । पुससम्मको भन्सार तथ्यांकअनुसार ५ अर्ब ३९ करोड रुपैयाँको कच्चा सूर्यमुखी तेल आयात भएको देखाउँछ । माघमा मात्रै थप २ अर्ब १५ करोडको कच्चा सूर्यमुखी तेल आयात भएको छ । यो कच्चा तेल सबैभन्दा बढी युक्रेनबाट र रुस तथा अर्जेन्टिनाबाट पनि आयात हुने गरेको छ ।

भटमास वा सूर्यमुखी खाने तेलले निर्यातको हिस्सा ओगट्दै गर्दा यी दुवै तेलको निर्यात दिगो भने होइन । जसको कारण हो, सबै तेलको कच्चापदार्थ विदेशबाट आयात भएर नेपालमा प्रशोधन हुन्छ । नेपाली व्यवसायीले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रको लाभ उठाउँदै नेपालमा तेल प्रशोधन गरेर भारत निर्यात गर्ने गरेका छन् ।

नेपाली व्यवसायीले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)को लाभ उठाएर पाम आयल निर्यात गर्थे । भटमास र सूर्यमुखीमा पनि यही तरिका अवलम्बन गरिएको छ । अतिकम विकसित मुलुकबाट हुने वस्तुजन्य आयातमा शून्य ट्यारिफको व्यवस्था विश्व व्यापार संगठनको ‘रुगिरो इनिसिएटिभ’मा छ । साफ्टामा पनि यस्तै व्यवस्था छ ।

यसकारण नेपाली व्यवसायीले कच्चा सामग्री आयात गरी शून्य ट्यारिफ भारतमा निर्यात गराउँछन् । यस्ता तेल अन्य देशबाट आयात हुँदा उच्च ट्यारिफ लाग्ने छ । आयातित कच्चा तेल प्रशोधन गरी नेपाली व्यवसायीले ३० प्रतिशतसम्म मूल्य अभिवृद्धिसहित नाफा गर्ने गरेको दाबी गर्छन् ।

भारतमा खाने तेलको माग उच्च छ । एलसी खोल्न सहज हुने, भारतीय व्यवसायी लाभान्वित हुने र उपभोक्ताले कम मूल्यमा किन्न पाउने हुँदा अरु देशभन्दा नेपालबाटै आयात गर्दा फाइदा छ । नेपाल चाँडै अतिकम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा प्रवेश गर्दै छ । त्यसपछि कच्चापदार्थ आयात गरी प्रशोधनपछि बेच्दा भारतीयका लागि केही महँगो पर्न जान्छ ।

गत आर्थिक वर्षभर १७ अर्ब ९९ करोड रुपैयाँ बराबरको कच्चा पाम आयल आयात भएको छ । सो अवधिमा कच्चा भटमासको तेलको आयात कच्चा पाम आयलको भन्दा बढी अर्थात १८ अर्ब ७२ करोड रुपैयाँको छ । भन्सार विभागका अनुसार कच्चा पामको आयात इन्डोनेसिया, मलेसिया, सिंगापुर र पपुवा न्युगिनीबाट हुन्छ भने कच्चा सोयाबिन तेल अर्जेन्टिना, ब्राजिल, पाराग्वे, युक्रेन र इन्डोनेसियाबाट हुने गरेको छ ।

चालु आवको सूर्यमुखी तथ्यांक : कच्चा तेल आयात गरी प्रशोधित तेल निर्यात बढ्दै
माघसम्मको तथ्यांकअनुसार ४ करोड ४३ लाख रुपैयाँको मात्र पाम तेल निर्यात भएको छ । गत वर्षको माघसम्म करिब १४ अर्बको पाम तेल निर्यात भएको थियो । यस अवधिमा १९ अर्ब ५९ करोड रुपैयाँको प्रशोधित भटमास तेल निर्यात भएको छ । यो गत वर्षको माघसम्मको भन्दा २२९ प्रतिशत बढी हो ।

माघमा मात्रै २ अर्ब ५५ करोडको प्रशोधित भटमास तेल निर्यात भएको देखिन्छ, यो अघिल्लो आवको माघको तुलनामा ६३ प्रतिशत बढी हो । भटमासको कच्च तेल आयात ११७ प्रतिशतले बढेर २१ अर्ब बराबरको भएको भन्सारको तथ्यांक छ ।

पाम र भटमासको लयलाई समात्ने क्रममा ६ महिनामा ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको सूर्यमुखीको कच्चा तेल आयात भएको छ । माघमा थप २ अर्ब १५ करोडको यस्तो तेल युक्रेन, रुस र अर्जेन्टिनाबाट आयात भएको छ ।

यो तेल प्रशोधन गरी ७ महिना (माघसम्म)मा ५४ करोडको तेल निर्यात भएको छ । जबकि, गत वर्षको माघसम्म ३ करोडको पनि प्रशोधित सूर्यमुखी तेल निर्यात भएको थिएन । माघ महिनाको तथ्यांकले गत वर्षको माघभन्दा ७५३ गुणा बढी प्रशोधित सूर्यमुखी तेल निर्यात भएको देखाउँछ ।

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १५:५४
प्रतिक्रिया दिनुहोस्