site stats
बाह्रखरी :: Baahrakhari
देश
आठ महिनायताकै पहिलो रेकर्ड, मृत्यु शून्य

काठमाडौं । कोरोना संक्रमणका कारण बिहीबार कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २१३ नयाँ संक्रमित थपिए पनि मृत्युको संख्या भने शून्य रह्‍यो । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु शून्य भएको आठ महिनायताकै पहिलो रेकर्ड हो ।

नेपालमा कोरोना संक्रमणका कारण पहिलोपटक २०७७ जेठ ३ गते सिन्धुपाल्चोककी एक सुत्केरीको मृत्यु भएको थियो । त्यसयता जेठदेखि भदौ अन्तिमसम्म दैनिकजसो एकदेखि तीनजनाको नियमित मृत्यु भइरहेको थियो । असोजको पहिलो साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा दैनिक दुईदेखि पाँचजनाको मृत्यु भएको देखिन्छ । जतिबेला सरदर १२ हजार मानिसमा पीसीआर परिक्षण गर्दा हजारदेखि १५ सयसम्म नयाँ संक्रमित देखिएका थिए ।

Argakhachi Cement Island Ad

तर असोजकै दोस्रो साताबाट संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढेको देखिन्छ । असोज १९ गते १९ जना र २५ गते २२ जनाको मृत्यु भएको तथ्यांक छ । कात्तिक पहिलो साता पनि मृतकको संख्या बढ्दै गएको देखिन्छ । कात्तिक ७ गते १६ हजार ८ सय ३३ जनामा परीक्षण गरिएकामा चार हजार चार सय ९९ संक्रमित भेटिए । सोही दिन १७ संक्रमितको मृत्यु भयो । यही दरमा रहेको संक्रमितको संख्या कात्तिकको मध्यतिर बढेर गयो । कात्तिक १९ गते नेपालमा कोरोना महामारी अवधिकै सबैभन्दा धेरै ३० जनाको मृत्यु भयो भने ३ हजार ३ सय ९ जना नयाँ संक्रमित भेटिए ।

कात्तिक २६ गते पनि मृतकको संख्या २६ पुगेको थियो । यसरी उकालो लागेको मृतकको संख्या मंसिर लाग्दै गर्दा केही घटेको देखियो । मंसिर पहिलो साता न्यूनतम १० देखि १६ जनाको मृत्यु भएकामा १४ गते यो संख्या २५ पुग्यो । 

यतिबेलासम्म सरकारले परीक्षणको दायरा घटाइसकेको थियो । मंसिर २१ गते १० हजार ९६ जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ४ सय ९५ नयाँ संक्रमित भेटिएका थिए तर मृतकको संख्या भने १७ पुगेको थियो । यसरी असोज पहिलो साताबाट मंसिर अन्तिमसम्म आइपुग्दा नेपालमा एक लाख ९० हजार ६ सय ७ जना संक्रमित थपिए र कुल संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुग्यो । यो तीन महिनाको अवधिमा नेपालमा ९ लाख ६० हजार ६ सय ६ जनाको पीसीआर गरिएको थियो । यही अवधिमा नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि कोरोना अवधिकै उच्च रह्यो ।

असोजको पहिलो सातादेखि मंसिर अन्तिम सातासम्म १३ सय ४७ जनाले ज्यान गुमाए र नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ सय ३० पुग्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही तीन महिनाको अवधिलाई कोरोना संक्रमण उत्कर्षमा पुगेको अवधिका रुपमा लिएको छ । तीन महिना उच्च विन्दुमा पुगेको कोरोना संक्रमणको दर पुस लागेपछि भने घट्दै गयो । पुस पहिलो साता सात हजारको हाराहारीमा परीक्षण भएकामा सात सय ४२ संक्रमित भेटिए । जसमध्ये सातजनाको मृत्यु भयो । पुस ७ गते ३ महिनाकै सबैभन्दा कम तीन संक्रमितको मृत्यु भयो । तीन महिनाको अवधिमा कोरोना संक्रमणका कारण सबैभन्दा कम मृत्यु भएको दिन पनि पुस ७ गते नै हो । त्यसयता मृतकको संख्या ३ देखि ७ को हाराहारीमा रहे पनि संक्रमितको संख्या भने धेरै घटेको देखिन्छ ।

पुसमा कोरोना संक्रमणका कारण १९४ जनाको मृत्यु भएकामा नयाँ संक्रमित भने १५ हजार दुई सय २२ थपिए । पुस महिनाभरमा सरकारले एक लाख ४७ हजार आठ सय ८३ जनाको पीसीआर गरेको थियो । यसरी पुस महिनाको अवधि सबैभन्दा कम संख्यामा कोरोना संक्रमित मृत्यु भएको महिना बन्यो । त्यसैगरी माघमा संक्रमितको संख्या पुसको तुलनामा घटेको छ । माघ ५ गतेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ । 

जसमा माघ १ देखि ५ गतेसम्म नेपालमा एक हजार एक सय एकजना नयाँ संक्रमित थपिएका छन् भने २२ जनाको मृत्यु भएको छ । माघको दोस्रो साता पनि मृतकको संख्या २ देखि ७ को हारहारीमा रहेको थियो । कोरोना संक्रमणका कारण बिहीबार भएको शून्य मृत्यु भने विगत आठ महिनायताकै पहिलो रेकर्ड हो ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  २१:१५
प्रतिक्रिया दिनुहोस्