site stats
बाह्रखरी :: Baahrakhari
देश
सफाइकर्मीको खोप अनुभव, ‘अब त छोराछोरीको बिचल्ली हुँदैन नि है ?’

काठमाडौं । “अनिता, पर्ख एकछिन पछि जाउँला हामी ।” पछाडिबाट सहकर्मी रोक्न खोज्दै थिइन् । अनिता नसुनेझैँ गरी अघि बढिन्, खोप कार्ड लिने ठाउँसम्म पुगिन् । तर, कार्ड लिएपछि अलमल परिन् । अब कता जाने भन्ने मेसो पाइनन् सायद । कोल्डचेन बक्स अगाडि राखेर तयारी अवस्थामा बसेकी एक स्वास्थ्यकर्मीले उनलाई हातले इसारा गरिन् यता ! यता ! अनिता हौसिँदै त्यतै लागिन् । खोप लगाउने कुर्सीमा बसेर लामो सास फेरिन् ।

“डर लाग्यो हो ?” हातमा भ्याक्सिन भायल समात्दै खोप दिने स्वास्थ्यकर्मीले सोधे । “अलिअलि,” अनिताले जवाफ दिइन् । देब्रे पाखुरामा जब इन्जेक्सन निडल घोपियो, अनिता डराएझैँ सिरिङ्ग भइन् । निधार खुम्च्याउँदै मुन्टो अर्कोतिर फर्काइन् ।

Argakhachi Cement Island Ad

उनले आँखा खोल्न नपाउँदै स्वास्थ्यकर्मी बोले, ‘‘सकियो त कति डराउनुभएको ?’’ हस्याङफस्याङ गर्दै अनिता उठिन्, आफ्नै वार्डतिर जान लम्किइन् । “कहाँ जान लाग्नुभएको अहिले एकछिन यहाँ आराम गर्नुपर्छ ।” स्वयंसेवी नर्सको निर्देशनपछि छेवैको कुर्सी समाइन् । अनितालाई बल्ल बोल्ने आँट आयो । “अब त छोराछोरीको बिचल्ली हुँदैन नि है ?”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसन वार्डमा सफाइमा कार्यरत् अनिता राईलाई कोरोना संक्रमणले आफूलाई थला पार्ला र छोराछोरीको बिचल्ली होला भन्ने डरले एक वर्षदेखि सताउँदै आएको रहेछ । मोरङकी अनिताले शुक्रराजमा जागिर सुरु गर्नासाथ कोरोना संक्रमणका बिरामी आउन थाले । आइसोलेसन वार्डमा कहिले बिरामीको बेडमै पुगेर सफाइ गर्नुपर्थ्यो त कहिले उनीहरुलाई डोहोर्‍याएर हिँड्नुपर्थ्यो । आठजनाको सफाइ टोलीमा सहकर्मी पनि संक्रमित भए । जतिपटक उनी कोरोना संक्रमितको मृत्यु भएर अस्पतालबाट लगेको देख्थिन्, माइती इलाममा भएका छोराछोरी सम्झिएर झस्याङ्ग हुन्थिन् ।

आठ वर्षअघि श्रीमान् गुमाएकी अनितालाई आफू संक्रमित हुँला भन्नेभन्दा पनि कोरोनाकै कारण ज्यान गयो भने छोराछोरीको बिचल्ली हुन्छ भन्ने डर धेरै थियो । अस्पतालले दिएको सानो कोठामा उनलाई सुरु–सुरुका दिनहरुमा यही सम्झिएर निन्द्रा पर्दैनथ्यो । केही महिनाअघि एक सहकर्मीले सुनाइन्, ‘‘कोरोनाको औषधि आउँदैछ रे नि ? सुईले दिने हो रे !’ उनको एक मनले भन्यो, ‘त्यो सुई लाउन पाए त मरिन्नथ्यो कि ।’ फेरि अर्को मनले भन्यो, ‘त्यो सुई त डाक्टर सा’बहरुले लगाउने होला, हामीभन्दा ठूला–ठूला मेडमहरुले लगाउने होला हामीले के पाउँला र ?’

गएको शुक्रबार मात्रै हो, उनीजस्तै सफाइकर्मीले पनि खोप पाउँछन् भनेर थाहा पाएकी । र, शुक्रराज अस्पतालको सफाइकर्मी टोलीबाट खोप लिने पनि अनिता पहिलो कर्मचारी नै हुन् । “थाहा छ बैनी, मलाई त्यही दिनदेखि कुन बेला खोप लाउने पालो आउला भनेर निन्दै्र लागेको थिएन ।” धेरै खुसी अनि थोरै लाज मान्दै अनिताले आफ्नो अनुभव सुनाइन् । बल्ल पो थाहा भयो, खोपको लाइनमा अनिता किन त्यति हतारोमा रहिछन् । “हिँड्नुस्, तपाइँलाई मेरो काम गर्ने वार्ड पनि देखाउँछु,” उनको पछिपछि जाँदै गर्दा आफ्नै (राई) भाषामा उनी दिदीसँग फोनमा खुसी साट्दै भन्दै थिइन्, “ए, समाचारमा हेरेको थियौ ? मैले त्यही सुई लगाएको नि... ।”

एकपछि अर्को आफन्तसँग खुसी साट्ने क्रम चलिरह्यो अनिताको । आइसोलेसन वार्डको चेन्जिङ रुममा पस्दै गर्दा कसैले सोध्यो, “पहिलोपटक खोप लगाउनुभएको हो ?” एकछिन सम्झिएझैँ गरी उनी बोलिन्, “उम... हो नि मैले थाहा पाएदेखि कहिल्यै यस्तो खोप लगाएकी थिइँन ।” अनिता फिस्स हाँसिन्, वरिपरि बसेका सहकर्मीले मुस्कान थपे ।

No description available.

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १५:३७
प्रतिक्रिया दिनुहोस्