site stats
बाह्रखरी :: Baahrakhari
देश
‘नयाँ प्रजातिको भाइरस फैलन नदिन जनस्तरबाटै सजग हुनु जरुरी’, कति जोखिमपूर्ण ?

काठमाडौं । गत पुस १३ गते बेलायतबाट नेपाल आएका ५ जनामा कोरोनाको लक्षण देखियो । परीक्षणमा पाँचैजनाको नतिजा पोजेटिभ आयो । त्यसमध्ये पनि ३ जनामा विशेष लक्षण देखियो । यसबीचमा विश्वका १३ देशमा कोरोनाको नयाँ प्रजाति फैलिइसकेको थियो ।

विश्व स्वास्थ्य संगठनले नयाँ प्रजातिको भाइरस अर्थात् न्यु भेरियन्टको पहिचानका लागि जिन सिक्वेन्सिङ परीक्षण गर्न सुझाएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाका अनुसार नेपालमा हालसम्म जिन सिक्वेन्सिङको अभ्यास भएको छैन र त्यसका लागि विशेष पीसीआर किटको आवश्यक पर्छ, जुन नेपालसँग अहिले छैन ।

Argakhachi Cement Island Ad

यसैकारण प्रयोगशालाले विश्व स्वास्थ्य संगठनको सहयोगमा गत पुस २२ गते संक्रमित ३ जनाको स्वाब जिन सिक्वेन्सिङ परीक्षणका लागि हङकङ पठाएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सोमबार इमेलमार्फत प्राप्त नतिजामा तीनैजनाको नमुनामा नयाँ प्रजातिको भाइरस भेटिएको पुष्टि भएको हो । जसमा २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसमध्ये महिला र ३२ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको र ६७ वर्षीय पुरुष भने अझै पोजेटिभ रहेको मन्त्रालयले जनाएको छ ।

न्यु भेरियन्ट कति जोखिमपूर्ण ?
विश्व स्वास्थ्य संगठनले न्यु भेरियन्टलाई कोरोनाको संक्रामक प्रजातिको रुपमा परिभाषित गरेको छ । यो भाइरस कोभिड–१९ को तुलनामा धेरै छिटो फैलिने संगठनले पुष्टि गरेकै समयमा जनाएको थियो । दक्षिण–पूर्वी इंग्ल्यान्डमा संगठनले गरेको अध्ययनमा ६० वर्षमाथिका अधिकांश कोरोना संक्रमितमा न्यु भेरियन्ट देखिएको थियो । अष्ट्रेलिया, आइल्यान्ड, डेनमार्क, इटली र नेदरल्यान्ड्समा यसको संक्रमण धेरै देखिएको भए पनि विश्वका सबै देशलाई रोकथामको तयारीमा जुट्न संगठनले आह्वान गरेको छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अधिकांश सरुवा रोगहरुको भाइरस निश्चित चरणमा पुगेपछि म्युटेसन हुने गर्दछ । अर्थात् भाइरसले रुप परिवर्तन गर्दै जान्छ । यस्तो प्रकृतिका भाइरसहरु अत्यन्तै तीव्र गतिमा व्यक्तिको शरीरमा प्रवेश गर्छन् । यसरी तीव्र स्पाइक जिन भएका भाइरस एक व्यक्तिबाट अर्कामा सर्दा यसको असर गर्ने क्षमता ७० प्रतिशतसम्म वृद्धि हुन्छ । न्यु भेरियन्ट अत्यन्तै छिटो फैलने प्रकारको भाइरस भए पनि यसले गर्ने असर भने भने कोभिड–१९ जति कडा हुँदैन ।

न्यु भेरियन्टसँग आत्तिने होइन, सजग हुनुपर्छ 
नेपालमा ३ जनामा पहलिोपटक न्यु भेरियन्ट देखिएको हो । उनीहरुको सम्पर्कमा आएका कुनै पनि व्यक्तिमा हालसम्म यसको लक्षण नदेखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला भन्छन्, “न्यु भेरियन्ट देखा पर्दैमा आत्तिइहाल्नुपर्ने होइन, तर सजग भने हुनैपर्छ । यसअघि जुन दरमा कोरोनाभाइरसको संक्रमण देखियो, त्यसलाई नियन्त्रण गर्न सरकारलाई हम्मे–हम्मे परेको थियो । आइसोलेसन र क्वारेन्टिन व्यवस्थापनमा कमजोर देखिएको नेपालका लागि न्यु भेरियन्ट समुदयमा फैलियो भने नियन्त्रण गर्न निकै कठिन हुनेछ । यो छिटो फैलिने प्रकृतिको भाइरस भएकाले समुदायसम्म नपुगोस् भनेर सरकारी अध्ययन–अनुसन्धान र रोकथामको उपाय अपनाउनु जरुरी हुन्छ । त्यस्तै, कोरोनाको जोखिम पनि अझै कायम रहेकाले जनस्तरबाट स्वास्थ्यका मापदण्ड अपनाउन छोड्नु हुँदैन । ” 

बेलायतबाट नेपाल आएका तीनजनामा नयाँ प्रजातिको भाइरस पुष्‍टि 

न्यु भेरियन्ट देखिएसँगै जनस्वास्थ्यका मापदण्ड अपनाउन सरकारको अनुरोध 
नेपालमा न्यु भेरियन्ट पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप उपलब्ध नहुन्जेलसम्म सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्तिमार्फत सकेसम्म भिडभाडमा नजान, जानै परेमा सामाजिक दूरी कायम राख्न, अनिवार्य रुपमा मास्क लगाउन र साबुन–पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न अनुरोध गरेको हो । नेपालमा कोरोनाभाइरसको संक्रमण दर कम भए पनि जोखिम अझै रहेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन अहिले पनि जनस्वास्थ्यविद्हरुले सम्झाइरहेका छन् ।

 

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १७:०७
प्रतिक्रिया दिनुहोस्