
काठमाडौं । सरकाले कोरोनाविरुद्धको खोप नेपाल भित्र्याउन कोभिड १९ भ्याक्सिन द्रुत कार्ययोजना कार्यदल गठन गरेको ६ दिन बितिसकेको छ । त्यसका लागि फरक जिम्मेवारीका साथ आठवटा समिति गठन गरिएको छ । प्रत्येक समितिको कार्यावधि २ देखि ३ तीन सातासम्म छ । जसमध्ये केही समितिको कार्यावधि गुज्रिन लागिसकेको छ ।
पूर्वाधार असिस्मेन्ट तथा आवश्यकता आकलन समितिका एक सदस्य भन्छन्, ‘‘स्वास्थ्य-सचिवकहाँ कार्यदलको कार्यप्रगति ब्रिफिङ गर्न मंगलबार बोलाइएको थियो तर भेटघाट हुन सकेन अब कहिले हुने भने टुंगो छैन । खोप ल्याउन पूर्वाधार व्यवस्थापन नै अहिलेको प्राथमिकता हो ।’’ तर विश्व बैँक र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसहितको ५ सदस्यीय समितिको कार्यप्रगति भने अत्यन्तै सुस्त छ, यही गतिमा काम भए समितिले उपकरण, भण्डारण र आपूर्ति व्यवस्थापनका लागि पाएको जिम्मेवारी तीन सातामा पूरा गर्ने कुनै सम्भावना देखिँदैन ।
अहिलेको पूर्वाधारले प्राविधिक पक्ष
टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा अहिले नौवटा कोल्डरुम चालु अवस्थामा छन् । यसमध्ये माइनस १५ देखि माइनस २५ डिग्री सेन्टिग्रेटसम्म चिस्यान क्षमता भएको भण्डारण कक्ष भने विभागसँग एउटा मात्रै छ । बाँकी सबैमा २ देखि ८ डिग्रीसम्मका खोप भण्डारण गर्न मिल्छ । विश्व स्वास्थ्य संगठनले प्रदान गर्ने भनिएको कोभ्याक्सअन्तर्गतको खोप पहिलो चरणमा अग्रपंक्तिमा खटिएका तीन प्रतिशत कर्मचारीलाई पुग्ने गरी आउनेछ ।
पूर्वाधार असिस्मेन्ट तथा आवश्यकता आकलन समितिका एक सदस्यका अनुसार त्यसका लागि आवश्यक पर्ने १० हजार ५ सय लिटर क्षमताको कोल्डरुम अहिले चालु अवस्थामै छ । दोस्रो चरणमा १७ प्रतिशत जनसंख्या पुग्ने गरी एकैपटक खोप ल्याउनु परे ५३ हजार लिटर क्षमताको कोल्डरुम आवश्यक हुन्छ । त्यसका लागि अहिलेको कोल्डरुम र रेफ्रिजेरेटर भ्यान अपुग हुन आउँछ ।
कमसेकम दुईवटा कोल्डरुम थप्नुपर्ने आकलन गरिए पनि कस्तो प्रकृतिको र कति चिस्यानमा राख्नुपर्ने खोप ल्याउने भन्ने यकिन नहुँदा उपकरण खरिदमा समेत अन्योलता छ । थप खोप भण्डारणका लागि अहिले बनिरहेको औषधि स्टोर कक्षलाई प्रयोग गर्ने योजना गरिएको ती सदस्यको भनाइ छ । यद्यपि निर्माणाधीन स्टोर बन्न अझै तीन महिना लाग्ने निर्माण कम्पनी पशुपति जेभीले जनाएको छ । यसबाहेक प्रदेश २ र कर्णाली प्रदेशमा खोप भण्डारण कक्ष नै छैन । प्रदेश २ का जिल्लाहरूमा यसअघि पनि केन्द्रबाट प्रत्यक्ष खोप वितरण गर्दै आएको थियो भने कर्णाली प्रदेशमा नेपालगन्जबाट निर्यात गर्ने गरिएको छ ।
खोप सचिवालय सदस्य तथा खोप विभाग प्रमुख डा. झलक शर्मा गौतमका अनुसार यी दुई प्रदेशमा कोल्डरुम निर्माण गर्ने योजना प्राथमिकतामा राखिएको छ तर प्रदेश सरकारले जग्गा खरिद र अन्य प्राविधिक पक्षमा काम अगाडि बढाउन सकेको छैन । यी सबै समस्याका बाबजुत खोप आइपुग्ने बेलासम्म भण्डारण र वितरणमा समस्या पैदा हुन नदिने डा. गौतम बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारत सरकारसँग खोप खरिदका लागि सोमबार औपचारिक पत्राचार गरेको जनाएको थियो । पत्राचारमा भारतले खरिद गर्ने भनिएको सेरम कम्पनीका खोप नेपालका लागि पनि सोही मूल्यमा खरिद गरिद गरिदिन प्रस्ताव गरिएको छ । भारतका तर्फबाट बुधबारसम्म यसबारे कुनै प्रतिक्रिया नआएको मन्त्रालय स्रोतले जनाएको छ ।
यसबाहेक चीनले उत्पादन गरेको खोप पनि नेपालको भण्डारण क्षमताका आधारमा मिल्दोजुल्दो भए पनि चीनतर्फबाट ल्याउन कुनै आधिकारिक प्रक्रिया नगरिएको मन्त्रालयका विज्ञ सल्लाहकबार डा. खेम कार्की बताउँछन् । यदि भारतमा सेरम कम्पनीकै खोप प्रयोगमा आए २०२१ को पहिलो महिनाभित्र खोप वितरण सुरु गरिने समाचारहरू आइरहेका छन् । तर नेपालमा भने आन्तरिक तयारी बलियो नहुँदा समयमै खोप आइपुग्नेमा विश्वस्त हुने अवस्था भने छैन ।