site stats
बाह्रखरी :: Baahrakhari
देश
सरकारले भारतसँग कोरोना भ्याक्सिन खरिदका लागि गर्‍यो पत्राचार, त्यहीँको मूल्यमा दिन आग्रह

काठमाडौं । सरकारले भारतसँग कोरोना खोप उपलब्ध गराइदिन आग्रह गर्दै पत्राचार गरेको छ । जिटुजी प्रक्रियाद्वारा भारतसँग कोरोना खोपका लागि आग्रह गरेको हो ।

सरकारका तर्फबाट आइतबार नै भारतलाई पत्राचार गरिएको छ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भारत सरकारले खरिद गर्ने भनेको सेरम कम्पनीको खोपका लागि भारत सरकारसँग आग्रह गर्दै पत्राचार गरिएको बताए ।

Argakhachi Cement Island Ad

“भारतमा पर्ने मूल्यमा नेपाललाई पनि उपलब्ध गराइदिन आग्रह गर्दै पत्राचार गरेका हौं,” उनले बाह्रखरीसँग कुरा गर्दै भने । नेपालको बजेट र पूर्वाधारअनुसार सेरमकै खोप नेपालसँग मिल्दोजुल्दो मानिएको उनको भनाइ थियो । डा. कार्कीका अनुसार सेरम कम्पनीको खोप नेपालमा खाए प्रतिखोप ९ डलर मूल्य पर्न आउँछ । 
सोही रकमको जोहो गर्न अर्थसँग ६० अर्ब रुपैयाँ माग गरिएको डा. कार्कीले बताए ।   

यसअघि कोरोनाविरूद्धको खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग ६० अर्ब रूपैयाँ माग गरेको थियो । मन्त्रालयका एक अधिकारीका अनुसार कोभ्याक्सबाहेकको खोप खरिदका लागि आवश्यक पर्ने सम्पूर्ण बजेट अर्थ मन्त्रालयले नै व्यवस्थापन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदका लागि अर्थसँग ६० अर्ब रूपैयाँ माग गरेको हो । 

आर्थिक वर्ष ०७७–७८ को बजेटबाटै ६० अर्ब कोभिडका लागि थप खर्च गरिने अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । नेपालमा हाल २ देखि ८ डिग्री सेल्सियससम्मको खोप भण्डारण गर्न सक्ने कोल्डचेनहरू रहेकाले सेरमकै खोप ल्याउने तयारी गरिएको स्रोतले जानकारी दियो ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १४:२०
प्रतिक्रिया दिनुहोस्