
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबारदेखि एन्टिजेन विधिबाट कोरोनाको परीक्षण थालिएको छ । संक्रमितको पहिचान गर्न छिटो र सजिलो हुने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो परीक्षणलाई प्राथमिकता दिएको हो । कोरोनाभाइरस संक्रमणको ‘हटस्पट’हरुमा यो विधि प्रभावकारी हुने मन्त्रालयको दाबी छ ।
बुधाबारसम्म काठमाडौंका विभिन्न स्थानमा एक हजार २०० जनाभन्दा बढीको एन्टिजेन विधिबाट परीक्षण भइसकेको छ ।
कोरोनाको परीक्षणमा यो विधिको प्रयोग विश्वभर नै विवादको विषय बनेको छ । सन् २०२० को सुरुआतबाटै विश्वका धेरै देशमा कोरोना संक्रमण महामारीको रुपमा फैलिन थालेपछि नतिजा परीक्षणका लागि यो विधि प्रयोगमा आयो । तर, एन्टिजेनले दिने नतिजा विश्वसनीय नभएको भन्दै धेरै मुलुकहरु यो विधिको प्रयोगबाट पछि हटे ।
कति भरपर्दो ?
कुन विधि कति विश्वसनीय भन्ने कुरा किटको टेस्ट ‘सेन्सिभिटी’ले निर्धारण गर्छ । टेस्ट सेन्सिभिटी भनेको नमुनामा भएको रोग वा संक्रमण पुष्टि गर्नसक्ने किटको क्षमता हो । एन्टिजेन किटमा टेस्ट सेन्सिभिटी औसतमा ५० देखि ८० प्रतिशतमात्र हुने भएकाले यसलाई विश्वका धेरै राष्ट्रले अस्वीकार गरेका हुन् । ‘पीसीआर’ विधिमा टेस्ट सेन्सिभिटी १०० प्रतिशत हुने बताइन्छ ।
बेल्जियममा गएको अगस्टमा प्रयोग गरिएको एन्टिजेन विधिमा टेस्ट सेन्सिभिटी एकदमै न्यून अर्थात् ३०.२ प्रतिशतमात्र भेटिएपछि कोरोनाको परीक्षणमा पीसीआर विधिलाई नै अघि सारिएको थियो । छिमेकी राष्ट्र चीन, जसले आफैं एन्टिजेन किट उत्पादन गर्छ । तर, चीनका कुनैपनि ल्याबमा यो किटबाट कोरोनाको परीक्षण गरिएन ।
हङकङमा गएको जुलाइमा कोरोना संक्रमितको पहिचानका लागि एन्टिजेन विधि प्रयोग गरिएको थियो । जसमा यसको सेन्सिभिटी पीसीआर परीक्षणको भन्दा ४५.७ प्रतिशतले कम देखिएको थियो । भारतमा गएको सेप्टेम्बरमा एन्टिजेन विधि प्रयोगमा ल्याइयो । तर, एन्टिजेनमा नेगेटिभ रिपोर्ट आएका ३७ प्रतिशत व्यक्तिहरुको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि भारतले यो परीक्षणमा रोक लगायो ।
२५ अगस्ट २०२० मा ‘जर्नल अफ क्लिनिकल भाइरोलोजी’मा प्रकाशित एक लेखकाअनुसार एन्टिजन परीक्षणमा देखिने ३० मध्ये आठ नतिजा गलत पाइएको उल्लेख छ । कोरोना परीक्षणका लागि छिटो एवम् बजेटमैत्री मानिएको एन्टिजेन टेस्टको सबैभन्दा अविश्वसनीय पक्ष भनेको यसले नमुनामा थोरै मात्रामा भएको संक्रमणलाई नदेखाउने विज्ञ बताउँछन् ।
वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. राजेन्द्र बिसी भन्छन्, “एन्टिजेनको नतिजा भरपर्दो नभएको होइन, किटहरुको संरचना नै यस्तै हुन्छ । यसले पीसीआरलेजस्तो थोरै मात्रामा भएको संक्रमणको मात्रालाई देखाउँदैन । पीसीआर किटले २०० देखि ५०० सम्म रिडक्सन लेभल भए पोजिटिभ नतिजा देखाउँछ भने एन्टिजेनले एक हजारभन्दा माथि भएमात्रै पोजिटिभ देखाउँछ ।”
बजेटमैत्री, थोरै समयमा धेरै नमुना परीक्षण गर्न सकिने तथा छिटो नतिजा आउने भएका कारण नेपालले यो परीक्षणलाई प्रयोगमा ल्याएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । काठमाडौंमा अहिले प्रयोग भइरहेका एन्टिजेन किटहरु विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त भएकाले यसको विश्वसनीयतामा प्रश्न नउठाउन उनको आग्रह छ । यद्यपि, एन्टिजेनको रिपोर्टलाई मान्यता दिन सरकारले पहल भने गरेको छैन ।
जनस्वास्थ्यविद्हरुको भनाइ र अन्तर्राष्ट्रियस्तरमा भएका परीक्षणलाई नै आधार मान्ने हो भने लक्षण नदेखिएका कुनैपनि कोरोना संक्रमितको नतिजा एन्टिजेनले पोजिटिभ देखाउँदैन । यस अर्थमा उनीहरु स्वस्थ प्रमाणित भएर समुदायमा घुलमिल हुन जाँदा संक्रमणको दर झनै बढ्ने जोखिम हुन्छ । यसमा सरोकारवालाहरुले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् ।
जनस्वास्थ्यविज्ञ डा. बिसी भन्छन्, “जहाँसम्म नतिजा सार्वजनिक गर्ने सवाल छ, अहिलेसम्म सरकारी र गैरसरकारी क्षेत्रमा समेत पीसीआर रिपोर्टलाई नै आधिकारिक मान्दै आइएको छ । अबको हकमा सरकारले नै एन्टिजेन टेस्टबाट संक्रमितको पहिचान गर्ने हो भने एन्टिजेन रिपोर्टलाई मान्यता दिने प्रक्रिया सुरु गर्नुपर्छ ।”
उनी अगाडि थप्छन्, “यदि, मान्यता दिन सकिँदैन भने करोडौं खर्च गरेर विदेशबाट एन्टिजेन किट मगाइयो किन ? संक्रमितको दर घट्यो र हामी कोरोना नियन्त्रणमा सफल हुँदैछौं भनेर जनताको आँखामा छारो हाल्नमात्रै हो ?”
के हो एन्टिजेन परीक्षण विधि ?
एन्टिजेन विभिन्न सरुवारोगको नतिजा परीक्षणमा प्रयोग हुने एउटा विधि हो । किटद्वारा परीक्षण गरिने यो विधिमा नतिजा चाँडो आउँछ । विश्वका धेरै मुलुकले एन्टिजेन विधि प्रयोगमा ल्याएका छन् ।