site stats
बाह्रखरी :: Baahrakhari
देश
टाउकोमा दुईवटा प्वाल भएको अवस्थामा गैंडा मृत फेला 

चितवन । चितवन राष्ट्रिय निकुञ्‍जमा गैंडा मृत फेला परेको छ । नारायणी नदीको टापु लौखानी नजिकै पर्ने रातोपानी घोलमा डुबेको अवस्थामा मृत गैंडा भेटिएको निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए  । 

अन्दाजी २० बर्षको देखिने उक्त गैंडाको टाउकोमा दुईवटा प्वाल भएको अवस्थामा आइतबार भेटिएको हो  । "नदीको किनारामै डुबेको अवस्थामा मृत भेटिएको हो । टाउकोमा गोली लागेको जस्तो पनि देखिन्छ । घटना शंकास्पद छ । खाग सुरक्षित नै रहेकोले प्राकृतिक कारण हो वा अन्य कारणले मरेको हो भन्‍ने अनुसन्धानमै छौ," उनले भने । आइतबार गैंडा मृत भेटिए पनि घटनाको विवरण आजमात्र निकुञ्‍जले सार्वजनिक गरेको हो । 

निकुञ्‍जको कार्यालयबाट टाढा रहेकोले गैंडा करिब एकसाता अघि नै मरेको अनुमान गरिएको छ । निकुञ्‍जमा २०७३ सालयता कुनै पनि गैंडा तस्करहरूले मार्न सकेका थिएनन् । गत महिना हावाहुरीका कारण ढलेको रुखले च्यापेर एक गैंडाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  २०:१५
प्रतिक्रिया दिनुहोस्