site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आयल निगमको योजना : भण्डारण बढाउने, कर्पोरेट भवन बनाउने र केरुङबाट पाइपलाइनमा तेल ल्याउने

काठमाडौं । नेपाल आयल निगम पूर्वाधार विस्तारमा आक्रामक बनेर अघि बढेको छ । निगमले चालु आर्थिक वर्षमा पेट्रोलियम भण्डारण, इन्धन व्यवस्थापन, डिपोको क्षमता विस्तार, भवन निर्माण, आपूर्ति तथा ढुवानी, ग्यास बोटलिङ प्लान्ट निर्माणलगायत कार्यमा अगाडि बढाउने भएको हो ।

नेपाल आयल निगमले चालु आर्थिक वर्षलाई पूर्वाधार निर्माणको वर्ष बनाउने योजनामा छ । भण्डारण क्षमता विस्तार गर्दै आयल निगमले यस आर्थिक वर्षमा कम्तिमा एक महिनालाई पुग्‍ने बनाउन लागेको हो । यो कार्य तीन महिनालाई पुग्‍ने भण्डारण कक्ष बनाउने निगमको योजनामा पहिलो खुड्किलो हुनेछ ।

चालु आवमा निगमले पोखरामा १० हजार किलोलिटर (केएल)को डिजेल भण्डारण कक्ष बनाउँदै छ । यसैगरी पोखरामै ३६ सय किलोलिटर हवाई इन्धन भण्डारण कक्ष पनि पोखरामै बन्दै छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल बन्दै गरेको भैरहवामा १० हजार केएल हवाई इन्धन भण्डारण कक्ष विस्तार गर्ने निगमको योजना छ । भैरहवामै ३ सय ५० केएलको अन्डरग्राउन्ड रिफ्युलिङ प्लान्ट बनाउने योजना रहेको छ ।

Argakhachi Cement Island Ad

यही आर्थिक वर्ष निगमले १४ रिफ्युलर तथा दमकल किन्‍न लागेको छ । दाङ, जनकपुर तथा चन्द्रगढीमा बन्डेड ट्याकीं निर्माण पनि यही वर्ष सुरु हुनेछ । जसबाट रिफ्युलिङ गरिन्छ ।

आयल निगमले तत्कालका लागि कम्तिमा एक महिनालाई पर्याप्त हुने भण्डारण कक्ष बनाउने गरी योजना अघि बढाएको हो । जसका लागि आर्थिक विकास, जनसंख्या, इन्धनको वैकल्पिक स्रोतको उपयोग र दिगो विकास लक्ष्य समेतका आधारमा आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरिने छ । 

पहिलो चरणमै चितवन, झापा, सर्लाहीमा भण्डारण गृह निर्माण हुनेछन् । यस्तै सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाउने निगमको योजना छ । यी सबै काम चालू आर्थिक वर्षमै सुरु हुने छ ।

यसका लागि करिब ५ अर्ब रुपैयाँ बजेट आवश्यक पर्छ । निगमका स्रोत भन्छ, “नीति तथा कार्यक्रममा रहेका इन्जिनियरिङ निर्माणतर्फ करिब ५ अर्ब रुपैयाँ आवश्यक पर्छ ।” यो रकम भण्डारण क्षेत्र विस्तार, ग्यास बोतलिङ प्लान्ट, सम्भाव्यता अध्ययन, डिपो क्षमता विस्तार तथा कर्पोरेट भवन निर्माणलगायत पूर्वाधार संरचना थप गर्न आवश्यक पर्ने छ । सो रकम इन्जिनियरसँग सम्बन्धित निर्माणमा चालू आवमै खर्च गर्ने योजना निगमको छ ।

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय बिमानस्थलमा हवाई इन्धन व्यवस्थापनका लगि पूर्वाधार तयार गर्ने निगमको नीति तथा कार्यक्रममा उल्लेख छ । चन्द्रगढी, जनकपुर र दाङ बिमानस्थलमा हवाई इन्धन व्यवस्थापनका लागि पनि पूर्वाधार तयार गर्ने निगमको योजना त्यसैमा उल्लेख छ । अन्य बिमानस्थलमा हवाई इन्धन व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको सम्भाव्यता अध्ययन निगमले जनाएको छ ।

नेपाल आयल निगमको वार्षिक योजनामा हाल सञ्चालनमा रहेका डिपोको क्षमता विस्तार गर्दै लैजाने उल्लेख छ । जसअनुसार थप जग्गा प्राप्ति गरेर थानकोट डिपोमा पार्किङ लगायतका पूर्वाधार संरचना निर्माण गरिने भएको छ ।

भण्डारणलाई विस्तार गर्न मट्टितेल भण्डारलाई डिजल वा पेट्रोल भण्डारण गर्न लागिने भएको छ । जसअनुसार मट्टीतेलको मागअनुसारको न्यूनतम मौज्दात मात्र राखिनेछ ।
यसैगरी यही आर्थिक वर्षमा हाल सञ्चालनमा रहेका इन्धन डिपो तथा हवाई इन्धन डिपोलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बनाइनेछ । जसअनुसार पुनः संरचनाको म्यापिङ गर्ने, प्राविधिक अवस्थाको एकिन गर्ने, सुरक्षा तथा वातावरणीय स्थितिको आँकलनका आधारमा रिइन्जिनियरिङ गर्ने बताइएको छ ।

यसैगरी काठमाडौंको टेकुमा पेट्रोलियम हब स्थापना गरिने भएको छ । जसको पूर्वाधार निर्माण कार्य यही वर्ष अगाडि बढ्ने भएको हो । निगमले यसैवर्ष नेपालगञ्जमा रहेको आफ्नो जग्गामा पेट्रोल पम्प निर्माण गर्ने छ  भने झापा र घनुषामा रहेको जग्गामा ग्यास बोटलिङ प्लान्ट निर्माण कार्य गर्ने छ । निगमले देशका अन्य स्थानमा पेट्रोल पम्प तथा ग्यास बोटलिङ प्लान्ट निर्माण तथा सञ्चालन गर्न आवश्यक प्रकृया सुरु गर्ने बताएको छ ।

यसो त, निगमको केन्द्रीयको कर्पोरेट भवनको निर्माण पनि चालु आर्थिक वर्ष नै सुरु हुने बताइएको छ । कार्यालयलाई व्यवस्थित तथा आधुनिक बनाउन भवन निर्माण यही वर्ष सुरु गरिन लागेको हो । सो भवन हाल केन्द्रिय कार्यालय भएकै स्थानमा बन्नेछ । हाल बबरमहलबाट हुँदै आएका काम आवश्यकता अनुसार अन्य स्थानबाट जारी राखिने निगमको योजना छ ।
निगमले व्यवस्थित कर्मचारी आवास (होस्टेल)को निर्माण प्रक्रिया पनि सुरु गर्न लागेको छ ।

भारतपछि चीनबाट पनि पाइपलाइनमार्फत तेल

निगमको वार्षिक नीति तथा कार्यक्रममा बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने योजना छ । यही वर्ष भारतको सिलिगुडीदेखि नेपालको झापा चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाउने निगमले जनाएको छ ।

चीनको केरूङदेखि नेपालको रसुवागढी हुँदै नुवाकोटसम्म पेट्रोलियम पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन पनि यही वर्ष गर्ने निगमको योजना छ । जसका लागि चीनसँग फ्रेमवर्क सम्झौताको तयारी पनि हुने बताइएको छ ।

निगले पेट्रोलियम पाइपलाइन पेट्रोलिङको प्राविधिक मापदण्ड तयार गरी अन्तर्राष्ट्रिय प्रचलनअनुसार पाइपलाइनको प्राविधिक सुरक्षा सुनिश्चित गर्ने दाबी गरेको छ । सञ्चालित पाइपलाइनको भौतिक सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने कामले यो वर्ष पनि निरन्तरता पाउने भएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  २०:२२
प्रतिक्रिया दिनुहोस्