site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
 विवाहित पुरुषको लकडाउन डायरी

कोभिड —१९ का कारण ‘लकडाउन’ सुरु भएयता मेरो दैनिकी पनि अरू पुरुषहरुको जस्तैगरी प्रभावित भयो  ।  पीडित त म पहिले पनि यसै थिएँ नै  । अझ जन्मैदेखि थिएँ भन्नु पर्ला  । तर पनि मभन्दा अगाडि नै कुल धान्ने दिदी जन्मिसकेकाले सायद मेरा मातापिताले धेरै दुःख मनाउ गर्नुभएन होला म जन्मिएमा  ।  जे होस्, म जन्मिन पाएँ, यो धर्ती देख्न पाएँ  ।  म यसैमा खुसी छु  ।  

बाल्यकाल रमाइलोसँगै बिते  ।  साथमा  दिदीसँगै हुने भएकोले कतै हिँडडुल गर्न पनि कठिन भएन  । स्कुल जाँदा आउँदा, खेल्दा, बजार जाँदा अलि ठूला केटीहरुले नजिस्क्याएका त होइनन् तर दिदीको नाम लिएपछि डराई हाल्थे । क्याम्पस पढ्दा  म्यामहरुले पनि अलि नजिक हुन खोजेजस्तो चाहिँ गरेका थिए ।  तर, व्यक्तिगतरुपमा  मलाइ खासै असर परेन । मजस्तै हुर्किंदै गरेका केटाहरुलाई भने असर पनि परेको थियो । यी त भए उबेलाका कुरा । अब सुरु गरौँ अहिलेका कुरा ।  याने कि लक डाउनका नयाँ कुरा । 

लक डाउन सुरु भएपछि बच्चाहरु स्कुल जान पाएनन् ।  श्रीमती जी पनि अफिस जान पाउनु भएन ।  बच्चाहरु जुनसुकै बेला पनि बाबा भोक लाग्यो,  खानेकुरो केही छैन भन्ने ।  श्रीमती अब यसो चिया खान पाए हुन्थ्यो भन्ने ।  चिया पकाएर दियो अब त खाजा बनाउन सुरु गर्दै गरे हुनेथियो नि भन्नुहुन्छ ।  बरु लकडाउन पहिले श्रीमती  साथीहरुसँग बिहानबेलुका चियाचुरोट खान चोकतिर पसलमा गफमा भुल्दा केही आराम हुन्थ्यो ।  घरीघरी चिया पनि पकाइरहनु त पर्थेन । महिलाहरुका देश समाज परिवर्तन गर्ने राजनीतिक  गफ,  टोल वरपरका राम्रा राम्रा केटा, फिलिमका हिरो, गायक, मोडेल केटाहरुका कुरा  पनि उतै चिया पसले दाइले मात्रै सुन्थे । अब त कहिलेकाहीँ  टोलका दिदीबहिनीलाई पनि चिया खान  श्रीमतीले घरैमा बोलाउन थाल्नुभयो ।  आफूलाई बिहानको धन्दा गर्दैमा ढिलो हुने  ।  लुगा धुनु,  घर सफा गर्नु त छँदै छ किनमेल पनि गर्नै पर्ने । किनमेल गर्न जाँदा अलि राम्रो भएर गयो भने सबैले ओहो कस्तो ‘हेन्सम’ भएर हिँडेको भन्ने  ।  त्यत्तिकै गयो भने के सारो फुङ्ग भएको भन्ने । छिमेकी दिदी बहिनीहरुसँग भेट्यो, भिनाजु  तपाईँकोमा चिया खान आउन मन थियो भन्ने । केही लाजले, केही रिसले रातोपिरो हुँदै छिटो छिटो घर फर्किन्छु ।   

एकैछिन टेलिभिजन खोलेको  एक जना नेताको अन्तर्वार्ता आइरहेको थियो ।  उनी भन्दै थिइन् — “नेपालमा पुरुषको हक अधिकार स्थापित नभएको भन्न मिल्दैन । तर, नागरिकताको हकमा पिताको नामबाट नागरिकता दिँदा राष्ट्रियता खतरामा पर्न सक्छ ।  पुरुषहरुले आरक्षण खोजेरमात्र हुँदैन । महिला सरह हुन पनि सक्नुपर्छ । “ हामी पुरुषको नामबाट नागरिकता दिँदा राष्ट्रियता कसरी कमजोर हुने हो भन्ने चाहिँ उनले भनेनन् ।   

अर्की नेताले थपिन् — “पुरुषलाई चाहिने जति अधिकार दिइसकिएको छ ।  पुरुषहरुले महिलाले जसरी नै अधिकार मागिरहनु  हँुदैन । यो उनीहरुकै भलाइका लागि गरिएको हो  । संविधानमै ३३ प्रतिशत उल्लेख गरिसकियो त । यो छोरो मान्छेको जातलाई जति भए पनि नपुग्ने भन्या  । जातै नहुनि ।  यो सुनेर चिटचिट पसिना आयो । भाउन्न भयो ।  रिगँटा लागेर आयो ।  हतारहतार टेलिभिजन बन्द गरेर बाहिर कौसीतिर निस्कें ।

बाटोमा लकडाउन पालन गराउँदै हिँडेका केटीहरुका हुल देखिए । कसैका  हातमा लट्ठी थियो । कोही चुरोटको धुवा उँडाएर चर्को स्वरले बोल्दै  थिए ।  अत्यावश्यक सामान  किन्न वा जरुरी कामले हिँडेका मनुवाहरुलाई ती केटीहरु सातो लिन्थे । कतिपय साइकल, मोटर साइकलहरुलाई जताबाट आएको हो उतै फर्काइदिन्थे  । ती केटीहरुका शब्दहरु सुनेर फेरि लाजले रातोपिरो हुँदै म फेरि भित्रै छिरेँ ।

घरमा छोराछोरी कहिले अनलाइनमा पढेका कुरा गर्दै थिए त कहिले मोबाइलमा गेम खेल्दै  थिए ।  श्रीमती फेरि भान्साबाट आँखा मोबाइलको फेसबुकमा डुलाउँदै  कराउनु भयो — “ ए बूढा ! तिम्ले बसालेको दाल त डढ्यो जस्तो छ, गन्ध आइरा‘छ ।’’  म फेरि भान्सातिर दौडिएँ ।  डढेको दालको गन्ध ह्वास्स आयो । यता  टेलिभिजनमा बजिरहेको थियो — “घरमै बसौँ, लकडाउन पूर्णरुपमा पालना गरौ ।’’
 

प्रकाशित मिति: सोमबार, असार १, २०७७  १९:३७
प्रतिक्रिया दिनुहोस्