site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘अनपढ’ले व्यवस्था बदले, पढेकाले मुलुक बदलून् !

पश्चिम नेपाल, अर्घाखाँचीको धनचौर । तर गाउँ ‘धनचौर’ थिएन । गाउँ अभाव र विपन्नताको बिम्ब बनेर उभिएको थियो । अशिक्षाको जगमा । त्यहीँ जन्मिए बेदुराम भुसाल, विक्रम सम्वत् २०११ मा ।

तिनताक अर्घाखाँचीमा विद्यालय थिएनन् । गुरु–आश्रम थिएनन् । पढेलेखेका मान्छे थिएनन् । पढ्ने चेतना पनि सुषुप्त थियो ।

एकाध घरमा दुर्गा सप्तशती, श्रीमद्भागवत्का अनुष्टुप छन्द गुञ्जन्थे । त्यत्तिले मात्रै चेतनाको दियो सल्काउने कुरा भएन ।

भुसालको परिवार मध्यवित्तभन्दा केही माथिको थियो । तिनताक आफ्नै आयस्ताले बाह्रमहिना हातमुख जोड्ने परिवार मध्यम आयको मानिन्थ्यो ।

भुसालको परिवार केही उकासिएको थियो । खेतीको आयस्ताले वर्षभरि खान पुगेर केही उब्रन्थ्यो । उब्रिएको अनाज बेचबिखन गरेर परिवारले, दसैं–तिहार, तिथि–पर्व मान्थ्यो । गर्जो टार्थ्यो ।

स्कुल–गुरुकुल नभएकाले गाउँका केही ‘सज्जन’ हरूले ‘मास्टर’ ल्याएर राखेका थिए । तिनै मास्टरले भुसाललाई कखरा सिकाए । अक्षरसँग नाता गाँसिदिए ।

गाउँका परपीडकहरू मुसाले झैं शान्ति, अमनचयन खनी–खोस्री रहन्थे । उनीचाहिँ मुसाले खनेको माटो जम्मा पारेर तिनैमा रहर कोर्थे । कल्पनाको अक्षर उतार्थे । ज्ञानको चक्षु चहकिलो बनाउने चेष्टा गर्थे ।

सुरुमा उनले भुइँको धूलोमा अक्षर लेख्न सिके । त्यसपछि  पाटी÷धुलेटो थपियो । कक्षाको खुट्किला चढ्दै गएपछि धुलेटोमा मात्र उनका अक्षर अटाएनन् ।

“तिनताका धनचौरमै एकजनाले खुद्रा पसल खोलेका थिए । छोराहरूले पढ्न थालेपछि बुवाले भन्नु भएछ– अब कापी पनि राख्नूस् । उनले कापी राख्न थाले । हाम्रा अक्षर झ्याङ्गिदै गयो,” भुसाल सावाँ अक्षर चिन्दाको क्षण सम्झन्छन् ।

केही वर्षपछि गाउँमा प्राथमिक स्कुल त आयो । स्कुल आउँदा उनले साँवा अक्षर छिचोलिसकेका थिए । स्कुलले ज्ञानको आयतनलाई केही बढाइदियो ।

एकाध वर्षमै प्राथमिक तह पूरा भइहाल्यो । त्यसपछि चढ्ने खुट्किलो भएन । भुसालको पाइला रोकियो ।

ठूलो बुवाको छोरीको घर सदरमुकाम नजिकै थियो । लेख–पढमा रुचि भएकै परिवार हुनाले शिक्षाको महत्त्व बुझ्थे ।

माइत आएका बेला उनले भनिन्– “एकजना भाइलाई म लगेर पढाउँछु ।”

आफू जान पाइएला भनेर सोच्दै थिए । दाजुले उछिने । दाजु पीताम्बर भुसाल पढाइमा विलक्षण थिए । जेठो दाइले पालो पाइहाले । उनको रहर चिसियो ।

किताब–कापीको सम्पर्कमा पुगेका पीताम्बर कम्युनिस्ट पार्टीको सम्पर्कमा पनि पुगे । तिनताक लुम्बिनी अञ्चल कम्युनिस्ट पार्टीका लागि उर्बर भूमि थियो । सङ्गठनको आयातन–फैलाओट बढ्दो थियो । चेतनाको राप फिँजिदो थियो ।

पुष्पलालले नेतृत्व गरेको नेकपाको सम्पर्कमा पुगेछन् । एसएलसी दिएर गाउँ फर्कंदा कम्युनिस्ट आन्दोलनको फिलिङ्गो पनि लिएर गए ।

एसएलसीको परीक्षा सकेर गाउँ फर्किएका जाज्वल्यमान युवा । परीक्षाको परिणाम ननिस्कँदै प्राथमिक शिक्षक नियुक्त भइहाले । २०२७ सालताका ।

दाजु गाउँ फर्किएपछि शिक्षाको चिराग पनि भित्रियो । उनले गाउँका केही सक्रिय युवा भेला गरे । र, उद्घोष गरे– “अब गाउँमा मिडल स्कुल खोल्नुपर्छ । अब पढ्ने केटा हो ।”

प्राथमिक स्कुल बढुवा भएर जनजागृति मिडल स्कुल बन्यो ।

नजानिँदो तवरले बेदुराम पनि पार्टीमा आबद्ध भएछन् ।

तिनताक कम्युनिस्ट नेकपा संस्थापन समूह पुष्पलालको नीति नै थियो– गाउँ–गाउँ जाने विद्यालय खोल्ने । क्रान्तिको दियालो सल्काउने ।

बालबच्चा पढाएपछि किसानलाई आकर्षित गर्न सकिन्छ । किसान आकर्षित नहुँदासम्म कम्युनिस्ट आन्दोलन फैलँदैन भन्ने नेकपाको निचोड पनि थियो ।

“त्यतिबेला पुष्पलालको नारा नै थियो, ‘पार्टीलाई किसानका बीचमा बसोबास गराऊ ।’ अतः पार्टीलाई किसानका बीचमा पुर्‍याउन सेतुको भूमिका निर्वाह गथ्र्यो शिक्षाले ।” शिक्षासँगै राजनीतिको कखरा सिक्दाको क्षण सम्झन्छन्, बेदुराम ।

पार्टीमा आबद्ध नेता–कार्यकर्ताले स्वयम्सेवी ढंगले विद्यालय खोले र पढाए पनि । भुसाल त्यही ‘राजनीति पाठशाला’ को सदस्य–शिक्षार्थी बने । शिक्षा र राजनीति समानान्तर रूपमा अघि बढ्यो ।

उमेरमा पाको भएकाले मिडल स्कुल पढ्दा नै उनी विद्यार्थी संगठनको नेतृत्वकर्ता बने । पार्टीको सेल कमिटीमा हर्ताकर्ता पनि ।

गाउँका सोझा, निमुखा, विपन्नको भाग्य, भविष्य जाली तमसुकमा कैद थियो । ऋणको भारीले थिचिएकाले जीवन क्रमशः अधोगतितिर उन्मुख थियो ।

एक किसिमले भन्ने हो भने गाउँ शोषक, सामन्त, जाली फटाहाहरूको चङ्गुलमा थियो । बेदुरामले उनीहरूलाई समाजको प्रगतिको बाधक देखे । कम्युनिस्ट आन्दोलनका अवरोधक ठाने । र, उनीहरूविरुद्ध आन्दोलन छेड्ने निष्कर्षमा पुगे ।

२०३० साल कात्तिक २६ गते लुम्बिनीमा ठूलो किसान र्‍याली आयोजना भयो । सबै जिल्ला सदरमुकाममा किसानको जुलुस निस्कियो । विरोध प्रदर्शन होइन विद्रोहकै रूप लियो ।

अर्घाखाँचीको जुलुसको नेतृत्व बेदुरामले गरे । सदरमुकाम नरपानीमामात्रै करिब पाँच हजारको जुलुस निस्किएको थियो, त्यतिबेला ।

लुम्बिनी अञ्चलको सफल किसान आन्दोलनपछि पुष्पलाल समूह उत्साहित भयो । आन्दोलनमा नयाँ गति पैदा भयो ।

उनी त्यतिबेलाको निचोड सुनाउँदै भन्छन्, “विशाल जुलुसको नेतृत्व गरेपछि हामी के निष्कर्षमा पुग्यौं भने, जनता सबै कम्युनिस्ट पार्टीमा आबद्ध भइसके । पुरानो  सत्ता धर्मराइसकेको छ । यसलाई सजिलै फाल्न सकिन्छ । यसलाई हुत्याउनका लागि हतियारबन्द आन्दोलनको जरुरी छ ।”

उनीहरू ‘गुरिल्ला एक्सन’ को निष्कर्षका पुगे । पुष्पलाल नेतृत्वको लुम्बिनी अञ्चलनको कम्युनिस्ट आन्दोलन सशस्त्र सङ्घर्षको बाटोतिर अघि बढ्यो ।

गुरिला ‘स्क्वाड’ गठन भयो ।

त्यसभन्दा पूर्व, २०२९ सालमै पुष्पलाल समूहको नेतृत्वमा भएको चौथो सम्मेलनमै ‘दीर्घकालीन सशस्त्र सङ्घर्षको बाटोबाट अघि बढ्ने’ भनेर कार्यदिशा पारित गरेको थियो ।

त्यसभन्दा अघि किसानहरूलाई गोलबद्ध गर्ने र आन्दोलित तुल्याउने रणनीति समेत पार्टीले तयार गरेको थियो ।

पार्टीले ‘सामन्त’ विरुद्ध एक्सनको घोषणा गर्‍यो । गुरिल्ला दस्ता तयार भयो ।

त्यसको अङ्ग बने बेदुराम ।
 

बर्रे सङ्घर्षको व्युत्पादन

लुम्बिनी अञ्चलको कम्युनिस्ट आन्दोलन फस्टाउनमा बर्रे सङ्घर्षको अक्षुण्ण योगदान छ । पूर्वकोसी प्रान्तीय कमिटीअन्तर्गतको झापा जिल्ला कमिटीले सुरु गरेको ‘वर्गशत्रु खतम’ अभियानले पूर्वमा आगो सल्काएको थियो ।

पश्चिमको डढेलो बर्रे सङ्घर्षले सिर्जना गर्‍यो । तिनताक बर्रेमा रविलाल बेलबासेको परिवारलाई कम्युनिस्टहरूले ‘वर्गशत्रु’ करार गरेका थिए । “जाली तमसुक बनाएर गाउँलेलाई दुःख दिने र झुटा मुद्दा लगाएर कम्युनिस्टलाई दुःख दिनमा उनी माहिर मानिन्थे । उनकै कारण देवराज भारले खुब दुःख पाए । भारलाई झुटा मुद्दामा पक्राउ गरिएको थियो । पछि उनी हिरासतबाटै टाप ठोके,” बेदुराम बर्रे सङ्घर्षको गर्भमा पस्छन् ।

रविलाल बेलबासे र उनका छोरा शोभाकर बेलबासे जिल्लाका धनाढ्य मानिन्थे । प्रशस्त जग्गा–जमिन, आयस्ताका अतिरिक्त घरमा सुनचाँदी पनि प्रशस्तै रहेको अनुमान गरिएको थियो ।

बेदुरामको समूहले उसैको घरबाट सशस्त्र सङ्घर्षको सुरुआत गर्ने निष्कर्ष निकाल्यो ।

तर, व्यक्ति हत्याको योजनामा भने उनीहरू थिएनन् । हात हतियारको जुगाड गर्ने नीति भने पार्टीको थियो ।

रविलालका छोरा शोभाकर जिल्ला पञ्चायतको सदस्य पनि भएकाले रेकी आवश्य पर्थ्यो । उनीहरूले केही दिनपूर्व नै रेकी गरेर घरमा क–कसको आउजाउ छ, सबै सूचना लिएका थिए ।

योजनामुताविक २०३० को फागुन २८ गते उनीहरू अर्घाखाँचीको बर्रे पुगे । गुरिल्लाका कमान्डर थिए केशरमणि पोखरेल । पीताम्बर भुसाल र देवराज भार सहकमान्डरको भूमिकामा थिए । बेदुरामलगायत झण्डै १२ जना त्यसको सदस्य थिए ।

संयोग नै भनौं त्यसदिन रविलाल घरमा रहेछन् । गाउँमा रात बस्ने बिहे भइरहेकाले त्यतै लागेछन् ।

मध्यरात पुगेको गुरिल्ला समूहमध्ये कोहीले घर घेरा हाल्यो । कोही जस्केलाबाट भित्र पसे । कोही मूल ढोकाबाटै भित्र पसे । मस्त निद्रामा रहेका परिवारका सबै सदस्य ब्युँतिए । ज¥याकजुरुक उठे ।

आँखा मिच्दै उठेका सबै सदस्यलाई एउटा कोठमा थुने । छोरालाई सबै चोटा कोठामा पुर्‍याउँदै भने– “कहाँ के–के छ ? निकाल् !”

मुखमा मास्क लगाएका गुरिल्ला देखेपछि उनी थरहरी भए । लुगलुग काम्दै कागजपत्र र भएजति सुनचाँदी देखाइदिए । गुरिल्लाहरूले कब्जामा लिएहाले ।

तर, जति खोज्दा पनि बन्दुक फेला परेन । एउटा मिसन अपूर्णै रह्यो ।

“बन्दुकचाहिँ कब्जा गर्ने मुख्य ध्येय थियो,” आज सम्झिँदा पनि बेदुराम उस्तै रोमाञ्चित हुन्छन् ।

‘बर्रे सङ्घर्ष’ आंशिक रूपमा सफल भएपछि थप विद्रोहको तयारीमा जुटेको थियो बेदुराम सदस्य रहेको स्क्वाड । मथिङ्गलमा क्रान्तिको ज्वारभाटा ल्याउने रूमानी सपना झाँगिदो थियो ।

चैत मसान्त । गर्मीले निसास्सिएका चराचुरुङ्गीहरूको चिच्याहट थियो । शान्त पर्यावरणको ध्यान भङ्ग भएजस्तो भान हुन्थ्यो ।

बिहानीपख । बेदुरामको कानमा बाबुको आवाज बज्र झैं ठोक्कियो । क्रान्तिको आगो सल्काइसकेकाले उनी आँखाको ढकनी उघारै राखेर सुत्थे । त्यसदिन त कान पनि चनाखै रहेछ । के आपत् आइलाग्यो भनेर उनले ढोका खोले ।

पालीको ढोका खोलेर हेर्नेबित्तिकै उनका नौनाडी गले । भरुवा बन्दुक सहितका प्रहरीले घर घेरिसकेका रहेछन् । बेदुरामलाई देख्नेबित्तिकै एकजना प्रहरीले रूखो स्वरमा बोले– “हतकडी लगाइहाल् !”

उधूम गर्मी । कट्टु र गञ्जीमा मात्रै थिए बेदुराम । तथापि, स्वर नकमाइ भने, “यत्तिकै लैजान्छौ कि लुगा लाउन दिन्छौ ?”

“छिटो लुगा ला..,” अर्को प्रहरी कड्कियो ।

बाबु खुबै अताल्लिएका थिए । दुवै छोरा विद्रोहमा होमिएका छन् । सरकारले गाथगादी ताकेको कसुरमा जेलमै सडाइदिने हो कि ! अलि पर्तिर लगेर गोलीले उडाइदिने हो कि ! उनले केही सोच्न सकेका थिएनन् ।

छोरासँगै पछिपछि लागे ।

दस पाइलाजति पर पुगेपछि बेदुराम बाबुतिर फर्किए । भने, “पक्री त हाल्यो । जे गर्लान् गर्लान् । तपाईंचाहिँ फर्कनूस् । बाबुको मनले फर्कन मानेन । पछिपछि आउन पनि सकेनन् । मूर्तिवत् अडिए । छोरो लगेको बाटो हेरिरहे ।

क्रान्तिका लागि जीवन खर्चने निधो गरिसकेका थिए । विद्रोहप्रति ग्लानि थिएन । आन्दोलनप्रति पश्चात्ताप थिएन । न पक्राउ परेकाप्रति पछुतो पनि ।

उनले सोचेका थिए– अलि पर्तिर लगेर गोलीले उडाइदिन्छन् होला । भरुवा बन्दुक सहित प्रहरी आएका थिए ।

तर, यस्तो भएन ।

मारिएनन् । यातना खप्न कै लागि भए पनि उनले बाँच्न पाउने भए । किस्ता–किस्तामा ताडना खपिरहनुपर्ने भयो ।

पक्राउ पर्नेबित्तिकै बेदुरामलाई प्रधानपञ्चको घरमा पुर्‍याइयो । चरम यातना सुरु भयो । बेहोस् नहुँदासम्म जिउमा, पैतालामा प्रहरीले सिम्किनो, लाठी बर्साइह्यो । थाकेपछि प्रहरीहरूले प्रधानपञ्चकै घरमा कुखुरा काटेर पक्राउको खुसियाली मनाए ।

“यातनाको कुनै सीमा थिएन । जहाँ मन लाग्यो त्यहीँ पिट्थे । कहिले खुट्टा उचाल्न लगाएर सिम्किनो बजार्थे । सीधै मस्तिष्कमा सुल उठ्थ्यो,” पीडादायी ताडनाको क्षण सम्झँदा उनी अहिले पनि भावुक हुन्छन् र नाफाको जीवन बाँच्न पाउँदा गर्व गर्छन् ।

चुरोट निभाएर कानको भित्री भागलाई ‘एस्ट्रे’ बनाइदिन्थे । मुत्रद्वारमा आलपिन छिराएर पनि पीडा दिन्थे ।

राज्यसत्ताको बक्सिस ठानेर उनले त्यसलाई सहँदै र पचाउँदै गए ।

“सकुञ्जेल सहन्थेँ । शरीर सहन छाडेपछि बेहोस् हुन्थेँ,” उनको मथिङ्गलमा यातनाको दृश्य अझै ताजै छन् । 

तीन महिना थानामा राखेर चरम यातना दिएपछि तम्घासको जेलमा पुर्‍याइयो । बन्दी जीवन व्यतीत गर्न थालेपछि केही हलौं भयो । यातनाले थिल्थिलिएको शरीरले त्राण पाउँदै गयो ।

तीन वर्षसम्म परिवारसँगको भेटघाटमात्र होइन चिट्ठीपत्र, किताबबाट समेत टाढा राखियो । सुरुङजस्तो कोठामा सत्ताको दिन गन्दै उज्यालोको प्रतीक्षामा रहे ।

२०३३ सालमा अञ्चलाधीश जेल भ्रमण गर्न पुगेका थिए । सबै कैदी–बन्दीसँग भेटघाट गराइयो । आस्थाका बन्दीहरू पनि निकै थिए । बेदुरामहरूले अञ्चलाधीशलाई ¥याख¥याख्ती पारे, “कानुनअनुसार सजाय भोग्छौं । तर परिवार, आफन्तसँग भेटघाट, पढ्न–लेख्न  र समाचार सुन्नै त बन्देज लगाउनु भएन नि !”

“हुन्छ । दिने,” सङ्क्षेपमै जवाफ फर्काए अञ्चलाधीशले ।

त्यस दिनदेखि जेल बाहिरैबाट रेडियो बजाइदिने भए जेलरले । तर भित्र राख्न अनुमति भने दिएनन् । जेलको बारमै ‘रेडियो नेपाल’ बज्ने भयो ।

पुस्तकालयमा उपलब्ध किताब पढ्ने सुविधा पनि निगाहमा दिएर गएका थिए अञ्चलाधीशले । भोलिपल्टबाट जेलरले उपलब्ध गराइदिन थाल्यो ।

“तम्घासमा किरण पुस्तकालय थियो । शशी पन्थी त्यसका सञ्चालक थिए । उनले किताब ल्याएर दिन्थे । पुस्तकालयमा भएका सबै किताब जेलमा ल्याइदिन्थे । नभएका किताब किनेर पनि दिन्थे,” पुलकित हुँदै सुनाउँछन् बेदुराम ।

“तिनताका पढाइको कुनै सीमा थिएन । यो पढ्ने त्यो नपढ्ने छनोट पनि थिएन । आँखाले देखेजति र भेट्टाएजति किताब पढ्थेँ, सकेसम्म पाना आउँदो पार्थें,” किताबसँगको नाताबारे खुल्छन् उनी ।

बालकृष्ण समको ‘चिसो चुह्लो’, लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तल’, ‘सुलोचना’ आदि महाकाव्य कण्ठाग्र बनाए ।

लेखनाथ पौड्यालको नव्यकाव्य अन्तर्गतको ‘तरुण तपसी’ का केही श्लोकले जीवन बदल्न प्रेरित गरिरहे ।
“म खाऊँ मै लाऊँ सुखशयल वा मोज म गरूँ
म बाँचूँ मै नाचूँ अरू सब मरून् दुर्बलहरू
भनी दाह्रा धस्ने अबुझ शठदेखि छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी !”

‘तरुण तपसी’का यी हरफहरू सामन्तप्रति कठोर व्यंग्य प्रतीत हुन्थ्यो । बेदुरामलाई आज पनि उत्तिकै कण्ठस्थ छ ।

काठमाडौं जाने क्षोभमा एसएलसी

बर्रे संघर्षले क्रान्तितिर धकेलिदिएपछि पढाइ अलपत्र परेको थियो । हतकडीले झनै बिथोलियो । जेलको दुरत्यय अन्धकारमा प्रविष्ट भएपछि औपचारिक शिक्षाप्रतिको उनको मोह थन्को लाग्यो । तर, किताबसँगको नाता भने झन्झन् प्रगाढ हुँदै थियो ।

२०३५ सालको उत्तराद्र्धतिर पुगेपछि कसैले सुनाइदियो– एसएसलसी पास भएपछि काठमाडौं जेल सरुवा हुन्छ । बेदुराम लोभिइहाले ।

दिनरात एकै बनाएर पढाइमा घोटिए । शशि पन्थीले किताबको जुगाड गरिदिन्थे । त्यसैको सहायताले उनले परीक्षाको तयारी गरे ।

२०३६ सालमा प्रवेशिका परीक्षा त दिए । मुलुकको राजनीतिमा उतारचढाव आयो । २०३५ सालदेखि विद्यार्थी आन्दोलन चर्किएको थियो । त्यसले जनमत सङ्ग्रहमा त मुलुकलाई धकेल्यो तर परिणाम परिवर्तन पक्षधरहरूको पोल्टामा परेन । बहुदलले जितेको भए २०३६ सालमै बेदुराम जेलमुक्त हुन्थे । निर्दलले जितेपछि उनी स्थानान्तरण भएर काठमाडौं ल्याइए ।

२०३६ सालमा प्रवेशिका परीक्षा दिएका थिए । नतिजा आउन एक वर्ष ढिला भयो । २०३७ सालमा उनी दोस्रो श्रेणीमा एसएसलसी पास भए । जेल सरुवा हुन एसएलसी पास भइरहन परेन । पञ्चायतले नै ‘बोनस’मा दियो ।

त्यसपछि जेल नै उनको बन्द पाठशाला, विश्वविद्यालय बन्यो । औपचारिक शिक्षादेखि जीवनसम्म त्यसैले पढायो । परिवर्तनको चेत बन्सो झैं त्यहीँभित्र मौलायो ।

“आइए र बीए काठमाडौंका विभिन्न जेलमा स्थानान्तरण हुँदै सकेँ ?,” जेल जीवनको उपलब्धी सुनाउँछन् भुसाल ।

“कठोर काराबासमा पनि शिक्षाको चाह किन मरेन ?” यो प्रश्नको सपाट जवाफ बेदुरामसँग छैन । यत्ति उत्तर छ “ज्ञान, बुद्धि, विवेकवान नभएसम्म अँध्यारो कुनै हालतमा पन्छाउन सकिँदैन भन्नेमा ढुक्क थिएँ । राज्य सत्तालाई जित्ने तागत पनि यसैभित्र छ भन्ने थियो । घुँडा धसेर पढियो ।”

वाम–प्रगतिशील बन्दीहरूको जिजीविषा चर्को थियो । जेलभित्र कठोर यातना पाउँथे । तर प्रशासन, सत्ताधारीसँग लम्पसार पर्ने, आत्मसमर्पण गर्ने सोच आउँदैनथ्यो । “भोलि जित्नु छ भने आज यातना खप्नुपर्छ । जति पीडा पाए पनि सहनुपर्छ । मारे मरिहालियो, बाँचिएछ भने बदलिन्छ भन्ने भावले बाँच्न हमेसा प्रेरित गरिरहन्थ्यो,” भुसाल जेल जीवनको अनुभूति शब्दमा समेट्न खोज्छन् ।

यातनाका क्रममा पटकपटक मृत्युलाई नजिकबाट नियालेकाले पनि होला जीवनप्रतिको लोभ पनि उत्तिकै रह्यो ।

राज्य विप्लव मुद्दाअन्तर्गत उनलाई सुरुमा दस वर्ष कैद तोकिएको थियो । कानुनतः उनी २०४० सालमै रिहा हुनुपर्ने हो । कसुर जघन्य भएको ठहर गर्दै दश प्रतिशत सजाय वृद्धि गरियो । त्यो समय पनि भुक्तान भयो तर रिहा गर्ने छाँट प्रशासनले देखाएन । बरु शान्ति सुरक्षाअन्तर्गतको ऐन लगाएर डेढ वर्ष अझै जेलमै कोच्यो !

२०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव भयो । जनपक्षीय उमेदवार पद्मरत्न तुलाधरहरू निर्वाचित भए । विजयी भएलगत्तै उनीहरूले आस्थाका बन्दीहरूको रिहाइको माग गरे । पञ्चायतले सुरुमा त आनाकानी गर्‍यो । जनप्रतिनिधि नै राजनीतिक बन्दीका पक्षमा देखिएपछि सत्तालाई नैतिक सङ्कट पर्‍यो ।

२०४३ जेठमा बेदुरामले १४ वर्षे बन्दी जीवनबाट मुक्ति पाए । बाह्य संसारको उज्यालोसँग साक्षात्कार हुन पाए ।

जेलका किस्सा

जेल परेको तीन वर्षमात्रै भएको थियो । तीजको एकभक्तिको दिन (दरखाने) थियो । घर परिवारसँग टाढा भएकाले बन्दीबीच भावनात्मक साइनो थियो । आपसमा मिलेर पर्व मनाउने र खुसियाली साटफेर गर्थे । 

त्यसदिन पनि उनीहरूले कुखुरा खाएर निरन्तरता दिने निधो गरे । किन्न टाढा जानुपर्ने र प्रशासनलाई गुहार्नुपर्ने पनि थिएन । जेलमूलीले त्यहीँ पालेको थियो । तर, दोब्बर–तेब्बर मूल्यमा बेच्थ्यो । 

कुखुरा किन्ने जिम्मा मेस व्यवस्थापक नेत्रप्रसाद ढुङ्गानालाई दिए । व्यवस्थापनको जिम्मा पनि उनीहरूले पालोफेरो गरेर लिन्थे । 

ढुङ्गानाले दिउँसो जेलरकहाँ गएर कुखुरा उचालेछन् । वस्तु अनुसारको मोल नमिलेपछि फर्किएर आएछन् । राति जेलर आएर दागा धर्न पो थाल्यो “मेरो कुखुरा उचालेर छाड्छस् !”

दागा धरेको मात्रै भए त सहन्थे पनि होला । कुट्नै थाल्यो । बेदुरामलगायत बन्दीहरूको धैर्य टुट्यो । उनीहरू घेरा हालेर खजाँहा बनाइदिए ।

प्रशासनलाई निहुँ चाहिएको थियो । उनीहरूलाई ६ महिनासम्म यातना दिइयो । खुट्टा साङ्लाले बाँधियो ।

अर्को किस्सा पनि छ

२०३७ साल चैत २४ गते पहिलोपल्ट नेपालबन्द आयोजना गरेको थियो । तत्कालीन अनेरास्ववियू पाँचौंको अगुवाइमा ।

नेपाल बन्दका दिन तीन–चार सय विद्यार्थी पक्राउ परे । पक्राउ पर्नेबित्तिकै जेल–सुधारको आन्दोलन थाले । 

तिनताका झापा विद्रोहका अगुवा राधाकृष्ण मैनाली, केपी ओली पनि केन्द्रीय कारगारमै थिए । “विद्यार्थी उकास्ने यिनै झापाली हुन्” भन्दै उनीहरूलाई नख्खु जेल सारियो ।

अर्घाखाँचीका कम्युनिस्ट नेता मोदनाथ प्रश्रित पनि केन्द्रीय कारागारमै थिए । उनले चिट्ठी लेखेछन्, पार्टीलाई दिन भनेर विद्यार्थीको जिम्मा लगाएछन् । प्रहरीले गेटमै समातिहाल्यो !

चरम यातनाका कारण प्रश्रितको स्वास्थ्य अवस्था खस्कँदो–दयनीय थियो । कतिबेला मृत्युले घेरा हाल्ने हो यसै भन्न सकिँदैनथ्यो ।

बन्दीहरूले मिलेर उनलाई प्रातः समयमा दूध–चियाको बन्दोवस्त मिलाएका थिए । भोलिपल्ट बेदुराम दूध पुर्‍याउन गए । अचम्म ! प्रश्रित थिएनन् ।

बेदुराम झसङ्ग भए– कतै प्रश्रितलाई बेपत्ता त बनाएनन् ?

जेलरलाई सोधे– “खै यहाँको मान्छे ?”

“गोलघरभित्र हाल्यो !” जेलरले सङ्क्षेपमा भने ।

बेदुरामलाई विश्वास भएन । जेलको चौकीमा गएर बुझे । चौकिदारले चेतावनीको भाषा बोल्यो “भरे थाहा हुन्छ !”

बेलुका उत्सुकतापूर्वक सबै बन्दी चौकीमा भेला भए । थाहा दिन्छ होला भनेको सबैलाई लाइन लगाएर कुट्न पो थाल्यो । आधाघण्टा त बेदुरामले यातना सहेका थिए । त्यसपछि होसहवास हरायो । कुटाइ खानेमा बेदुराम, लीलामणि ढुङ्गाना, नेत्रप्रसाद ढुङ्गाना र तस्बिर राई थिए ।

बन्दीमाथि कुटपिट भएपछि मसालका नेता भैरव रेग्मीले विरोधमा जेलभित्र भातपानी बहिष्कार गरे । दुईदिनपछि बेदुरामलगायत कुटाइ खानेले पनि अनशनमा साथ थिए ।

भोलिपल्टै माग पूरा भयो भनेर चौकिदारले भोक हड्ताल त टुटायो । तर केको माग पूरा हुन्थ्यो ! 

भोलिपल्टै जेल सारिए । सेढाईं वीरगञ्ज पुर्‍याइए । बेदुरामलगायतको समूह नख्खु स्थानान्तरण भए ।

केपी ओलीसँगको उतारचढावको सम्बन्ध !

हाँगा फाट्नु र जोडिनु नदीको विशेषता हो । नदी झैं विभिन्न शिरामा विभक्त हुँदै, फेरि गाँसिदै, मिसिँदै यतिबेला कम्युनिस्ट आन्दोलन नेपाली राजनीतिको मूलप्रवाह बनेको छ ।

सुरुमा पुष्पलाल समूहबाट कम्युनिस्ट आन्दोलनमा संगठित भएका बेदुराम पुष्पलालको शेषपछि बर्रे सङ्घर्ष समूह गठन गरेर त्यसैको अगुवा बने । 

तर, ‘बर्रेपथ’ २०३९ सालमा नेकपा (माले) मा विलय भयो । जेलभित्रबाट वक्तव्य जारी गरेर ‘बर्रे समूह’ माले आन्दोलनमा मिसिएको औपचारिक जानकारी दिइयो ।

तर, त्यसभन्दा पूर्व नै २०३७ साल साउनमा बेदुरामको केपी ओलीसँग भेट भएको थियो । केन्द्रीय कारागारमा । त्यतिबेला केपी ओली रोग र शासन–सत्ता दुवैसँग एकसाथ सिँगौरी खेलिरहेका थिए ।

‘झापा विद्रोह’ र ‘बर्रे सङ्घर्ष’ को रूप अलग भए पनि सार एकै भएकाले उनीहरूको पार्टी, विचार मात्र होइन, मन गाँसियो । अन्तरङ्ग सम्बन्ध स्थापित भयो । 

खुला राजनीतिमा अवतरित भएपछि परिवारका सदस्य झैं दुवै अक्षुण्ण रहे । तत्कालीन एमालेको पाँचौ र छैटौं महाधिवेशनसम्म उनीहरू एकै कित्तामा उभिएका थिए । मदन पथको वैचारिक उत्तराधिकारी बनेर ।

जनकपुर महाधिवेशनमा आइपुग्दा एमाले नामको नदीको दुई किनार जस्ता देखिए । माधव नेपाल समूहबाट केन्द्रीय कमिटीमा निर्वाचित भए ।

बुटवल महाधिवेशनको मैदानमा पुग्दा बेदुराम केपी ओलीकै कित्तामा उभिन पुगे । जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउन दिलोज्यान दिएकाले पनि ओली समूहमा मिसिनु अनौठो थिएन ।

भृकुटीमण्डप महाधिवेशन र माओवादी केन्द्रसँगको एकतासम्म आइपुग्दा केपी ओलीसँगको सम्बन्ध जनकपुर महाधिवेशनतिरै फर्किएको छ । 

केपी ओलीसँगको सम्बन्धमा उतारचढाव आए पनि निष्ठा र इमानमा भने भुसाल आफैंले कोरेको बाटोमा छन् । राजकीय पद–प्रतिष्ठाका लागि सिंहदरबार र बालुवाटार धाउँदैनन् । अध्ययनमा व्यस्त रहेकाले पनि होला, भ्याउँदैनन् पनि ।

एक कार्यकाल राष्ट्रियसभा सदस्य र नेपालको प्रतिनिधि भएर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएबाहेक लाभ र सुविधाको सोपान चढेका पनि छैनन् ।

पार्टीको आन्तरिक जीवनमा नीति, विधि, पद्धति र विचारकै मात्र रटान लगाइरहेकाले होला उनी किनार लाग्दै आएका छन् । पार्टी आन्दोलनमा विधिभन्दा व्यक्ति योग्य ठानिँदै जाँदा बेदुराम ओझेल पर्नु स्वाभाविकै हो ।

२०७४ सालमा पनि तत्कालीन एमालेले राष्ट्रियसभा सदस्यको उम्मेदवार प्रस्ताव गरेको थियो । माओवादी केन्द्रका उम्मेदवारलाई जिताउनुपर्ने र गठबन्धनको मर्म आत्मतसात गर्नुपर्ने बाध्यताले उनको टिकट खाइदियो ।

विद्यावारिधिको मोह !

जेलमुक्त हुँदा बेदुराम एमए दोस्रो वर्ष पढिरहेका थिए । पहिलो वर्षको नतिजाको पर्खाइमा पनि थिए । जेलभित्रै स्नातकोत्तर तहसम्म पढिसकेकाले औपचारिक अध्ययन बिट मारूँ पनि नलागेको होइन ।

तर, २०६२– ६३ सालको जनक्रान्तिपछि नेताहरूको औपचारिक शिक्षालाई लिएर निकै टीका–टिप्पणी हुन थाल्यो । नेताहरूको शैक्षिक योग्यता परिहासको विषय बन्न थाल्यो ।

अध्ययनमा पारङ्गतहरूले पहिलो पुस्ताका नेताहरूलाई ‘अनपढ’ ‘गँवार’ को दर्जा दिन थाले । ‘एसएलसी अनुत्तीर्ण’, ‘आठ कक्षा पास’ बाट शासित हुनुपर्‍यो भनेर पढेका पुस्ताबाट छटपटी, निराशा, कुण्ठा मुखर हुन थाल्यो । भुसालको मर्ममै बिझ्यो !

राणाशाहीले निशापट्ट अँध्यारामा राखे । विद्यालय खोलेनन् । खोल्न पनि दिएनन् । एकाध खोलेका विद्यालयमा शोषित, उत्पीडित, दमितको पहुँच पुगेन ।

सत्ता सञ्चालनमा रहेका केही त्यही अँध्यारो कालखण्डका उत्पादन हुन् । चाहेर पनि पढ्न सकेनन् ।

भुसाल थप्छन्, तथापि, नेपाली राजनीतिमा उनीहरूको अभूतपूर्व देन छ । अनपढ–अबुझ छौं । शासकसँग सिँगौरी खेल्न हाम्रो बुद्धि पुग्दैन । शासकको विवेकका अघिल्तिर हाम्रा प्रश्न निर्धा होलान् । निम्छरा ठहरिएलान् भनेर हात बाँधेर बसेनन् । ‘अनपढ चेत’ ले नै क्रान्तिको सुनामी तरङ्ग सिर्जना गर्‍यो । आँधिबेहरी निम्त्यायो ।

निरङ्कुशताको जगमा खडा भएको पुरानो सत्ता  गर्ल्यामगुर्लुम ढल्यो ।

“लेखपढ गर्ने ऊर्जाशील उमेर कतिपयको जेलमै र अधिकांशको सङ्घर्षमै व्यतीत भयो । जेलका फलामे बारभित्रै पढ्ने चाह कत्तिको पूरा हुन्थ्यो ?,” भुसाल उद्वेलित हुन्छन् ।

“मेरो गाउँमा स्कुल थिएन । गुरुकुल थिएन । मेरो देशमा पढ्ने व्यवस्था नै थिएन । त्यो मेरो दोष होइन । तर, हामीले गाउँमा विद्यालय ल्याउन सङ्घर्ष गर्नेहरूलाई सधैभरि खिसिट्युरी गरिरह्यौं । नपढेका भनेर ‘अज्ञानी’ करार गरिरह्यौं,” विद्यावारिधिको तिर्खा लाग्नुको कारण बताउँछन् बेदुराम ।

“नपढेका नेता भन्नेहरूलाई जवाफ नै मेरो पीएचडी (विद्यावारिधि हो । गाउन लगाएको देखेपछि, सर्टिफिकेट हात परेपछि पढेलेखेको भइने रहेछ ! त्यसो भए यो किन नगर्ने भन्ने प्रश्न मनभित्र पेचिलो बनेपछि गाउन लगाएँ,” परिहासको शैलीमा गम्भीर भाव व्यक्त गर्छन् बेदुराम ।

बेदुराम हिजो मदन भण्डारीले २०४९ सालमा प्रतिपादन गरेको राजनीतिक कार्यक्रम जनताको बहुदलीय जनवादका व्याख्यता थिए । आज त्यसैको ‘डाक्टर’ बनेका छन् । नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक चरित्र चिरफार गर्ने स्थूल विशेषज्ञ पनि ।

“हामीले नपढेका भनेका पुस्ताले व्यवस्था बदल्नका लागि जेल, नेल सहे । क्रान्तिका चरु झैं होमिए । राज्यको चरित्र बदलियो । शासन–सत्ता बदलियो । अहिले पढेको पुस्ता तयार भइसकेको छ । उनीहरूले मुलुक बदलून् !,” भुसालको आग्रह यत्ति छ ।

तर, उनी विश्वस्त भने छैनन् ।

अहिले पार्टीका नेतृत्वमा पढेलेखेका मान्छे नै छन् । अपवाद बाहेक । दोस्रो तहमा पनि पढेलेखेको पुस्ता नै तयार भइसकेको छ । नपढेका मान्छे औंलामा गन्न सक्ने छन् । तर, मुलुकको हालत झन् खस्कँदो छ ।

किन ?

उत्तर नपाएर होला खिन्न छन् बेदुराम !

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  १५:५३
प्रतिक्रिया दिनुहोस्