site stats
बाह्रखरी :: Baahrakhari
खेल
अन्य लिग गर्ने आयोजकले हामीबारे पनि सोचुन् 

काठमाडौं । वर्षमा हुने एकाध प्रतियोगितामा सीमित महिला क्रिकेट खेलाडी यतिबेला विदेशका ठूला लिग खेल्ने सपना बुन्न थालेका छन् । वर्षमा कहिले प्रतियोगिता होला भनेर कुर्ने खेलाडी अब विदेशका लिगमा आवद्ध हुने सपना देख्न थालेका छन् । 

उनीहरुलाई सपना बुन्न पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताले सिकाएको छ । जति धेरै प्रतियोगिता खेल्यो, त्यति नै क्षमतामा निखार आउने बुझेका उनीहरु महिला लिग प्रतियोगितामा हुँदै गए विदेशी लिगसम्म आवद्ध हुनसक्ने बताउँछन् । 

लामो समयदेखि राष्ट्रिय क्रिकेट टोलीकी सदस्य रहेकी इन्दु बर्माले यो प्रतियोगिताबाट विदेशका लिगमा खेल्ने आकांक्षा जागेको बताइन् । उनले भनिन् ,“कहिले प्रतियोगिता होला अनि खेलुँला भनेर सोच्ने म विदेशी लिगको सपना देख्न थालेको छु । यो लिगले अझै उत्साहित बनाएको छ । यस्ता लिगहरु भइरहे भने आफ्नो प्रदर्शन देखाउन सके विदेशी लिगका लागि कसैको नजरमा परिन्छ कि भन्ने सोचेकी छु ।”

Argakhachi Cement Island Ad

उनले आफूसँगै अरु खेलाडीमा पनि राम्रो प्रदर्शन गर्नुका साथै मनोबल बढेको बताइन् । “खेलमात्र नभई एउटा खेलाडीले सिक्नुपर्ने धेरै कुरा छन् । अनुशासन, कसरी बोल्ने, कसरी प्रस्तुत हुने, सकारात्मक सोच राख्ने लगायत धेरै कुरा यो लिगबाट सिक्ने अवसर पाएका छौं । पहिलो पटक कमिकमजोरी सुधार्दै अर्को खेलमा राम्रो गर्ने मौका पाएका छौं,” इन्दुले भनिन् । 

इन्दु मात्र होइन, अन्य खेलाडी पनि उत्साहित छन् । राम्रो प्रदर्शनसँगै देशका लागि पदक ल्याउने लक्ष्यमा ब्याट र बल समाएका खेलाडीलाई यो नै प्रतियोगिताले किन उत्साहित बनायो त ? खेलाडी आरती विडारीको बुझाइमा आफू को हुँ भनेर चिनाउन पाउँदा खेलाडीमा उत्साह बढेको हो । उनी भन्छिन्, “मुख्यतः खेलाडीलाई आफू को हुँ भनेर चिनाउने मौका मिल्यो । त्यसमाथि आफूलाई सुधार्ने अवसर । यसभन्दा पहिले क्रिकेट खेल्थ्यौं तर आफ्ना गल्ती सुधार्ने अवसर नै हुँदैन थियो । लिगमा करेक्सनको अवसर छ ।”

राष्ट्रिय टोलीकी महत्वपूर्ण सदस्य रहेकी आरतीले पुरुषका फ्रेन्चाइज लिग आयोजना गर्ने आयोजकलाई महिलाबारे सोचिदिन पनि आग्रह गरेकी छन् । “पुरुषको जत्ति लिगहरु हुन्छ त्यहि नै हामीलाई पनि अवसर दिए देशका लागि राम्रो नतिजा ल्याउन सक्नेथियौं । पहिलो पटक वुमन्स लिग भयो । अब अरुले पनि महिला क्रिकेटबारे सोचिदिने कि ?,” आरतीले भनिन् । 

आरतीसँगै अन्य महिला खेलाडीको आग्रह पनि लिग आयोजनाबारे सरोकारवाला निकायले निर्णय गरोस् भन्ने छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिग चलिरहँदा समर्थक विरलै मात्रामा देखिए पनि खेलाडीको मुहारमा खुसी नै छ । बलले बाउन्ड्री पार गर्दा रमाउने सकर्थक नपाए पनि अन्य लिग आयोजकको माया पाउने विश्वास बढेको छ । समर्थकमा खेलाडीको गुनासो छैन तर विस्तारै समर्थकको माया पाउने अपेक्षा भने छ । 

खेलाडी रितु कन्नौजियाले समर्थक नरहे पनि जुनियर र सिनियरसँग मिलेर खेल्दा रमाइलो महशुस गरेको बताइन् । त्यसो त रितुले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव लिइसकेकी छन् । तर उनलाई जारी वुमन्स टि–ट्वान्टी क्रिकेट प्रतियोगिता विशेष लागेको छ । किनकी घरेलु मैदानमा लामो समय पहिलो पटक खेल्न पाउनु नै रितुका लागि विशेष रह्यो । 

उनले भनिन्, “जुनियर बहिनिहरुसँग खेल्न पाउँदा मलाई धेरै खुसी लाग्यो । क्षमतावान खेलाडी देखिएका छन् । यसले टोलीमा पनि फरकपन ल्याउने छ । अपेक्षा, छ यस्ता प्रतियोगिता भइरहनेछन् ।” 

युवा खेलाडी कविता कुँवरले यस्ता लिग भइरहे राष्ट्रिय टोलीको प्रदर्शन नयाँ उचाइमा पुग्ने बताइन् । उनले भनिन्, “यस्ता प्रतियोगिता भइरहे स्वतः खेलाडीको प्रदर्शनमा सुधार आउँछ । खेलाडीमा सुधार आए टोलीको प्रदर्शन नयाँ उचाइमा पुग्छ ।”  पछिल्लो एक वर्षमा राष्ट्रिय टोलीमा परेकी युवा खेलाडी कविताले व्यक्तिगत रुपमा सिनियर खेलाडीसँग धेरै कुरा सिक्न पाएको बताइन् । उनले आफूसँगै धेरै जुनियरले नयाँ कुरा सिक्न पाएको उल्लेख गरिन् । 

पहिलो पटक महिलाको लिग क्वीन्स इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको हो । यो नै महिला क्रिकेटको इतिहासमा पहिलो फेन्चाइज टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हो । प्रतियोगितामा पाँच सहरका ५ टोलीहरु ललितपुर फाल्कन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स सहभागी भएका छन् । 
जसमध्ये रुविना क्षेत्रीको कप्तानीमा रहेको क्याट क्विन्स काठमाडौं र विन्दु बर्माको कप्तानीमा रहेको चितवन राइनोज फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ । 


 

प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  १८:००
प्रतिक्रिया दिनुहोस्