site stats
बाह्रखरी :: Baahrakhari
खेल
बराबरी हैन, जित्ने नेपालको लक्ष्य

काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणका खेल आगामी शुक्रबारबाट म्यानमारमा सुरु हुँदैछन् । त्यसैको तयारीका लागि नेपाली यू–१९ महिला टोली यतिबेला चीन भ्रमणमा छ । चीनको १ साताको अभ्यास र २ मैत्री खेलपछि नेपाली टोली म्यानमार प्रस्थान गर्नेछ । 

थाइल्याण्डमा सम्पन्न पहिलो चरणमा उत्कृष्ट उपविजेतासहित नेपाल दोस्रो चरण पुगेको हो । दोस्रो चरणमा नेपाल बलिया प्रतिद्वन्द्वी रहेको समूह ए मा परेको छ । घरेलु टोली म्यानमारसँगै अष्ट्रेलिया र उज्वेकिस्तान नेपालका प्रतिद्वन्द्वी छन् । वरियतामा नेपालभन्दा माथि रहेका तीन टोलीसँग नेपालको एउटै उद्देश्य आक्रामक खेलेर छनोट हुने हो । 

प्रशिक्षक हरिओम श्रेष्ठले साढे २ महिनाको प्रशिक्षणका क्रममा आक्रामक खेल्ने रणनीतिसहित टोली तयार पारेका छन् । उनी भन्छन्, “हामी रहेको समूहका अन्य टोलीको खेल राम्रो छ । हामी पनि राम्रो नतिजाका लागि खेल्नेछौं । बराबरी नभई आक्रामक फुटबल खेल्नेछौं ।” 
अष्ट्रेलिया फिफा वरियतामा नेपालभन्दा ९७ स्थानमा माथि छ । नेपाल १ सय ३ औं स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष ६ मा छ । म्यानमार ४४ स्थानमा छ, जुन नेपालभन्दा ५९ औं स्थान माथि हो । उज्वेकिस्तान ४२ अर्थात् नेपालभन्दा ६१ औं स्थान माथि छ । 

Argakhachi Cement Island Ad

प्रशिक्षक श्रेष्ठले कडा टक्कर दिने रणनीति बुनेका छन् । उनले भने, “अष्ट्रेलिया, उज्वेकिस्तान र म्यानमारको वरियता र खेल माथि नै छ । तर उमेर समूहमा वरियताले खासै फरक पर्दैन । हामी बलिया प्रतिद्वन्द्वीको सामना गर्न तयार छौं र जितका लागि पनि सक्षम छौं ।”

प्रतिस्पधी टोलीको भिडियो हेरेर प्रशिक्षक श्रेष्ठले खेल योजना बनाएका छन् । “मैले उनीहरुका केही खेल हेरेको छु भिडियोमार्फत् । खेलाडी पनि नियाले । केही कुरामा हामी कमजोर भए पनि समग्रमा राम्रो खेल प्रदर्शन गर्नेछौं । हाम्रो लक्ष्य आक्रामक फुटबल खेल्ने हो र नतिजा राम्रो ल्याउने हो,” प्रशिक्षक श्रेष्ठले थपे । 

\"\"

थाइल्याण्डमा पहिलो चरणमा ‘राइट विङ्स’ समस्या भएको बताएका प्रशिक्षक श्रेष्ठले अहिले टोली सन्तुलित रहेको बताए । टोलीमा आएको फेरबदल र अनुभवी खेलाडीको समिश्रणले राम्रो खेल प्रदर्शन गर्ने प्रशिक्षकको अपेक्षा छ । कात्तिकमा भएको पाँचौं प्रधानसेनापति आमन्त्रण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताबाट उत्कृष्ट खेलेका र प्रशिक्षणमा राम्रो खेल प्रदर्शन गरेका केही खेलाडीलाई प्रशिक्षक श्रेष्ठले टोलीमा समावेश गरेका छन् । 

टोलीमा यू–१६ टोलीकी कप्तान प्रिति राई, सलोनी रानामगर र सबिता रानामगर पनि छन् । तीनमध्ये प्रशिक्षक श्रेष्ठले सवितालाई राइट विङ्सका रुपमा खेलाउनेछन् । 

कप्तान सरु लिम्बुले टोलीमा रहेको समन्वयले राम्रो प्रदर्शन गर्ने बताइन् । उनले राष्ट्रिय टोलीमा रहँदा यू–१९ लाई भनेर अभ्यास गर्न नपाएपनि लामो समयदेखि सँगै रहेका खेलाडी रहेकाले खेल्न सहज रहेको बताइन् । उनले भनिन्, “जो अहिलेको टोलीमा छन्, उनीहरुसँग हामी यु–१४ देखि खेल्दै आएका छौं र सजिलो हुनेछ । कसले कस्तो खेल्छ बल पास कसरी दिन्छ एकअर्कामा जानकार छौं । यसले पनि सजिलो हुनेछ ।”

फिनिसिङमा समस्या भए पनि त्यसलाई चीन भ्रमणका समयमा सुधार्ने कप्तान लिम्बुले बताइन् । पहिलो चरणभन्दा डिफेन्स, मिडफिल्ड, एट्याकिङ पक्षमा भएका कमजोरी सुध्रिएको उनको भनाइ छ । 

राष्ट्रिय टोलीको समेत अनुभव लिइसकेकी गोलकिपर अन्जना रानामगरले कमजोरीलाई केलाउँदै राम्रो प्रदर्शन गर्ने बताइन् । उनले भनिन्, “पाँचौं महिला साफ च्याम्पियनसिप र ओलम्पीक छनोट दोस्रो चरणबाट धेरै कुरा सिकेका छौं । अब एएफसी छनोटमा देखाउने बेला आएको छ ।” उनीसँगै टोलीमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका रेखा पौडेल, मन्जली कुमारी योन्जन र कप्तान सरु छन् । प्रशिक्षक श्रेष्ठले अनुभवी राष्ट्रिय खेलाडीले बलिया प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्न सहज हुने अपेक्षा गरेका छन् । 

रेखाले गत कात्तिकमा थाइल्याण्डमा सम्पन्न भएको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । थाइल्याण्डसँग ३–० को हार ब्यहोरेपनि भारतविरुद्ध २–० को जित निकाल्दा रेखाले दुवै गोल गरेकी थिइन् । पाकिस्तानमाथि ९–० को शानदार जित निकाल्दा नेपालकी निसा थोकरले ह्याट्रिक गरेकी थिइन् । यस्तै मञ्जली योन्जनले फागुनमा विराटनगरमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपमा उत्कृष्ट खेलेकी थिइन् । 

\"\"

नेपालले वैशाख १३ गते अष्ट्रेलियासँग खेल्दै एएफसी च्याम्पियनसिप छनोट यात्रा सुरु गर्नेछ । १५ गते उज्वेकिस्तानसँग खेल्ने नेपालले १७ गते घरेलु टोली म्यानमारको सामना गर्नेछ । समूह ए र बि को विजेता र उपविजेता एएफसी च्याम्पियनसिपका लागि छनोट हुनेछ । 
थाइल्याण्ड आयोजकको हैसियतले छनोट भइसकेको छ भने जापान यसअघिको विजेता, उत्तर कोरिया उपविजेता, चीन तेस्रो स्थान हासिल गरेकाले अन्तिम आठमा पुगिसकेको छ । दोस्रो चरणबाट ४ टिमले स्थान बनाउने छन् । 

नेपाली टोली 

गोलकिपरः अन्जना राना मगर, उषा नाथ र रेबिका राई

डिफेण्डरः पूजा राना मगर, सविता रानामगर, निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विश्वकर्मा, सलोनी राना मगर

मिडफिल्डरः कप्तान सरु लिम्बु, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती 

फर्वाडरः रेखा पौडेल, एलिशा जिम्बा, रश्मी कुमारी घिसिङ, निर्मला उपाध्याय
तस्बिर सौजन्यः एन्फा

प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  ०८:०४
प्रतिक्रिया दिनुहोस्