site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
धिरज राई र रवि लामिछानेसँगै म पनि

सुनिता दुलाल


गायक धिरज राईले बुद्ध नेपालमा जन्मिएको सन्देश विश्वभर फैलाउन गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउने प्रयास थाल्नु भएको छ । यसका लागि सैनिक मञ्च टुँडिखेलमा ५० हजार व्यक्तिभेला भएर बुद्धको उपदेश पढेर नयाँ रेकर्ड बनाउने तयारी गरिएको उहाँले गर्नुभएको सुन्दा खुसी लागेको छ ।

उहाँले यस अगाडि नै नेपालसहित विभिन्न देशमा यो अभियानलाई आफ्नो तर्फबाट अगाडि बढाइरहनु भएको थियो । आफ्नो फेसबुकमा लाइक गरेर होस् या तस्बिरमार्फत होस्, बुद्ध नेपालमा जन्मिएको सन्देश दिइरहनु भएको थियो । जसको मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । व्यक्तिगत तवरबाट सकेको प्रयास उहाँ (धिरज राई) ले गर्नुभयो, यो उहाँको ध्यानाकर्षण गर्ने तरिका थियो । भलै यसलाई कतिले नोटिस गरे होलान् कतिले गरेनन् होला, त्यो फरक विषय हो । 

Argakhachi Cement Island Ad

उहाँले बताएअनुसार यही माघ २७ गते सैनिक मञ्च टुँडिखेलमा ५० हजार व्यक्ति एकैपटक जम्मा गरेर बौद्ध धर्मगुरुले भगवान गौतम बुद्धको उपदेश पढ्नु हुनेछ र बुद्ध वाज बर्न इन नेपाल भन्नु हुनेछ । उहाँले भनेपछि सहभागी ५० हजारले उपदेश दोहोर्याएर बुद्ध वाज बर्न इन नेपाल भन्नेछन् । र, यो रेकर्डका रुपमा गिनिज बुकमा नाम लेखिनेछ । 

यो अभियान उहाँ (धिरज राई) ले सुरु भर्नुभयो । मलाई लाग्छ, उहाँलाई हामीले सहयोग गर्नुपर्नेछ । हुन त उहाँले हामीलाई व्यक्तिगत रुपमा आग्रह गर्नु भएको छैन, सहभागी हुनुपर्छ भनेर भन्नुपर्छ पनि भन्नुभएको छैन । तर उहाँले पवित्र आत्माले सुरु गर्नुभएको यो कार्यमा हामीले पनि सहयोग गर्नुपर्छ । यो हाम्रो नैतिक जिम्मेवारी पनि हो । त्यसैले म सबैलाई आग्रह गर्छु,–म त धिरज राईको यो पवित्र कार्यमा सहभागी हुन माघ २७ गते टुँडिखेल जाँदैछु । तपाईं पनि आउनुस् है ।’

हामी कलाकार राष्ट्रका गहना हौं भन्छौं । त्यसैले हाम्रो पनि जिम्मेवारी हुन्छ । भलै राज्यले तोकेको छैन होला तर कतिपय कुरा यस्ता हुन्छन्, जुन आफैंले बुझेर गर्नुपर्छ । 

लामो समयदेखि भारतले गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर झुटो प्रचार गरिरहेको छ । पहुँच र प्रविधिमा अगाडि रहेको भारतको यो प्रचारका कारण धेरैलाई गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्ने भ्रम छ । त्यसैले यसलाई चिर्दै भारतमा हैन, बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिन हामीले दिनु जरुरी छ । विश्वभर यो सन्देश पुर्याउनु पर्नेछ तर सजिलो पक्कै छैन । त्यसैले केहीन केही रचनात्मक तरिकाबाटै हामी विश्वसामु पुग्नु छ । यसका लागि उहाँले गर्नुभएको यो प्रयासलाई सबैको साथ चाहिएको छ । हाम्रो गौतम बुद्धलाई ‘हाम्रा हुन्’ भन्ने भारतलाई चुनौती दिँदैवास्तविकता सबैसामु छर्लङग बताइदिनुछ । 

रवि लामिछानेले आफ्नोतर्फबाट विश्वकै लामो प्रत्यक्ष अन्तर्वार्तामार्फत योगदान गरिसक्नु भएको छ । हामी उहाँहरुले गरेजत्तिको योगदान आफ्नै पहल र श्रममा गर्न सक्तैनौं होला, तर उहाँहरुसँगै लामबद्ध भने हुन सक्छौं । उहाँहरु जस्तो अभियन्ता बन्न सक्तैनौं होला तर उहाँहरुले देखाएको बाटोमा हिड्न सक्छौं । धिरज दाइले भन्नु भएको वाक्य मलाई कपी गर्न मन लाग्यो,जसले मलाई पटक पटक छोयो र झकझक्यायो, “शनिबार एक दिन बुद्धका लागि ।”

एउटा शनिबारको केही घण्टा हामीले उहाँलाई साथ दिँदैमा बुद्ध नेपालमा जन्मिनु भएको सन्देश फैलिन्छ भने किन हामी पछि हट्ने ? सबै मिलौं, हातेमालो गरौं एकै पटक धिरज दाइसँगै भनौं,– ‘बुद्ध वाज बर्न इन नेपाल ।’

यसअघि यस्तै प्रकारको रेकर्ड भारतले ४७ हजार व्यक्तिको उपस्थितिमा गरेको हुनाले त्यसलाई तोड्न ४७ हजारभन्दा धेरै सहभागीको आवश्यकताछ । यसका लागि हामी एकजुट हुनुछ । 

सुरक्षाको चाँजोपाँजो मिले पनि उहाँ (धिरज राई) का अनुसार आर्थिक सहयोगको आवश्यकता छ । त्यसैले हामी पनि मुठ्ठि खोलौं । 

सन् २००६ देखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने अभियान चलाउँदै आउनु भएका उहाँलाई एकदिन साथ दिऊँ । माघ २७ गते टुँडिखेलमा गएर एक स्वर गरौं र भनौं,‘बुद्ध वाज बर्न इन नेपाल ।’

प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  १५:४६
प्रतिक्रिया दिनुहोस्