site stats
बाह्रखरी :: Baahrakhari
कला
ग्रिन्सबोरोको प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा पूरा
तस्बिर । मनसून श्रेष्ठ/नेपालय ।

नर्थ क्यारोलाइना । ग्रिन्सबोरोमा शनिबार मञ्च र दर्शकदीर्घाबीचको हार्दिकता उत्कर्षमा पुगेकै क्षण नेपथ्यले नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर मात्र होइन, यस वर्षको महिनादिन लामो सिंगो अमेरिका यात्राबाट बिदा लिएको छ । 
 
“बिसवर्षे अमेरिका बसाइका क्रममा मैले विशाल रंगशालामा आयोजितदेखि लिएर रङ्गमञ्चहरूका अनेक विश्वप्रसिद्ध प्रस्तुति हेर्दै आएको छु,” फ्लोरिडाको सेन्ट अगस्टिन सहरबाट सात घण्टा लामो मोटरयात्रा गर्दै सपरिवार आएका पंकजनाथ शर्मा भनिरहेका थिए, ‘आजको नेपथ्य प्रस्तुतिजस्तो कार्यक्रम मैले अमेरिकामा विरलै अनुभव गर्न पाएँ ।” 

गीत मात्रै होइन बीचबीचमा गायक अमृतले दिने छोटा मन्तव्यमा पनि दर्शक उत्तिकै रमाएका देखिन्थे । ती शब्दहरूमा आफ्नो भावना मेल खाएको आनन्द उनीहरूको ताली र अनुहारको रङमा प्रतिविम्बित भएको नेपालयले प्रेस नोटमा उल्लेख गरेको छ ।  

जस्तो कि ‘यो जिन्दगानी’ गीत गाइसकेपछि अमृतले आह्वान गरेका थिए, “महिनामा एक दिनको कमाइ कम्तीमा आफ्नै गाउँठाउँको यस्तो बच्चाको पढाइका लागि छुट्याइदिनुस्, जसले शिक्षाको उज्यालो देख्न पाएको छैन र जसले तपाईंको सानो योगदानबाट भविष्यमा देशका लागि केही गर्न सकोस् ।” 

प्रतिक्रियामा हलभरिका दर्शक उत्साहसहित चिच्याएका थिए । यता अमृत पनि थामिँदैन थिए र थप्थे, “धन हुनेले थुपार्ने हो, मन हुनेले दिने हो ।” दर्शक अझ उत्साहित बन्न पुगे ।
 
दर्शकदीर्घामै रहेर ताली पिट्दै झुमिरहेकामा गायक मोहन भुसाल पनि थिए । “एउटा संगीतकर्मीका रूपमा मैले यस कार्यक्रमबाट धेरै सिक्न पाएँ । संगीत, मनोरञ्जन, सद्भाव र सन्देशको गज्जबको सम्मिश्रण । यो कार्यक्रम अन्तर्रास्ट्रियस्तरको पाएँ,” उनले भने, “नेपाली कार्यक्रमको स्तरलाई यसले अर्कै उचाइमा पुर्‍याएको अनुभव भयो । दुई घण्टा बितेको थाहै पाएनौँ ।” 
  
यो प्रस्तुतिसँगै नेपथ्यको सातौँ अमेरिका यात्रा सम्पन्न भएको छ । यो वर्ष महिना दिन लामो शृंखलाबद्ध यात्रामा ब्यान्ड अस्टिन, सियाटल, लस एन्जलस, पिट्सबर्ग, सिकागो, बोस्टन हुँदै ग्रिन्सबोरो आइपुगेको हो । यस यात्रालाई सफलताका साथ सम्पन्न गर्ने कलाकार, व्यवस्थापक, प्राविधिकसहितको १४ सदस्यीय टोली यसै साता स्वदेश फिर्नेछ । 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्