
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टिममा एएफसी महिला एसिया कप छनोटमा राम्रो गर्नुपर्छ भन्ने भावना रहेको बताएका छन् । नेपाली टिमलाई मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले छनोटअघि हुने थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण फुटबलका निम्ति बिदाइ कार्यक्रममा प्रशिक्षक तामाङले यस्तो बनाएका हुन् ।
नेपाली टिमले जुन २९ देखि हुने छनोटअघि तयारी स्वरुप थाइल्यान्डविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । तालिकाअनुसार नेपालले मे ३० मा बन्द रंगशालाभित्र थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । यसपछि नेपालले जुन २ मा थाइल्यान्डसँग आधिकारिक फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ ।
“समग्रमा एन्फाले उपलब्ध गराएको समयमा राम्रो तयारी भएको छ । टिमले लामो समय एकसाथ प्रशिक्षण गरेको छ । थाइल्यान्डविरुद्धकै खेलका निम्ति तयारी गर्यौँ । छनोटमा राम्रो गर्नुपर्छ भन्ने कुरा खेलाडीमा छ । हामीले थाइल्यान्डविरुद्ध राम्रो गर्न सके छनोटमा विपक्षीलाई दबाब हुनेछ । एसियन कप छनोटअघि तयारीका निम्ति थाइल्यान्डसँगको खेल निकै राम्रो हो,” प्रशिक्षक तामाङले भने ।
यस्तै, नेपाली टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले पनि छनोटअघि थाइल्यान्डजस्तो बलियो टोलीसँग पनि टिम जितका निम्ति उत्रिने बताइन् । “पहिलोपटक हामीभन्दा धेरै माथिको टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दैछौँ । हामी खेलमा केन्द्रित छौँ । हाम्रो बलियो पक्ष मिडफिल्ड हो, जहाँ रेनुका, प्रीति र सरु छन्,” कप्तान एन्जिलाले भनिन्, “डिफेन्स लाइन र गोलकिपरबीचको तालमेलमा केही चुनौती छ । प्रो–लाइसेन्स भएको प्रशिक्षक आउन लाग्नु राम्रो हो, पहिले नै हुनुपर्थ्यौ । अब अहिले छोटो समयमा आउँदा तयारी कसरी राम्रो हुन सक्छ भन्ने केही चिन्ता छ । थाइल्यान्डविरुद्ध जितका निम्ति खेल्नेछौँ ।”
एएफसी महिला एसिया कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । समूहबाट विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा स्थान पक्का गर्नेछ । छनोटमा नेपालले जुन २९ मा लाओससँग, जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्ने तालिका छ ।