-1748344960.jpg)
काठमाडौं । विश्वव्यापी प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले टिकटकले 'गाइडेड मेडिटेसन' सुविधा सार्वजनिक गरेको छ । प्रयोगकर्तालाई ध्यान र मानसिक सन्तुलन अभ्यास गर्न सजिलो बनाउने उद्देश्यले नयाँ इन–एप टुल ल्याइएको कम्पनीले जनाएको छ ।
टिकटकले २.३ मिलियन डलरको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेसन फन्ड’समेत घोषणा गरेको छ । जसले विश्वभरका विश्वसनीय संस्थालाई सहयोग पुर्याउने विश्वास छ ।
विद्यालय जीवनमा रहेका किशोरकिशोरीदेखि दैनिक जिम्मेवारी सम्हालिरहेका युवा पुस्तासम्मका सबै प्रयोगकर्ताले नयाँ टुल प्रयोग गरेर सजिलोरूपमा मेडिटेसन गर्न सक्नेछन् । टिकटकको पहल डिजिटल वेलनेस र प्रविधिमार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धताको एक महत्त्वपूर्ण पाटो रहेको कम्पनीले जनाएको छ ।
टिकटकले २२ देशका ३१ मानसिक स्वास्थ्यसम्बन्धी संस्थासँग साझेदारी गर्दै ४२.३ मिलियन बराबरको विज्ञापन क्रेडिट दिने घोषणा गरेको छ । यो कोष र टिकटक–नेतृत्वको प्रशिक्षणले साझेदारलाई व्यापक दर्शकमा पुग्ने गरी आकर्षक र विश्वसनीय मानसिक स्वास्थ्यसम्बन्धी कन्टेन्ट सिर्जना गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
मानसिक स्वास्थ्यसम्बन्धी छलफल विस्तार हुँदै गइरहेका दक्षिण एसियाली मुलुकमा पनि यो पहल विस्तार गर्ने टिकटकको योजना छ ।
कम्पनीका अनुसार, गाइडेड मेडिटेसन सुविधा र मानसिक स्वास्थ्य फन्डले टिकटकको डिजिटल वेलबिङ र सामाजिक प्रभावप्रतिको दीर्घकालीन प्रतिबद्धता देखाउँछ । टिकटकले अहिले शैक्षिक सामग्री, सुरक्षा उपकरण र अभिभावकीय नियन्त्रण सुविधा पनि थप्दै छ । जसले युवा प्रयोगकर्ताका लागि स्वस्थ डिजिटल व्यवहारलाई प्रवर्धन गर्ने कम्पनीले जनाएको छ ।