site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देशको आन्तरिक सुरक्षा मजबुत भए मात्रै विकास र समृद्धि सम्भव : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशको आन्तरिक सुरक्षा मजबुत भए मात्रै विकास र समृद्धि सम्भव हुने बताएका छन् । 

कोसी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई बुधबार सम्बोधन गर्दै उनले सुरक्षा व्यवस्था तथा आर्थिक अवस्था मजबुत बनाउन भन्सार चोरी निकासी, कालोबजारी, गुण्डागर्दी, भ्रष्टाचार, लागुऔषध दुर्व्यसन, सवारी दुर्घटना, आत्महत्या र साइबर अपराधका घटना नियन्त्रण तथा निरुत्साहित गर्न सबै सरोकारवाला निकाय एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । 

नेपाल सरकार गृह मन्त्रालय र कोसीको आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो । 

उक्त अवसरमा गृहमन्त्री लेखकले संविधानको विरुद्धमा हुने कुनै पनि गतिविधि मान्य नहुने र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि भावी रणनीति बनाएर काम गर्नुपर्ने बताए । विपद्‍ व्यवस्थापनका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्नेमा उनले जोड दिए । 

गृहमन्त्रीलाई बुधबार नै विराटनगरका उद्योगी व्यवसायीले भेटेर बढ्दो तस्करी, चोरी पैठारी तथा अवैध कारोबारका कारण राष्ट्रको आर्थिक, सामाजिक र सुरक्षात्मक संरचनामा गम्भीर असर पुगिरहेको भन्दै ध्यानाकर्षण गराएका थिए । 

अवैध कारोबारका कारण सरकारी संयन्त्रमा भ्रष्टाचार मौलाउने, कानुनी शासन कमजोर हुने जोखिम रहनुका साथै तस्कर संयन्त्र मौलाए राष्ट्रिय सुरक्षामै चुनौती उत्पन्न हुने भन्दै उनीहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्