site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ब्रिटेनका विदेशमन्त्री दम्पतीको लगेज र नगद ट्याक्सी चालकले चोरेपछि...

काठमाडौं । फ्रान्सको प्रहरीले ब्रिटेनका विदेशमन्त्री डेभिड लामी र उनकी पत्नी निकोला ग्रीनको सामान (लगेज) र नगद चोरी गरेको आरोपमा एक  ट्याक्सी चालकलाई पक्राउ गरेको छ ।

बीबीसीका अनुसार इटालीको फोर्लीबाट फ्रान्सको हाउते–साभोइ प्रान्तको फ्लेन स्की रिसोर्टसम्म ३६० माइलको यात्राको भाडाको विषयमा झगडा भएपछि चालकले दम्पतीको सामान लिएर ट्याक्सी चलाएर भागेका थिए ।

बुकिङ सेवामार्फत गरिएको अग्रिम भुक्तानीले पूरै यात्राको भाडा नसमेट्ने भन्दै चालकले थप ७०० युरो (५९० पाउन्ड) प्राप्त गर्नुपर्ने दाबी गरेका थिए ।

तर, ब्रिटेनको विदेश मन्त्रालयले एक बक्तव्यमा निजी छुट्टीको क्रममा यात्रा सुरु गर्नुअघि नै पूर्ण भाडा तिरिएको बताएको छ । चालकले निकोला ग्रीनसँग झगडा गरेपछि उनीहरूको सामान लिएर प्रहरी कार्यालयतर्फ गएर प्रहरीसँग गुनासो दर्ता गरेका थिए ।

फ्रान्सेली पत्रिका ‘ला प्रोभेन्स’का अनुसार हाउते–साभोइको बोनभिल प्रहरी कार्यालयले उक्त विषयको अनुसन्धान सुरु गरेको छ ।

विदेश मन्त्रीको कार्यालयका एकजनाले चालकलाई सम्पर्क गरी सामान फिर्ता गर्न खोज्दा सामान प्रहरी चौकीमा जम्मा गरिएको थियो । तर, निकोला ग्रीनको झोलाबाट ठूलो रकम हराएको भन्दै उनले प्रहरीलाई बयान दिइन् ।

बोनभिल अभियोजक बोरिस डफाउले ट्याक्सी चालकलाई अहिले चोरीको आरोपमा अभियोग लगाइएको बीबीसीलाई बताए । बीबीसी
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०६:२५
प्रतिक्रिया दिनुहोस्