
काठमाडौं । भारतको विदेश मन्त्रालयले भारतमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई एकदमै गम्भीर रूपमा लिएको बताएको छ ।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा बिहीबार १८ वर्षीया नेपाली छात्रा प्रिसा साह आत्महत्या गरेको अवस्थामा भेटिएपछि विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो ।
“भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा र हितलाई धेरै गम्भीरताका साथ लिन्छ,” विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “यस विषयमा वास्तविक–समय सञ्चार र समन्वय सुनिश्चित गर्न हामी नेपाली अधिकारीहरू, ओडिशा राज्य सरकार साथै केआईआईटी व्यवस्थापनसँग नजिक रहेर काम गरिरहेका छौँ ।”
केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थीको दुःखद् निधन भएकोमा विदेश मन्त्रालयले दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यस कठिन समयमा हामी शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।”
दुःखद् घटनाबारे थाहा पाएदेखि नै विदेश मन्त्रालय ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको विज्ञप्तिमा जनाइएको छ । “ओडिशा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग गरेको छ र हाल ओडिशा प्रहरीले घटनाको गहन अनुसन्धान गरिरहेको छ,” विदेश मन्त्रालयले भनेको छ ।