
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ ।
अन्नपूर्ण गाउँपालिका–११, पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार (वैशाख १४) चट्याङ लागेर संखुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका १८ वर्षीय महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
समुद्री सतहदेखि तीन हजार ८०० मिटर उचाइमा रहेको त्रिवेणी ताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौमध्ये बाँकी सातजना सकुशल रहेका जनाइएको छ ।
प्रहरी निरीक्षकको नेतृत्वमा चारजनाको टोली आइतबार नै घटनास्थलतर्फ गएको डीएसपी शर्माले बताए । उनले भने, “जिल्लाबाट गएको प्रहरी टोली हिजो राति घान्द्रुक पुगेर बास बसेको छ । त्यहाँबाट पैदल पाँच घण्टाभन्दा बढी समय लाग्ने भएकाले दिउँसोसम्म घटनास्थल पुगेर शव ल्याउने प्रक्रिया सुरु हुन्छ ।”
नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको संयुक्त लगानीमा पदमार्ग निर्माण थालिएको गाउँपालिकाले जनाएको छ । रासस