site stats
बाह्रखरी :: Baahrakhari
देश
डा. गुणाकर भट्टविरुद्धको रिट चौथो दिन पनि  ‘हेर्न नभ्याइने’मा

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टलाई समेत विपक्षी बनाइएको गभर्नर नियुक्ति मापदण्डविरुद्धको रिट आज बुधबार पनि ‘हेर्न नभ्याइने’मा परेको छ । 

उक्त रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासमा परेको थियो । तीन दिनदेखि लगातार ‘हेर्न नभ्याइने’मा परिरहेको उक्त रिट आज इजलासको ११औँ नम्बरमा थियो । चौथो दिन पनि हेर्न नभ्याइनेमा परेको हो । 

सरकारले गभर्नर बन्न ६५ वर्षे उमेरहद नलाग्ने गरी संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध अधिवक्ता विशाल थापाले रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरिम आदेश भएर तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा आदेश जारी भएको थियो । 

यसबीचमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका भट्टलाई गभर्नर बन्ने चर्चाकै भरमा विपक्षी बनाएर पूरक निवेदन परेको थियो ।

अन्तरिम आदेश छलफलका निम्ति आइतबारको पेसी तोकिएकामा शुक्रबार नै पूरक निवेदन दर्ता भएपछि उक्त रिट ‘हेर्न नभ्याइने’मा पर्दै आएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्