site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाली महिला र शिशुको कुपोषणविरुद्ध अमेरिकी संस्थाले सहकार्य गर्ने 

काठमाडौं । फ्रान्सको एक परोपकारी संस्थाले नेपालमा महिला र शिशुको कुपोषणविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती महिला तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका निम्ति एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका निम्ति प्रस्ताव गरेका थिए । 

फ्रान्सको पेरिसमा पोषणसम्बन्धी एक विश्व सम्मेलनमा सहभागिताका लागि त्यहाँ रहेका मन्त्री पौडेलले अमेरिकी सहायता संस्था एलेनर क्रुक फाउन्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग पेरिसस्थित नेपाली दूतावासमा वार्ता गर्दै यस्तो आग्रह गरेका हुन् ।
 
नेपालमा अहिले गर्भवती महिलालाई आइरन चक्की दिइन्छ ।  तर त्यसमा आइरन चक्की र फोलिक एसिड भए पनि अन्य विभिन्न १५ तत्त्व अभाव रहेको विज्ञहरूले बताउने गरेका छन् । 

गर्भवती महिला तथा नवजात शिशु दुवैमा कुपोषणमा कमी ल्याउन अहिले खुवाइने आइरन चक्कीको साटो कमी देखिएका १५ वटै तत्त्वको मिश्रण दिने सरकारको तयारी छ । 

यसका लागि सहकार्य गर्न मन्त्री पौडेलले गरेको आग्रहमा उक्त संस्थाले सघाउने प्रतिबद्धता जनाएको हो । फाउन्डेसनका प्रमुखले निकट भविष्यमा सम्झौता गर्न सकिने बताएका छन् । उक्त छलफलबाट उत्साही भएको मन्त्री पौडेलले बताए । 

“आर्थिक अभावमा मातृ शिशु स्वास्थ्य हेरचाह कमजोर नहोस् भन्नका लागि हामीले स्रोतको पहिचानका लागि प्रयास गरिरहेका छौँ,” मन्त्री पौडेलले भने, “यो वार्ता त्यसैको एक कडी हो । छलफलबाट हामी उत्साही छौँ ।” 

केही महिनाभित्रै सहकार्य गर्न सकिने गरी खाका बनेको भ्रमणमा सहभागी परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले बताए । 

नेपाली उद्योगलाई समेत पोषक तत्त्वमिश्रित सामग्री उत्पादनमा सहकार्य गर्न मन्त्री पौडेलले गरेको अनुरोधमा समेत संस्थाले सकारात्मक जवाफ दिएको मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्