site stats
बाह्रखरी :: Baahrakhari
देश
महानगरले बुझेन कवाड व्यवसायीको पत्र, भोलि कार्यालय घेराउ गर्ने

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएका छन् । महानगरले जफत गरेका सामान फिर्ता माग्नका निम्ति मंगलबार (भोलि) कार्यालय घेराउ गर्न लागिएको कवाड व्यवसायी संघका अध्यक्ष राम गुप्ताले बताए ।

महानगरले कवाड व्यवसायीमाथिको ज्यादती तत्काल नरोकिए थप संघर्ष गर्ने बताए । “हामीले भोलि बिहान साढे ११ बजे महानगरको टेकुस्थित कार्यालय घेराउ गर्दैछौँ । यसअघि जफत भएका सामानहरू फिर्ता माग्छौँ । त्यसैका लागि भोलिको कार्यक्रम घोषणा गरेका हौँ,” उनले भने ।

सोमबार महानगरलाई ज्ञापनपत्र बुझाउन जाँदा त्यहाँका पदाधिकारीले पत्र बुझ्न नमानेको उनले बताए ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका नेता ओमप्रकाश सिंह, जोगेन्द्र साह, मनोहर जैसवाल, सुरेश साह, सरोज श्रेष्ठ, गोपाल जैसवाल, उपेन्द्र साह, रविशंकर जैसवाल, कृष्ण यादव, श्याम यादव, आर्या पाण्डे लगायतको सहभागिता थियो ।

महानगरले कवाड व्यवासायीहरूको व्यवसायस्थलमा डोजर चलाएर आतंक मच्चाएको, तोडफोड गरेको, साइकल र सामान जफत गरेकोे आरोप छ ।

 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्