site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंका सीडीओलाई प्रश्न– निषेधाज्ञाले होली पर्व मनाउन बाधा पर्छ कि पर्दैन ?

काठमाडौं । काठमाडौंमा जारी गरिएको निषेध आदेश (निषेधाज्ञा)ले फागुपूर्णिमा (होली) पर्व मनाउन बाधा नपर्ने प्रशासनले स्पष्ट पारेको छ । तर, निषेधित क्षेत्रमा भेला भई विरोध गर्न पाइँदैन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, सिंहदरबार र नयाँ बानेश्वरस्थित संघीय संसद् भवन क्षेत्रमा आइतबार (फागुन २५)देखि दुई महिनासम्मका निम्ति निषेधाज्ञा जारी गरेको छ । यो निषेधाज्ञा विगतकै निरन्तरता भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले बताए ।

“त्यहाँ (निषेध आदेश) उल्लिखित कार्यक्रम निषेधित क्षेत्रमा गर्न पाइँदैन । यो नयाँ होइन, यसअघि पनि हुने गरेको थियो,” उनले बाह्रखरीसित भने, “विगतकै निरन्तरता हो ।”

संवेदनशील ती पाँच क्षेत्रमा पाँचजनाभन्दा बढी भेला भई कुनै पनि प्रकारका विरोधका कार्यक्रम गर्न नपाइने उनले स्पष्ट पारे । यीबाहेकका क्षेत्रमा निषेधाज्ञा आकर्षित नहुने उनले बताए ।

धार्मिक, सांस्कृतिक चाडपर्व मनाउन निषेधाज्ञाले नछेक्ने उनले जानकारी दिए । तर, त्यस नाममा उल्लिखित स्थानमा विरोध जुलुस, धर्ना गर्न नपाइने उनले बताए ।

“विगतदेखि चल्दै आएको सामाजिक, सांस्कृतिक पर्व मनाउन फरक पर्दैन,” सीडीओ तिवारीले भने, “होली मनाउन रोक लगाइएको छैन । त्यो कुरा सूचना पढ्दा पनि स्पष्ट हुन्छ ।”

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा मठमन्दिर परेको अवस्थामा त्यहाँ धार्मिक कार्य गर्न बाधा नपर्ने उनले स्पष्ट पारे ।

यो वर्ष फागुन २९ र चैत १ गते होली पर्व मनाइँदै छ । फागुन २९ गते काठमाडौंसहित पहाडी र हिमाली जिल्लामा होली मनाइनेछ । चैत १ गते तराईमा होली मनाइँदै छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्