site stats
बाह्रखरी :: Baahrakhari
देश
महिलाको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आज उक्त घटनामा संलग्नताका आधारमा सर्लाही घर भई हाल काठमाडौं गोठाटार बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुर घर भई हाल गोठाटार बस्ने २० वर्षीय  सुरेश तामाङ, नुवाकोट घर भई हाल गोठाटार बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोक घर भई हाल गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालकलाई पक्राउ गरेको हो । 

यही फागुन २४ गते गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बाग्मती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०–३५ वर्षकी महिलाको शव फेला परेको थियो । 

उक्त सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिई गई शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा निजको हत्यामा ती व्यक्तिहरूको संलग्नता खुल्न आएको थियो ।

उपत्यकाका विभिन्न स्थानबाट पाँचैजनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।रासस

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २२:५६
प्रतिक्रिया दिनुहोस्