site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संस्कृत विश्वविद्यालयको स्ववियु निर्वाचन तालिका प्रकाशित 

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयले यस वर्ष हुने स्ववियु निर्वाचनको तालिका प्रकाशन गरेको छ । विश्वविद्यालयले आगामी चैत १० गतेका लागि निर्वाचनको मिति तोकेको छ । 

जसअनुसार यही फागुन २७ गते बिहान १० देखि ४ बजेसम्मका लागि संगठन दर्ताको समय छुट्याइएको छ । फागुन २८ गते बिहान ११ बजे मतदाता सूची प्रकाशन गर्ने र १२ देखि ४ बजेसम्म मतदाता सूचीमा दाबीविरोधका लागि समय तोकिएको छ । 

चैत ३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, सोही दिन ४ बजेसम्म उम्मेदवारको प्रत्यक्षतर्फको र समानुपातिकतर्फको मनोनयनपत्र तथा प्रस्तावित नामावली दाखिला गर्ने कार्यतालिका छ । 

चैत ५ गते प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने, सोही दिन  उम्मेदवारको नामावलीउपर दाबीविरोध गर्ने समय छुट्याइएको छ ।

चैत ६गते दाबीविरोधउपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने, ७ गते दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ भने सोही दिन ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । 

चैत १० गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि मतदानको समय तोकिएको स्ववियु निर्वाचन केन्द्रीय मूल समितिले जनाएको छ ।

नेपालका दुई पुराना विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा स्ववियु निर्वाचन हुने गरेको छ । त्रिभुवन विश्वविद्यालयले भने यसअघि नै चैत ५ गतेका लागि निर्वाचनको मिति तोकको छ । 

nsu-1741273539.jpg
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्