site stats
बाह्रखरी :: Baahrakhari
देश
अछाममा दुई किशोरी मृत फेला, दुई किशोर पक्राउ : घटनास्थलमा के देखिन्छ ?
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । अछाममा दुई किशोरी मृत फेला परेको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाको पहिचान खुलाएको छैन ।

“सोधपुछका लागि हिजो (आइतबार) दुईजनालाई ल्याएका छौँ,” जिल्ला प्रहरी कार्यालय अछामका इन्स्पेक्टर (प्रहरी निरीक्षक) टेकबहादुर देउवाले बाह्रखरीसित भने, “उनीहरू यहीँका हुन् । अनुसन्धान हुँदै छ ।”

अछामको ढकारी गाउँपालिका–१, छिन्ने ओढार भन्ने ठाउँमा दुई किशोरीको शव फेला परेको हो । ढकारी–८, पल्साताका अन्दाजी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईश्वरी खड्काको शव फेला परेको प्रहरी निरीक्षक देउवाले जानकारी दिए ।

नातामा उनीहरू फुपू–भदैनी हुन् । सरस्वती फुपू र ईश्वरी भदैनी रहेको प्रहरीले जनाएको छ ।

गएको शुक्रबार (माघ ११) दिउँसो उनीहरू बाख्रा चराउन घरबाट निस्किएका थिए । बेलुका उनीहरू घर फर्किएनन्, बाख्रा मात्र फर्किएका थिए । खोज्दै जाने क्रममा शनिबार (माघ १२) छिन्ने ओढारमा उनीहरू मृत फेला परेको उनले जानकारी दिए ।

उनीहरूका शव पोस्टमार्टमका निम्ति आइतबार राति बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइएको उनले बताए ।

उनका अनुसार, शव फेला परेको स्थानभन्दा माथि भीर छ । त्यहाँबाट ढुंगा खसेको देखिन्छ । “त्यहाँ (शव फेला परेको स्थान) माथि भीर छ, भीरबाट ढुंगा खसेको देखिन्छ,” उनले भने, “तर, त्यो के हो भन्ने पुष्टि भएको छैन ।”

हत्या हो वा अरू कुनै कारणले मृत्यु भन्ने निष्कर्षमा प्रहरी पुगिसकेको छैन । कारण, शव पोस्टमार्टम हुँदै छ । पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि घटनाबारे विस्तृतमा भन्न सकिने इन्स्पेक्टर देउवाले बताए ।

घटना अनुसन्धानका निम्ति नेपालगन्जबाट प्रहरीको एउटा तालिमप्राप्त कुकुर समेत लगिएको थियो । आफूहरूले सूक्ष्म रूपमा अनुसन्धान गरेको अछामका डीएसपी ईश्वरी भण्डारीले बताए ।

उनका अनुसार, किशोरीका टाउकोमा चोट लागेको छ । लडेको देखिन्छ । घस्रिएको/घिसारिएको देखिन्छ ।

“उनीहरू (पक्राउ परेका) २० वर्षमुनिका हुन् । शंका लागेर अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ,” डीएसपी भण्डारीले भने, “उनीहरू स्थानीय हुन् । अनुसन्धान हुँदै छ, घटना के कसरी भयो भन्ने अहिले नै भन्न सकिने अवस्था छैन ।”

शव फेला परेको स्थान ढुंगैढुंगा रहेको जंगल क्षेत्र भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्