site stats
बाह्रखरी :: Baahrakhari
देश
सिँचाइ विभागका तत्कालीन इन्जिनियर श्रेष्ठको अवैध कमाइ पाँच करोड !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जलस्रो तथा सिँचाइ विभाग तथा अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर श्रेष्ठले ठेकेदारसँग मिलेमतो गरे‍र कमिसन लिएर काठमाडौं, ललितपुरलगायत विभिन्न स्थानमा घर घडेरी तथा जग्गा जोडेको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अख्तियारले श्रेष्ठ सार्वजनिक सेवा प्रवेश गरेको २०४६ असार ३० गतेदेखि २०७७ असार ३१ गतेसम्मको अवधिको अनुसन्धान गरेको थियो । जाँच अवधिमा श्रेष्ठ, उनको श्रीमती, छोरा र छोरी सबैको वैधानिक आय जोड्दा ११ करोड २५ लाख ६५ हजार १९९ रुपैयाँ १७ पैसाको स्रोत खुलेको थियो । 

सोही अवधिमा श्रेष्ठको खर्च तथा लगानी भने १६ करोड १३ लाख ९५ हजार ५२८ रुपैयाँ ७१ पैसा देखिएको थियो । जाँच अवधिमा श्रेष्ठको चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ ५४ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति)को स्रोत नखुलेको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । 

आइतबार दायर गरिएको मुद्दामा श्रेष्ठसँग चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँ बिगो दाबी गरिएको छ । 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्