site stats
बाह्रखरी :: Baahrakhari
देश
बैंकको रकम अपचलन गर्ने कर्मचारीबाट एक अर्ब एक करोड ७९ लाख असुल हुने फैसला

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा केदारप्रसाद गौतम र कृष्णहरि थापालाई जनही ८ वर्ष कैदसहित ४१ करोड ७७ लाख ५० हजार रुपैयाँ असुल हुने फैसला गरेको छ ।

१० वर्षअघि कृषि विकास बैंकका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतम र कृष्णहरि थापाले छद्म नाम उल्लेख गरी बैंकको रकम अपचलन गरेका थिए ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले गौतम र थापाद्वयलाई १३ करोड ९२ लाख ५० हजार बिगो कायम गरी दोब्बर जरिवानासहित कैद सजाय निर्धारण गरेको हो । 

यस्तै, अर्का अभियुक्त सूर्यबहादुर लिम्बूको हकमा भने ६ करोड आठ लाख बिगो कायम गरी त्यसको दोब्बर जरिवानासहित १८ करोड २४ लाख असुल गर्ने फैसला गरेको छ । लिम्बूलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

बैंकको स्वयम्भू शाखाबाट ३३ करोड ९३ लाख रुपैयाँ निकालिएको खुलेपछि उनीहरूविरुद्ध अनुसन्धान थालिएको थियो । तीनैजनाले ‘छद्म नाम’मा रकम अपचलन गरेको भेटिएको हो । अनुसन्धानका क्रममा केदारप्रसाद गौतमले ‘तेजबहादुर’, कृष्णहरि थापाले ‘राजीव थापा’ र सूर्यबहादुर लिम्बूले ‘बसन्त राई’ भन्ने छद्म नाम राखेको खुलेको थियो ।

गौतम, थापा र लिम्बू यसअघि बैंकिङ कसूर, भ्रष्टाचार र सरकारी कागजात कीर्तेसमेतका मुद्दामा दोषी ठहर भइसकेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दामा भने यही पुस १४ मा फैसला गरी सोमबार सजाय निर्धारण भएको हो ।

उनीहरूले ०७१ असारदेखि एक वर्षमा ५५ पटकमा गरी ३३ करोड ८२ लाख ५७८ रुपैयाँ निकालेका थिए ।  
 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १९:२२
प्रतिक्रिया दिनुहोस्