site stats
बाह्रखरी :: Baahrakhari
देश
डडेलधुराका प्रजिअले आफ्नै विषयमा आएको समाचार हटाउन लगाए, महासंघको ध्यानाकर्षण 

काठमाडौं । नेपाल पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालय डडेलधुराले एक न्यूज पोर्टललाई समाचार हटाउन गरेको पत्राचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघका तर्फबाट महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरेर सिमाना न्युज डटकमलाई समाचार हटाउन गरिएको पत्राचारप्रति विरोध जनाएका हुन् ।
   
‘‘महासंघ डडेलधुरा शाखाका अनुसार यही पुस १६ गते मंगलबार उक्त अनलाइनमा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको विषयमा समाचार प्रकाशित भएको थियो,’’ विज्ञप्तिमा भनिएको छ, ‘‘सोही समाचारलाई लिएर प्रमुख जिल्ला अधिकारी न्यौपानेले कार्यालयकै लेटरहेड प्रयोग गरी न्यूज पोर्टल/च्यानलबाट समाचार हटाउन पत्राचार गर्नुका साथै पत्रकारलाई धरपकड गर्ने मौखिक धम्कीसमेत दिएका छन् ।’’

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने प्रचलित प्रावधान रहेको भन्दै महासंघले त्यसलाई बेवास्ता गर्दै प्रमुख जिल्ला अधिकारीजस्तो जिम्मेवार व्यक्तिबाट पदीय मर्यादाविपरीत गरिएको हर्कत अन्यन्त निन्दनीय रहेको जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ,‘‘यो कदमलाई महासंघले प्रेस स्वतन्त्रतामाथिको ज्यादतीका रूपमा लिएको छ । यस किसिमका हर्कतले संविधानप्रदत्त पत्रकारको अधिकारमाथि आघात पुग्नुका साथै लोकतान्त्रिक मूल्य मान्यताको समेत उपहास भएको महासंघको ठहर छ । महासंघ प्रेसविरोधी यो हर्कतको कडा शब्दमा भर्त्सना गर्दछ ।’’

सञ्चारमाध्यमको संवैधानिक अधिकारको ख्याल गर्न र यस्ता घटना नदोहोर्‍याउन महासंघले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको महासचिव दाहालले जनाएका छन् । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  २१:५६
प्रतिक्रिया दिनुहोस्