site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इमरान खानको रिहाइ माग गर्दै हजारौँ सडकमा उत्रिए, विश्वका ६० सहरबाट समर्थन

काठमाडौं । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै हजारौँको समर्थनमा प्रदर्शन भएको छ । हजारौँको सहभागितामा भइरहेको प्रदर्शन राजधानी इस्लामावादतर्फ अघि बढेको छ । जेलमा रहेका इमरान खानको अपिलमा आइतबारदेखि प्रदर्शन सुरु भएको हो । इमरानले यस विरोधलाई ‘फाइनल कल’ भनेका छन् ।

प्रदर्शनलाई रोक्न प्रहरीले इमरानका चार हजारभन्दा बढी समर्थकलाई पक्राउ गरेको छ । जसमा पाँच सांसद पनि छन् ।

यसैबीच, पाकिस्तानमा जारी विरोध प्रदर्शनले विश्वभरबाट समर्थन पाएको छ । विश्वका ६० भन्दा बढी सहरमा पीटीआईका समर्थकले इमरान खानको रिहाइको माग गरिरहेका छन् । पीटीआईले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा क्यानडा, अमेरिका, बेलायतका धेरै सहरका प्रदर्शनका तस्बिरहरू सेयर गरेको छ ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको पाकिस्तान भ्रमणलाई ध्यानमा राख्दै शाहबाज सरिफ सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । राजधानी इस्लामावाद जाने मुख्य सडकहरू नोभेम्बर २३ मा कन्टेनर प्रयोग गरेर बन्द गरिएको थियो ।  हजारौँ प्रहरी पनि तैनाथ गरिएको छ । धेरै ठाउँमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ ।

इमरानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले मुख्यगरी तीन मागसहित प्रदर्शन गरिरहेको छ । पहिलो, इमरान खान र पीटीआई कार्यकर्तालाई छिट्टै रिहा गरिनुपर्ने, दोस्रो २०२४ मा भएको निर्वाचनको नतिजा स्वीकार गर्नुपर्ने र संसद्‌बाट पारित भएको अदालतको शक्ति घटाउने २६औँ संवैधानिक संशोधन ऐनलाई फिर्ता लिने ।

इमरान खानविरुद्ध सयभन्दा बढी मुद्दा विचाराधीन छन् । इस्लामावादको स्थानीय अदालतले अगस्ट ५, २०२३ मा उनलाई तोशाखाना मुद्दामा दोषी ठहर गरेको थियो । त्यसपछि उनलाई इस्लामावादको जमान पार्कस्थित घरबाट पक्राउ गरी जेल पठाइएको थियो । पछि उनी थप दुई मुद्दामा दोषी ठहर भएका थिए ।

अङ्ग्रेजी पत्रिका डनका अनुसार, इमरान जेलबाट बाहिर आए भने उनले पाकिस्तानमा पुनः निर्वाचनको माग उठाउने छन् ।

एजेन्सीहरूको सहयोगमा ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्