site stats
बाह्रखरी :: Baahrakhari
खेल
पोखराले भित्रायो आन्द्रेस गौसलाई

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । उनी एनपीएलमा आबद्ध हुने पहिलो विदेशी खेलाडी बने ।

एनपीएल १५ मंसिरबाट ६ पुससम्म हुँदै छ । त्यसका लागि पोखराले ३० वर्षीय गौसलाई अनुबन्ध गरेको हो । दायाँ हाते ब्याटरले उमेर समूहमा दक्षिण अफ्रिकाका लागि खेलेका थिए ।

उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा ५९८ रन बनाएका छन् । अमेरिकाबाट तीन एकदिवसीय खेल्दा १५२ रन बनाएका छन् । उनले सन् २०२४ मा क्यानाडाविरुद्ध डेब्यू गर्दै अमेरिकाको प्रतिनिधित्व गरेका थिए ।

पोखरा एभन्जर्सका मालिक सुवोध त्रिपाठीले गौसलाई उच्च प्रदर्शनका लागि शुभकामना दिएका छन् ।

पहिलोपटक नेपालमा लिग खेल्न लागेका गौसले उत्साहित रहेको बताए ।

यसअघि, पोखराले इन्डियन प्रिमियर लिग (आईपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजीव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् ।

पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  २२:०८
प्रतिक्रिया दिनुहोस्