site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

बाँके । विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन गरिँदै छ । यहाँका सहरबजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मानखोला र कर्णाली नदीमा लगेर सेलाइने गरिन्छ ।

ट्रक, ट्याक्टरलगायत सवारीसाधनमा मूर्ति राखेर लावालस्करसहित बाजागाजा बजाएर नाचगान गर्दै मूर्ति सेलाउने गरिएको दुर्गापूजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले बताए ।

घटस्थापनाको दिनदेखि स्थापना गरिएका मूर्तिको नौ दिनसम्म विशेष पूजापाठ गरी दसैँको भोलिपल्ट अर्थात् आज सेलाइने परम्परा रहेको पण्डित शिवप्रसाद पाठकले बताए । उनका अनुसार, नौ दिनसम्म दुर्गा सप्तसतीको पाठ गर्ने गरिन्छ र नवमीका दिन विशेष पूर्णाहुती गरी पूजापाठ सकिन्छ ।

मूर्ति विसर्जन कार्यक्रमलाई सौहार्द, शान्तिपूर्ण बनाउन र सामाजिक सद्भावलाई ख्याल गर्दै विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक यामबहादुर बुढाले आज बिहान १० बजेदेखि नै मूर्ति विर्सजन हुने रुटलगायत जिल्लाभरि सुरक्षा व्यवस्थापनका निम्ति एक हजार प्रहरी परिचालन गरिएको जानकारी दिए । उनले बाँकेमा करिब ६०० दुर्गा मूर्ति विसर्जन गरिने अनुमान रहेको बताए । रासस
 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्