site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
एक पीडितको अपेक्षा र दाहालको दायित्व

प्रकाश ३६ वर्षको अल्पायुमै गए । मृत्यु यति अप्रत्याशित पनि हुँदोरहेछ । अकल्पनीय र अविश्वसनीय लाग्ने ! नियतिको खेलजस्तो तर  कालगतिले बिते पनि धेरैलाई यसले स्तब्ध बनायो । राजधानीको मुटुमै रहेर पनि उनले बेलैमा अस्पताल पुग्न पाएनन् र निशब्द मृत्युवरण गरे। प्रकाशको विगत जे भए पनि सबैले यसलाई असह्य मानवीय पीडाका रूपमा लिए र श्रद्धाञ्जली दिए । दाहाल परिवारको दुःखमा साथ दिए ।

यो दुःखद खबर सुन्नेबित्तिकै विगतमा कठोर पुत्र वियोग खेपेका मेरा पिताजीले साह्रै अमिलो मन गरी भन्नुभयो — “साह्रै नराम्रो भएछ ! जवान छोराको मृत्युको पीडा असह्य हुन्छ । प्रचण्ड र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्। “ 

यता सामाजिक सञ्जालमा केही आलोचना नभएका होइनन् तर तिनलाई नगन्य र बेअर्थको मान्नुपर्छ – किनभने प्रकाश अब रहेनन्  । अब उनका कर्मको नकारात्मक चर्चा आवश्यक छैन । भनिन्छ, मृत्युले अँगालेको मानिस सबै अवगुण अझ भनौँ कुकर्मकै लागि पनि सम्पूर्णरुपले दोषमुक्त हुन्छ । उसले जितेको मानिन्छ । पीडादायी नियतिको खेल वा  निर्दयी समयको क्रूरताले जिन्दगीको सपना अधुरै र क्षणभरमै शून्य बनाई दियो । अझ पुष्पकमल दाहालले बितेको २ — ३ वर्षबीचमा धेरै पारिवारिक क्षति बेहोर्नुपर्यो । जवान पुत्रलाई दागबत्ती दिनेजस्तो जीवनकै कष्टसाध्य परिस्थिति सामना गर्नुप¥यो । यहीँनिर दाहालसँग अपेक्षा गरेर केही लेख्दैछु । 

Argakhachi Cement Island Ad

जसरी अब प्रकाश फर्किंदैनन् उनको स्मृतिमात्र बाँकी छ ।  त्यस्तै र यसभन्दा बढी कष्टदायक  हजारौं पीडाहरु नेपाली समाजमा सम्बोधित हुन बाँकी छन् । यसो भन्दा अझ अन्यथा हुन जाला । त्यसभन्दा कैयांै गुणा गह्रौं पीडायुक्त घटनाबाट अस्वाभाविक मृत्युवरण गरेका, निरीह बाध्यताले कालको पन्जामा घेरिएका र आस्थाकै कारणले जीवनक्रम समाप्त पारिएका आत्माको शान्तिका लागि सार्थक काम हुन बाँकी छ । त्यसैले यो क्षति र पीडा बलात् भोग्न विवश पारिएका पीडितलाई सहानुभूतिसहित द्वन्द्वको घाउ पुरेर शान्ति प्रक्रियाको अन्तिम कार्य टुंग्याउने कार्यमा पुष्पकमल दाहालले अग्रसरता लिँदै पुत्रशोकलाई एउटा मौकामा रुपान्तरण गर्न सक्नुपर्छ । 

यहाँ फेरि मृत्युचक्रको पीडालाई विचार गरौँ । स्वाभाविक कालगतिको इहलीला समाप्ति त यति पीडादायी हुँदोरहेछ भने नियत, लक्ष्य, साधना वा युद्धकै नाममा भएका हत्या कति कष्टपूर्ण र असह्य भए होलान् ? अचानोमा राखेर छप्काइएका, छाला तरेर नुन, खुर्सानी र सिस्नो लगाइएका, गोली हानेर मारिएका, जिउँदै गाडिएका, शरीरमा ढुङ्गा बाधेर अक्करे भिरबाट लडाइएका, आतंककारी वा सुराकी जे जे भनेर मारिएका भए पनि हजारौं नेपालीले दाहाकै शब्दमा धेरै ठूलो बलिदान दिएका छन् । नेपाल र नेपालीले यो नियति फेरि देख्नु भोग्नु हुँदैन । मृत्यु र हत्याको भेद विचार गरी सहज अनुमान लगाउन अबेर नगरी यसलाई आत्मसात् गर्दै सशस्त्र द्वन्द्वको नेतृत्व र शान्ति प्रक्रियाको एक मुख्य पक्षको नाताले समेत दाहालले यसलाई टुंग्याउन र भाव, वैरभाव वा प्रतिशोधको अन्त्य गरी साँचो मेलमिलापको स्थिति बनाउन ढिला गर्नुहुँदैन । 

\"\"विसं २०५९ मा मेरा दाजु भोजराज भुसाल (शिक्षक) ३३ वर्षको युवा वयमै हुम्लाको अनकन्टार ठाउँमा नियोजित हत्याको पञ्जामा पारिनुभएको थियो । हाम्रो परिवारमा २८ वर्षकी भाउजुको वैधव्य, ५ र २ वर्षका छोराहरु विदुर, सुशीलको अबोध टुहुरोपन, ६३ वर्षका पिताजी कृष्णप्रसाद भुुसालले कुशको छोरोलाई दागबत्ती दिनुपरेको क्षण, मुर्छित आमाले त्यसपछि निरन्तर अर्ध बेहोसी र अवसादमा रहेर २०६७ मा परमधाम जानुपरेका नियतिका कथा कता कता उस्तै देखिएका छन् । परिस्थिति र घटनाक्रम फरक भए पनि प्रसिद्ध र प्रणवमा आफ्नै भतिजाको कथा दोहोरिए झैँ भएको छ ।

भरतपुर जाँदा दाहालको काखमा खेलिरहेको प्रणवलाई देखेर आफ्नै विगत सम्झेर रोएँ सँगै फेरि उसको अबोध हाँसो हेरेर आशावादी भएँ । संसार रोइरहेको थियो । प्रणवलाई थाहा थिएन, हाँसिरहेका  थिए सुशीलजस्तै । हामीले विदुर, सुशील हेरेरै यी १५ वर्ष बिताएका छौँ । यहीँनेर पुष्पकमल दाहाललाई हार्दिक सहानुभूति र समवेदनासहित अपिल गर्न चाहन्छु अब बदलिनुस्, तपाईँ  नेता हुँदै हो, राजनेता बन्नुस् । द्वन्द्वका घाउ पुर्न लाग्नुहोस् । त्यसलाई तपाईँले चाहेमात्र सम्पन्न गर्न सक्नुहुन्छ । स्वीकार्नुहोस् ‘बन्दुक उठाउनु  गल्ती थियो’ । यसै पनि बन्दुक छोडेर मत माग्न थालेको १० वर्ष भयो अब मन माग्नुहोस् । क्षमा लिनुस् । आउनूस् ! मेरा पिताजीसँगै अँगालो हालेर दुःख भुलाउन रुनुहोस् र द्वन्द्वलाई सधैँका लागि अन्त्य गरौँ ।

यो  एकपक्षीय आग्रह होइन । समाज कुनै न कुनै रुपमा द्वन्द्व भाव, वैरभाव र सुषुप्त पीडामा छँदैछ, त्यसलाई समूल अन्त्य गरी भाइचारा र आत्मीयता विकास गर्ने अवसरका रुपमा यसलाई आत्मसात् गर्नुहोस् । हामीलाई थाहा छ — जसरी प्रकाश फर्किंदैनन्, हाम्रा प्रियहरु पनि फर्किंदैनन् तर दुःख साट्न सकिन्छ । मेलमिलाप र दिगो शान्ति ल्याउन सकिन्छ । सत्य निरुपण गरी न्यायको अनुभूति गराउन सके पुराना घाउ बिर्सिएर नयाँ आशा र जीवन ल्याउन सकिन्छ । उसै पनि सत्यनिरुपण र मेलमिलाप शान्ति प्रक्रियाको नटुङ्गिएको एउटा महत्त्वपूर्ण कार्यभार हो । यसलाई राजनीति र रणनीतिको माँखे साङ्लोमा हाल्न छोडेर शान्ति सम्झौताबमोजिम न्यायिक निरुपणमा लग्न अग्रसरता लिनुहोस् । 

आखिर के पो रहेछ र त जीन्दगी !

संविधान कार्यन्वयनकै क्रममा मुलुक सम्पूर्णरुपले निर्वाचनमा होमिएका बेला अत्यन्त ठूलो पारिवारिक पीडामा पर्नुभएको तपाईँलाई उम्मेदवारहरु लक्षित बम विष्फोट र आक्रमणका घटनाले पनि छोएको हुनुपर्छ । यस घडीमा तपार्इँलाई समवेदना दिन विप्लव आए होलान्,  उनलाई फर्किन र थप भड्किन नदिनुहोस् । उमेरले तपाईका भाइ सरहका विप्लवलाई मत राजनीतिको महत्ता बोध गराई हिंसा र प्रतिहिंसाको चक्करबाट मुलुक फेरि रगताम्मे हुन नदिनसमेत सम्झाउने र नेत्रविक्रम चन्दका रूपमा शान्तिपूर्ण  राजनीति मा स्थापित गराउने दायित्व पनि तपार्इँले लिनुपर्छ । किनभने उनी तपाईँकै शिष्य हुन् । 

संविधान सभाले संघीय लोकतांत्रिक गणतन्त्रलाई संस्थागत गरेको छ । समावेशी राजनीतिले सबैलाई एउटा अवसर दिएको छ । आवधिक निर्वाचनले जनताका प्रतिनिधि छानिदैछन् । खास शक्तिका स्रोत नागरिक र तिनकै मतादेश हो भन्ने प्रमाणित हँुदैआएको छ। यसपटक तपाईँको रणनीति अद्वितीयरुपमा अनुमोदन गर्दै वाम गठबन्धनलाई अभूतपूर्व बहुमत दिएर नागरिकहरुले गरुङ्गो जिम्मेवारी प्रदान गरेका छन् । यो मतादेश पनि खेर फाल्ने छुट तपार्इँलाई नभएको विदित होला !

अर्कातिर नेपाली कांग्रेसको अप्रत्याशित हार र यसले आगामी दिनमा समाज व्यवस्थामा पार्नसक्ने प्रभावलाई पनि छिटै आकलन गर्नु बुद्धिमत्ता हुनेछ । जे होस्, अतुलनीय संभावना र स्रोतहरुले सम्पन्न नेपाल र शान्तिप्रिय नेपालीहरुले अब समृद्धिको सपना सजाइरहेका छन् । यो सपना कुनै हालतमा लुटिनु हुँदैन । यसका लागि पनि शान्ति, अमनचयन र परस्पर गहिरो विश्वासको साथ स्वस्थ प्रतिष्पर्धाको लोकतान्त्रिक यात्रा सुनिश्चित गन्तव्यमा पुग्नुपर्छ । 

निजी जीवनका घटनाक्रमहरुले व्यक्तिको विचारधारा, जीवनयात्रा तथा राजनीतिसमेत  परिवर्तन भएका कैयौं उदाहरण छन् । त्यसैले मार्ग परिवर्तनका लागि एक पीडितको नजरले तपाईँको समय दृष्टि र दायित्व यही हुनुपर्छ भन्ने मेरो निष्कर्ष र आग्रह हो ।

(नेपाल शिक्षक सङ्घका कोषाध्यक्ष  तथा स्व. भोजराज भुसालका कान्छा भाइ ) 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०७४  ०९:१८
प्रतिक्रिया दिनुहोस्