site stats
बाह्रखरी :: Baahrakhari
देश
युवती प्रयोग गरेर मासु व्यवसायी विनोदको हत्या, अपहरणकारीले बुझेका थिए पाँच लाख !

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–८ मा मृत अवस्थामा भेटिएका कीर्तिपुरका ५० वर्षीय विनोद खड्गीको अपहरणपछि हत्या गरिएको खुलेको छ । विनोदको हत्यामा संलग्न रहेको आरोपमा काभ्रे प्रहरीले पाँच जनालाई पक्राउ गरेर बुधबार सार्वजनिक गरेको छ ।

कीर्तिपुरमा मासु पसल चलाउँदै आएका विनोद असोज ६ गते पाँचखालमा मृत अवस्थामा भेटिएका थिए । सुरुमा प्रहरीलाई उनको शव पहिचान गर्न सकस परेको थियो । पछि काभ्रे प्रहरीले सामाजिक सञ्जालमार्फत शव पहिचानका लागि फोटो सार्वजनिक गरेको थियो । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको फोटो देखेपछि विनोदका छोराले उनको सनाखत गरेका थिए ।

विनोदका छोराले बुबाको हत्या गरिएको भन्दै अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अनुसन्धान गरेको प्रहरीले अपहरणपछि हत्या गरिएको खुलाएको काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए ।

अपहरण गर्ने समूहले विनोदबाट पाँच लाख रुपैयाँसमेत लिएको खुलेको छ । पछि उजुरी दिन सक्ने डरले उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुपाल्चोककी २१ वर्षीया मनिशा महत, काठमाडौं साँखुका २२ वर्षीया सरिन घिमिरे, सोही ठाउँका २१ वर्षीय रिकेश पौडेल, महोत्तरीका २० वर्षीय आशिष पासवान, बागलुङका १९ वर्षीय प्रतीक गौतमलाई पक्राउ गरेको छ । उनीहरूबाहेक केही अझै फरार रहेको काभ्रे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, विनोदलाई मनिशाले असोज ५ गते नै भक्तपुरको राधेराधेमा बेलाएकी थिइन् । उनकै योजनामा लुटपाट गर्ने उद्देश्यले विनोदलाई बोलाइएको खुलेको छ । उनीहरूले मनिशाकै कोठाबाट योजना बनाएका थिए । योजनाअनुसार मदिरा खुवाएर विनोदकै गाडीमा राखेर उनीहरूले भक्तपुरको गुण्डु लिएर हत्या गरेको खुलेको छ ।

हत्यापछि उनको गाडीबाट विनोदको शव फालेको खुलेको डीएसपी घलेको भनाइ छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्