site stats
बाह्रखरी :: Baahrakhari
देश
असोजमा अत्यधिक गर्मी : १५ स्थानको तापक्रममा ‘रेकर्ड ब्रेक’

काठमाडौं । नेपालमा यो वर्ष सेप्टेम्बरमा १५ स्थानको अधिकतम तापक्रममा ‘रेकर्ड ब्रेक’ भएको छ । ती स्थानमा अघिल्ला वर्षको सेप्टेम्बरको तुलनामा यसपालि बढी तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

विगतका वर्षको तुलनामा यसपालि सेप्टेम्बरमा सिरहाको लहान, काठमाडौं, भक्तपुरको चाँगुनारायण, धनकुटा, डडेलधुरा, सिन्धुपाल्चोकको बाह्रबिसे, ललितपुरको खुमलटार, ताप्लेजुङलगायत स्टेसनमा बढी तापक्रम मापन गरिएको विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिए ।

यही सेप्टेम्बर १३ मा लहानको अधिकतम तापक्रम ३८.६ डिग्री सेल्सियस मापन गरिएको थियो । “सेप्टेम्बर महिनाको लागि लहानको केसमा यो रेकर्ड ब्रेक हो । लहानको सबैभन्दा बढी त अरू नै छ, सेप्टेम्बरको धेरैचाहिँ यो हो,” उनले बाह्रखरीसित भने ।

उनका अनुसार, यही सेप्टेम्बर २२ (हिजो)मा लहानको अधिकतम तापक्रम ३८.५ डिग्री सेल्सियस थियो । गत वर्षको सेप्टेम्बरमा लहानको सबैभन्दा बढी तापक्रम ३८ डिग्री सेल्सियस थियो । सन् २०२३ सेप्टेम्बर १८ मा उक्त तापक्रम मापन गरिएको थियो ।

लहानको हालसम्मकै बढी तापक्रम भने सन् २०१४ मे १५ मा ४२.५ डिग्री सेल्सियस मापन गरिएको थियो । सेप्टेम्बर महिनाको मात्र तुलना गर्दा यो वर्ष रेकर्ड ब्रेक भएको उनले बताए ।

यस्तै, यही सेप्टेम्बर १९ मा काठमाडौंको अधिकतम तापक्रम ३२.६ डिग्री सेल्सियस मापन गरिएको छ । सेप्टेम्बर २२ (हिजो)मा काठमाडौंको अधिकतम तापक्रम ३२.५ डिग्री सेल्सियस मापन गरिएको छ । यो महिनामा काठमाडौंको यसअघिको बढी तापक्रम सन् २०१२ सेप्टेम्बर ८ मा ३२.३ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् हुमागाईंले जानकारी दिए ।

काठमाडौंमा हालसम्मकै बढी तापक्रम भने सन् १९८९ मे ७ मा ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । गएको जुन १५ मा काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरिएको थियो । काठमाडौंमा त्यो २५ वर्षयताकै बढी तापक्रम थियो ।

यही सेप्टेम्बर २२ मा चाँगुनारायणको अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस मापन गरिएको छ । “यो पनि रेकर्ड ब्रेक नै हो, चाँगुनारायण स्टेसनमा । पहिला त्यो स्टेसनमा सेप्टेम्बरमा ३२.५ सम्म मात्रै थियो, २०२३ सेप्टेम्बर १६ मा,” उनले भने ।

यो वर्ष सेप्टेम्बर २२ मा धनकुटाको अधिकतम तापक्रम ३३.८ डिग्री सेल्सियस मापन गरिएको छ । यही महिनाको तुलना गर्दा धनकुटाको अधिकतम तापक्रम यसअघिको रेकर्ड सन् २०११ सेप्टेम्बर ९ मा ३३.२ डिग्री सेल्सियस थियो ।

यही सेप्टेम्बर २० मा डडेलधुराको अधिकतम तापक्रम २८.९ डिग्री सेल्सियस मापन गरिएको छ । “डडेलधुरा स्टेसनमा पनि रेकर्ड ब्रेक भएको छ,” उनले भने, “पहिला २८.५ मात्रै थियो, २००९ को सेप्टेम्बर २८ मा ।”

यसैगरी, यो वर्ष सेप्टेम्बर २२ मा बाह्रबिसेको अधिकतम तापक्रम ३५.६ डिग्री सेल्सियस मापन गरिएको छ । यो महिनाको निम्ति बाह्रबिसेको तापक्रम यसअघिको रेकर्ड सन् २०१७ सेप्टेम्बर १० मा ३५.५ डिग्री सेल्सियस थियो ।

आइतबार (हिजो) खुमलटारको अधिकतम तापक्रम ३३.० डिग्री सेल्सियस मापन गरिएको छ । “यो ३२.२ थियो पहिला, अघिल्लो वर्ष (२०२३)को सेप्टेम्बर ६ मा,” उनले भने ।

यही सेप्टेम्बर २२ मा ताप्लेजुङको अधिकतम तापक्रम २९.६ डिग्री सेल्सियस मापन गरिएको छ । त्यहाँ यो पनि रेकर्ड ब्रेक हो । यसअघिको रेकर्ड तापक्रम सन् २०१७ सेप्टेम्बर १७ मा २९.० डिग्री सेल्सियस थियो ।

“हाम्रो रेकर्डमा १५ वटाजति स्टेसनमा रेकर्ड ब्रेक देखिन्छ सेप्टेम्बरमा,” मौसमविद् हुमागाईंले भने ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्