site stats
बाह्रखरी :: Baahrakhari
देश
विराटनगरमा सिटी रिक्सा चालकको प्रदर्शन

विराटनगर । राजमार्गमा सञ्चालन हुन नदिने निर्णयविरुद्ध सिटी रिक्सा चालकले विराटनगर महानगरपालिका कार्यालय घेराउ गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर महानगरसँगको समन्वयमा बिहीबारदेखि महानगर क्षेत्रभित्र पर्ने कोसी राजमार्गमा सिटी रिक्सा सञ्चालन गर्न रोक लगाइएको छ । 

रोजीरोटी खोस्ने निर्णय भएको जनाउँदै शुक्रबार रिक्सा चालकले महानगर कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन् । यसअघि उनीहरूले राजमार्गमा सिटी रिक्सा तेस्र्याएर यातायात सञ्चालनमा अवरोध गरेका थिए ।
 
भारतसँगको सीमाको रानीदेखि विराटनगरको पहडगछ ढाटसम्म कोसी राजमार्गमा गुड्ने सिटी सफारीलाई रोक लगाइएको छ । राजमार्गमा सिटी सञ्चालन नगर्न भन्दै विराटनगर महानगरपालिकाले माइकिङ समेत गरेको थियो ।

विराटनगरमा दुई हजार सिटी रिक्सा दर्ता छन् । तर आठ हजार रिक्सा चल्ने गरेको अनुमान छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले राजमार्गमा सिटी रिक्सा चल्न रोक लगाइएको बताए । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्