site stats
बाह्रखरी :: Baahrakhari
देश
मानसरोवर जाने सडक सञ्चालनमा
रसुवागढीस्थित मितेरीपुल । फाइल तस्बिर ।

रसुवा । मानसरोवर कैलाश जाने चीनतर्फको भूभागमा वर्षाका कारण शुक्रबार रातिदेखि अवरुद्ध सडक आइतबार सञ्चालनमा ल्याइएको छ । केरुङखोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनर्निर्माण गरेपछि आज अपराह्नदेखि मानसरोवर कैलाश जाने दर्शनार्थीको आवतजावत खुला गरिएको सीमा सुरक्षा अधिकारीले जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार, रसुवागढीको मितेरीपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङखोलामा आएको बाढीले राजमार्ग कटान गरेको थियो । त्यससँगै रोकिएका सबै यात्रु सडक पुनर्निर्माणपछि मितेरीपुलबाट आउजाउ गर्न थालेका छन् ।

सडक अवरुद्ध हुँदा कैलाशबाट नेपाल फर्कन लागेका करिब ५०० यात्रु केरुङमा र तीर्थ जाँदै गरेका १०० जना रसुवागढीमा रोकिएका थिए । रोकिएका यात्रु अध्यागमनको प्रक्रिया पुर्‍याई गन्तव्यमा जान थालेका प्रजिअ खनालले जानकारी दिए ।

रोकिएका यात्रुलाई गन्तव्यमा जान नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरी यथेष्ट सहयोग गरेको प्रजिअ खनालले बताए । रासस

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्