site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भारतले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत् खरिद गर्ने

काठमाडौं । भारतले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

“अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत् परियोजनाहरूबाट थप २५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृत गरेको छ,” भारतीय दूतावासले भनेको छ ।

भारतीय दूतावासका अनुसार यो स्वीकृतिसँगै नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्ने भएको छ । नयाँ निर्णयसँगै भारतले दिएको कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ वटा परियोजनाबाट) बाट ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) पुगेको छ ।

“यो २५१ मेगावाट स्वीकृत हुनुअगावै नै गत आर्थिक वर्षमा १६.९३ अर्ब रुपैयाँ बराबरको विद्युत् बिक्री गरी नेपाल खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ,” विज्ञप्तिमा भनिएको छ ।

२०७८ जेठमा भारतले पहिलोपटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा बढीले बढेको छ ।

दूतावासले विज्ञप्तिमा भनेको छ, “इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलोपटक ऊर्जा निर्यात सुरु गर्‍यो । त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरेको छ ।”

भारतले भारतका खरिदकर्ताहरूका लागि जलविद्युत् खरिद दायित्व (एचपीओ)को एक हिस्साको रूपमा नेपालबाट हुने जलविद्युत् आयात गणना गर्ने प्रावधान पनि खोलेको छ, जसले खरिदकर्ताहरूलाई नेपालबाट विद्युत् खरिद गर्न प्रोत्साहित गर्ने दूतावासको भनाइ छ ।

नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको यो पहिलो वर्ष हो र झन्डै एक हजार मेगावाट निर्यात भइसकेको छ ।

“यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा छ । बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता टुंगोका लागि मिति २०८१ साउन १३ गते हस्ताक्षर गर्ने योजना थियो तथापि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित भयो,” भारतीय दूतावासले भनेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्