site stats
बाह्रखरी :: Baahrakhari
देश
महानगर अगाडिको भ्वाङबारे पुरातत्त्व भन्छ– नबिगार्नू, सडक विभाग भन्छ– हाम्रो क्षेत्राधिकार हो

काठमाडौं । कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि टुकुचा खोलामाथि रहेको सडकमा परेको भ्वाङको मर्मतमा पुरातत्त्व विभाग र सडक विभागबीच मतभेद देखिएको छ ।

२५ साउनमा टुकुचा खोलामाथिको सडकमा परेको भ्वाङको मर्मत सडक डिभिजन कार्यालय काठमाडौंले गर्दै छ । काठमाडौं सडक डिभिजन कार्यालयले भ्वाङ परेको स्थानमा आधुनिक शैलीको कल्भर्ट बनाउने निर्णय गरेको छ ।

टुकुचाको सुरुङमाथि बनाइएको परम्परागत शैलीको पुलको टेको भत्किँदा सडकमा भ्वाङ परेको डिभिजन कार्यालयको अध्ययनले देखाएको छ । परम्परागत शैलीको पुलको सट्टा आधुनिक शैलीको कल्भर्ट बनाउने तयारी सडक डिभिजन कार्यालय काठमाडौंले गरेको छ ।

कार्यालयका प्रवक्ता महानन्द जोशीले भने, "त्यहाँ आधुनिक शैलीको कल्भर्ट बनाउने निर्णय भएको छ । यो तयार हुन कम्तीमा तीन महिना लाग्छ ।"

टुकुचा खोला राणा प्रधानमन्त्री वीर शमशेरका पालामा भूमिगत बनाइएको थियो । खोला भूमिगत बनाउँदा तयार पारिएको संरचना पुरातत्त्व विभागको क्षेत्राधिकारभित्र पर्छ । कुनै पनि मानव निर्मित संरचना १०० वर्ष पुरानो भएमा त्यो पुरातात्त्विक महत्त्वको मानिन्छ । त्यसैले पुरातत्त्व विभागले भ्वाङ परेका स्थानमा कल्भर्ट बनाउँदा टुकुचालाई भूमिगत बनाइएको पुरानो संरचना नबिगार्न भनेको छ ।

विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्ग भन्छिन्, "हाम्रो प्रारम्भिक अध्ययनअनुसार टुकुचा बग्ने सुरुङको दायाँबायाँ पर्खाल लगाएर त्यतिखेर सडक बनाइएको रहेछ । त्यसैले अब सडक बनाउँदा पनि टुकुचा बग्न बनाइएको त्यो सुरुङलाई नचलाएर सडक बनाउनुपर्छ ।"

यता सडक डिभिजन कार्यालयले भने विभागको भनाइप्रति असहमति जनाएको छ । सडक डिभिजन कार्यालय काठमाडौंका प्रवक्ता भन्छन्, "प्रविधि नयाँ आइसक्यो । सधैँ पुरानो तरिकाले निर्माण गरेर हुँदैन । भवन, घर, मन्दिर भए पो पुरातत्त्वको क्षेत्र हुन्छ । यो त सडक हो, सडक हाम्रो क्षेत्राधिकार हो ।"

पुरातत्त्व विभागले भने सडक विभागको क्षेत्राधिकार सडक भए पनि पुरातात्त्विक महत्त्वको संरचना आफ्नो पनि क्षेत्राधिकार हुने बताएको छ । विभागकी महानिर्देशक प्रधानाङ्गले भनिन्, "सडक उहाँहरूले आफ्नो तरिकाले बनाउन पाउनुहुन्छ । तर, पुरातात्त्विक महत्त्वको त्यो सुरुङ भने चलाउन पाउनुहुन्न भनेको हो, हामीले । त्यो जगको सुरुङको संरचना चलाउन पाउनुहुन्न ।"

सडक डिभिजन कार्यालय काठमाडौंले यस विषयमा पुरातत्त्व विभागलाई जानकारी गराएको छैन । "सडक हामीले बनाउने हो, हामी हाम्रो तरिकाले बनाउँछौँ,’ सडक डिभिजन कार्यालय काठमाडौंका प्रवक्ता जोशीले भने ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्